चिसो र त्यो शनिबार

पुष ०२, २०७६  |  ३८१ पटक पढिएको

यो लेख्दा म पुनः जंगलकुटी पुगी घर फर्के हजुरहरु पनि पढेपछि पुग्नुहुनेछ भन्ने आशा लिएको छु ।

गएको विहीबारदेखि नै हल्का बादल देखिएको थियो । मंसिरको महिना चिसो पनि त्यसै बढेको थियो । एक हप्ता अगाडीदेखिको योजना थियो शनिबार मंसिर २८ गते पिकनिक जाने भनेर । विद्यार्थी जीवनमा नै हो टुर, पिकनिक जस्ता कार्यक्रमहरुको योजना हुने र बन्ने पनि । पिकनिक जाने बिजौरीमा रहेको जनता संस्कृत मा.वि. कृषि कार्यक्रमका डिप्लोमा इन एजी प्रथम, दोस्रो र जेटिएका सम्पूर्ण विद्यार्थीहरु रहेको थिए साथमा केही शिक्षक/शिक्षिकाहरु पनि ।
पिकनिक जाने भन्दा अघिको दिन शुक्रबार ठूलो हावाहुरीका साथसाथै पानी परेर असाध्यै चिसो थियो, शुक्रबार रातीसम्म पनि पानी र हावा चलिरहेकोले सबैको मन छट्पटाइरहेको थियो भोली के होला कस्तो हो भनेर । यस्तो चिसोमा कसरी पिकनिक जाने भन्ने सबैलाई चिन्ता लगेको थियो र सबैले आ–आफ्नो तर्फबाट भोलीको दिन घाम लागोस् भनी प्रार्थना गरिरहेका थिए र भोलीको दिन पनि भने जस्तै घाम लागिदियो तर हाम्रो सल्लाह भएको थियो कि जे जस्तो भए पनि भोलि पिकनिक जाने भन्ने । शनिबार विहान उठ्दा सफा मौसम देखियो र मन हर्षित भयो मेरो । सायद ६ः३० बजेतिर म बिजौरी पुगेँ र केही विद्यार्थी, शिक्षकसाथीसँग भेट भयो, गाडी पनि स्कुलको गेटमा रोकिएको थियो, हामी सबै शिक्षक विद्यार्थीहरु जम्मा भएर पिकनिकको लागि आवश्यक सामानहरु गाडीमा राख्यौ, २/४ जनाले ढिलो गर्दा उनीहरुलाई पर्खदा सम्म करिब ८ बजिसकेको थियो । गाडी हिड्दा नयाँ जोस्, उत्साह र खुसी मन बोकेर हामी देउखुरीको जंगलकुटी पुग्ने भनी हिड्यौं । शिक्षक विद्यार्थी गरेर जम्मा ४०/४१ जना थियौं, सबै रमाइलो गर्ने उमेरका भएकोले रमाइलो कति भयो भन्ने बयान समेत गर्न सक्दैन । रमाइलो गर्न थालेपछि जाडो, भोक, प्यास सबै हराउँदो रहेछ भन्ने महसुस पनि भयो म लगायत सबैलाई । घोराही पुग्दासम्म सबै नाच्नमै व्यस्त रहेकोले नौलो केही पनि लागेन त्यसपछि जब उकालो लाग्यौं लमहीको त्यो घुम्ती, थोरै खुलेको झ्यालबाट आउने त्यो चिसो हावा, झ्यालबाट देखिने हरियो जंगल, सुन्दर देखिने लेकले मन र मस्तिष्कलाई बेग्लै किसिमको आनन्द दिएको थियो अझ भन्नुपर्दा बसमा ‘साली मन पर्याे’ गीतको तालमा नाचिरहेको त्यो दृश्यले सबैलाई मनोरञ्जन दिईरहेको थियो । ट्रोल, कमेडी गर्नेहरुको पनि कमी थिएन जसले अझ उत्साह दिन्थ्यो । लमही पुग्ने बित्तिकै लमही घर भएकी एउटीको आवाज आयो ‘अपुनका ईलाका है कोई हिल्ना मत’ यो वाक्यले सबैलाई हसायो ।


अघिको दिन पानी परेकोले लमहीदेखि भित्रको कुनै कुनै ठाउँका बाटोहरु हिलाम्मे थिए, वर्षायाम झै बाटोमा पानी जमेको थियो । शान्त, स्वच्छ, सुन्दर देखिने दाङ देउखुरी उपत्यका, अझ भन्नुपर्दा निलो आकाशले ढपक्कै ढाकिएको उपत्यकालाई हाम्रो आँखाले भ्याउँदासम्म हेर्न मिल्ने सुन्दर हाम्रो दाङ साँच्चै भन्नुपर्दा स्वर्ग जस्तै । देउखुरीका बाटोको छेउछाउमा देखिने जति पनि खेतीयोग्य जमिन थिए ती सबैमा तरकारी खेती गरेको देखियो । देउखुरीको राप्ती पुल, गढवाको बजार रामपुर, गोवरडिहा हुँदै जाँदा त्यहाँका घरका छानाभरी लट्टरम्म फलेका फर्सी जसले गाउँघरको शोभा बढाएको थियो । मौसम सफा रहेकोले टाढा टाढाका दृश्यहरु पनि हेर्न सफल भयौं । बसमा केही खानेकुराहरु पहिले नै राखेकोले बिच बाटोमा पुग्दा खाएकोले भोकले पेट कराएन । मनोरञ्जनको दौरानमा हिडेका हामी जंगलकुटी पुगेको पनि पत्तै भएन त्यहाँ पुग्दा करिब ११ः३० बजिसकेको थियो ।

गाडीबाट ओर्लदै गर्दा त्यस ठाउँको बारेमा सबैलाई जान्न मन लाग्यो र पहिले खाना बनाएर यस स्थानको बारेमा सोधखोज गर्ने हाम्रो सल्लाह भयो । सबैले आ–आफ्नो तर्फबाट हाम्रो पिकनिकलाई विशेष बनाउन तर्फ लग्यौं । आफ्नो सिपअनुसारको खानाका परिकार बनाउने टोली विभाजित भयो र कोहीले तस्बीरहरु कलेक्सन गर्ने गरे, कोहीले नाचगान गरी सबैलाई मनोरञ्जन दिइरहेका थिए । मौसम चिसो भएकाले मिठो जिब्रो रम्म बनाउने चिया पनि खाइयो । त्यहाँ पकाएको खाना हामीले खानुभन्दा पहिले चोखो खाना कुटीमा चढाउनु पर्ने रहेछ त्यो कार्य सम्पन्न गरिसकेपछि हामीहरु खाना खाँदा करिब २ बजिसकेको थियो । हामी खाना खाइसकेपछि केही समय नाचेर रमाइले गर्दा शिक्षक, विद्यार्थी सबै एकसाथ नाच्दा छुट्टै किसिमको रंग भरिएको थियो किनकी त्यहाँ गएका प्रायःले पहेँलो कपडा लगाएका थिए । भव्य नाचपछि हामी सबै त्यहाँ रहेके कुटीको बारेमा बुझ्न हिड्यौं । त्यहाँ बस्ने २÷४ जना मात्र रहेछन् र त्यहाँका पुजारी बाहिर गएको जानकारी पाइयो । त्यहाँ बस्नेहरुसँग त्यस कुटीको बारेमा बुझ्दा स्र्वद्वारीका बाबा आएर यस कुटीमा तपस्या गरेको पुरानो घरलाई संरक्षण गरेर राखेको र विभिन्न जंगली जनावरहरुको छालाहरु साथै केही बाबाहरुको फोटो समेत पनि राखिएको छ । थारु समुदायले प्रयोग गर्ने लोप हुनै लागेका केही सामग्रीहरु पनि राखिएको छ । केही संख्यामा चिहानहरु पनि रहेका छन् । उक्त ठाउँमा बास बस्ने व्यवस्था पनि रहेको छ । प्रचार प्रसारको कमीले गर्दा त्यस ठाउँ पर्यटकीय क्षेत्र बन्न सकेको छैन, कतिपयलाई यस ठाउँको बारेमा थाहा नै छैन भन्ने कुरा सुनाउनु भयो ।

चारैतिर घुमीसकेपछि केही ग्रुपमा तस्बीरहरु लिएर करिब ३ः३० बजे हामी घरतिर फर्क्यौं । गाडी चढ्ने बित्तिकै डेग बजाएर कोही नाच्न लागे, कोही हुटिङ गरे, रमाइलोको सीमा नै रहेन । सबैले आ–आफ्नो मोबाइलमा फोटो खिचेकोले आफ्ना फोटोहरु कलेक्सन गर्नमा व्यस्त देखिन्थे । त्यो देखेर मलाई लाग्थ्यो भोली सबैका फेसबुकको वाल रंगिन हुने भयो । आउँदा राप्ती पुलमा पनि सबैलाई फोटो खिच्न मन लागेकोले त्यहाँ गाडी रोकेर आधा घण्टा जति फोटो लियौं र फर्क्यौं । बसको रफ्तारसँगै नाच्नेको कुनै कमी थिएन, त्यो समयमा न त कोही नाचेर नै थाके न त हुटिङ गर्नेहरुको घाँटी नै बस्यो । आउँदा लमहीको घुम्तीमा कतिपयको जिउ अचारले धानेको थियो भने कतिपयको जिउ रसिलो चक्लेटले धानेको थियो र त पोलिथिनको पनि आवश्यक परेन । यस्तै यस्तै अविस्मरणीय पल, रमाइलो क्षणलाई संगाल्दै गर्दा घोराही पुगेको थाहा नै भएन । विशेष रुपमा रमाइलो गर्नेहरुमा सबैको नाम त याद भएन तर अस्मी, संगिता, गायत्री, पुष्पा, बिमला, अभिषेक, सुरज, मनिषा यतिनै याद आयो । एउटीको चस्मा व्यागमा नभेटिदा एकछिन उनको मनमा भूकम्प गएको थियो पछि एउटीले फिर्ता दिएपछि फेरी हाँसोको आइरो लाग्यो । त्यसपछि एक पटक सबैको सीटसम्म नजर लगाए सबै आ–आफ्नो तालमा रमाइरहेको देखे । दुधरासबाट विद्यार्थीहरुलाई गुड नाइट भन्दै र बिच्च बिच्चमा बस रोक्दै बिजौरीसम्म पुग्दा करिब साँझको ८ बजिसकेको थियो र हाम्रो यात्रा सफल अनि अविस्मरणीय बन्यो ।

प्रायःले स्पेशल सटर्डे, शनिबारको घुमघाम, फुर्सदको समयमा भनेर सामाजिक सञ्जालहरुमा लेखेका हुन्छन् तर मैले के भनूँ, कुन शनिबार भनूँ, कसरी बयान गरुँ त्यो शनिबारको ? चिसो मौसमको समयमा पनि स्पेशल शनिबारभन्दा पनि धेरै स्पेशल थियो, विशेष भन्दा पनि धेरै विशेष थियो, त्यो समयमा कलेक्सन गरेका सामग्रीहरु, दृश्यहरुलाई के नाम दिएर फाइल तयार गरुँ अझै सोच्न सकेको छैन । साँच्चिकै यस्ता खालका अनेकौं क्षण, पलहरु यादगार बनेर हाम्रो कुण्ठित सोचलाई सकारात्मक परिर्वतन गर्न उर्जा दिंदोरहेछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार