रोल मोडल कल्पना

मंसिर १२, २०७६  |  ४२३ पटक पढिएको  |   साक्षी खबर

– सुनिलकुमार पोख्रेल
१२ मंसिर, बिजौरी / कलाक्षेत्रकी उज्ज्वल नक्षत्र कल्पना बहुमुखी प्रतिभाकी धनी एक सशक्त उदाहरणीय व्यक्तित्वको रुपमा चिनिन्छिन् । बुवा भूषण आचार्य र आमा तारा आचार्यको कोखबाट २०३७ सालमा रोल्पाको लिवाङमा जन्मिएकी कल्पना सानैदेखि विलक्षण प्रतिभाकी धनी थिइन्, विशेषगरी नृत्य, अभिनयमा रुचि राख्ने कल्पना एक सशक्त ब्युटिसियन पनि हुन् । उनले अभिनय सँगै नेपाली कथानक चलचित्र ‘एकता’ निर्माण गरेर महिलाले पनि चलचित्र बनाउन सक्छन् भनेर उदाहरण प्रस्तुत गरेर देखाइन् । जबकी तत्कालिन समयमा राष्ट्रिय स्तरका कलाकारहरुलाई चिन्न देख्नका लागि सिनेमा घरमा गएर काँचको पर्दामा मात्र सम्भव थियो । यस्तो परिस्थितिमा उनले राष्ट्रिय स्तरका चलेका चर्चित हिरो हिरोईन अनि खलपात्रहरुलाई दङ्गाली भूमिमा ल्याएर अभिनय मार्फत दाङ्गलाई चिनाउने प्रयास गरिन्, उनको यो प्रयाससँगै दाङ्ग जिल्ला अन्य फिल्महरुका लागि पनि सुटिङ्ग स्थल बन्न पुग्यो । उनले निर्माण गरेको दाङ्ग लगायत अन्य स्थानमा सुटिङ्ग गरिएको चलचित्र ‘एकता’मा तत्कालिन अवस्थामा लगभग २० लाख जति लगानी भएको थियो ।

अदम्य आँट अनि चुनौतिका पहाडहरु छिचोल्न सक्ने क्षमता भएकी कल्पनाले रोल्पामा जन्मिएता पनि रोल्पासँगै जोडिएको दाङ्ग जिल्लालाई कर्मभूमि बनाएर संगित एवं सौन्दर्य अनि कलाक्षेत्रमा ठुलै योगदान पुर्याएकी छिन् । जीवनमा आइपरेका अनेकौं आरोह अवरोहका बावजुत पनि कलाकारिताको निरन्तरता सँगै उनी एक्लैले आफ्ना दुई सन्तान छोरा डेविड र छोरी याङ्गसुलाई काठमाँडौमा पढाइ रहेकी छिन् । उनका छोरा डेविड अहिले सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक तहको अन्तिम वर्षमा पढ्दै गरेको र छोरी याङ्गसु पनि काठमाडौंमै कक्षा ६ मै पढ्दै गरेको बताइन् ।

शान्त, शितल स्वभाव अनि प्रष्टवादी कल्पनाले भनिन् – ‘म कला क्षेत्रमा मात्र नभएर नमुना आमा बनेर पनि उदाहरण बन्न चाहन्छु ताकी घरमै चुलोचौकोमा सीमित आमाहरुले पनि मेरो यो कार्यशैलीबाट केही सिक्ने अवसर प्राप्त गरुन् ।’ उनले भाग्य आफ्नो–आफ्नो, एक रथका दुई पांग्रा, समय एक कथा अनि चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैमा पनि अभिनय गर्नुका साथै उनले थुप्रै सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेकी छिन् ।

सन् २०१५ मा सचित्रा सेन अन्तर्राष्ट्रिय अवार्ड, सन २०१८ मा मिसेज नेपालको ताज, २०७२ सालमा उत्सर्ग चलचित्र पुरस्कार लगायत दर्जनौ पुरस्कार तथा सम्मानहरुबाट सम्मानित कल्पनाले राष्ट्रिय स्तरमा हुने प्रेजेन्टहरुमा पनि निर्णायकको भूमिका प्रदर्शन गरिसकेकी छिन् । बहुमुखी प्रतिभाकी धनी कल्पनाले आफुसँगै छोरीलाई पनि पढाई तथा कला क्षेत्रमा अब्वल एवं नमुना बनाउन चाहन्छिन् । जसअनुसार छोरी याङ्गसु आमालाई पछ्याउदै आफ्नो पढाइसँगै अभिनय, नृत्य अनि पढाई यी तिनै चिजमा अब्बल छिन् । उनले आमाको हौसला अनि प्रेरणाको कारण सानै उमेरमा सिङ्गापुरमा भएको इन्टरनेशनल किड्स अफ द इयर्रमा फस्ट रनर अफ, ‘नाई नभन्नु ३’ फिल्ममा अभिनयसँगै थुप्रै गितमा मोडेल भएर आफ्नो प्रतिभा प्रस्फुटन गरिसकेकी छिन् ।

कल्पना कसैको आश गर्नु भन्दा आफैले गरेर देखाउनुपर्छ भन्ने धारणा राख्ने एउटी एकल महिला कलाकार, ब्युटिसियन तथा पेजेन्ट हुन् । उनको यो प्रयास अनि संघर्षलाई नेपाली आमाहरुले रोल मोडल आमाको रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार