‘परियोजनाले प्रदेश जितेका बालापुरका विद्यार्थी’

कार्तिक २९, २०७६  |  १२१ पटक पढिएको  |   साक्षी खबर

२९ कार्तिक, तुलसीपुर / माध्यमिक विद्यालय बालापुरका विद्यार्थीहरु कक्षा समय भन्दा पछाडी केही न केही सृजनशिल काम गरिरहेका हुन्छन् । मान्छेको जीवनसँग जोडिएका साना साना कुराहरुलाई उनीहरुले अध्ययन गरिरहेका हुन्छन् । किताब र स्कुलको घेराबाट फुत्त बाहिर निस्किएर उनीहरुलाई समाजसँग जोडिन मन लाग्छ । ‘समाज नबुझेर कहाँ जीन्दगीमा अगाडि बढ्न सकिन्छ’– विद्यार्थी हेमन्त वलीले भने ।

बालापुर गाउँमा पानीको अभावका कारण भनेजति उब्जनी हुँदैन । आकाशबाट पानी वर्षेन भने खेतका गह्रा पट्पटी फुटेका हुन्छन् । उनीहरुले विकल्प निकाले उब्जनी नहुने ठाउँमा बाँस खेति गर्ने । अरुभन्दा सानो ठाउँ भए पनि हुने र वढि अक्सिजन पनि दिने भएकाले उनीहरुले बाँस नै रोजेका थिए । ‘बाँसबाट पुलदेखि घरसम्म पनि वनाउन सकिन्छ, यसबाट वनाउन नसकिने भाडा केही पनि छैनन्’ विद्यार्थी वलीले भने । उनीहरुले बाँस लगाउने सीपदेखि त्यसलाई ताछ्ने र विभिन्न कुराहरु वनाउने सम्मका सीपहरु सिके । उनीहरुले विद्यालय समय वाहेक गर्ने काम भनेकै त्यही परियोजना पुरा गर्नु थियो । विद्यालयमा अध्यापन गराउने सन्तोष लम्साल र सितल थापाको सहयोगमा उनीहरुले त्यो परियोजना पुरा समेत गरे ।

विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीहरुलाई सृजनशिल बनाउनका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग मिलेर कारखाना भन्ने संस्थाले विभिन्न ठाउँमा सृजनशिल विद्यार्थीका परियोजनाको प्रदर्शनी गर्दछ । प्रदेश नम्वर ५ स्तरमा भएको प्रदर्शनीमा विद्यार्थीहरुले बाँसको परियोजना लैजाने निधो गरे । उनीहरुले ४० वटा सामुदायिक र संस्थागत विद्यालयसँगको प्रतिष्पर्धामा समुदायमा सकारात्मक प्रभाव पार्ने विद्यामा पुरस्कार अवार्ड समेत पाए । ‘सहभागी विद्यालयमा ११ वटा सामुदायिक विद्यालयले मात्रै सहभागिता जनाएका थिए’ सहभागी शिक्षक सन्तोष लम्सालले बताए । उनले ११ सामुदायिक विद्यालयमा दाङ्गबाट टिच फर नेपालका प्रज्ञार्थीहरुले अध्यापन गराउने ९ वटा विद्यालय सहभागी भएको समेत बताए ।

बाँसको परियोजनाबाट अवार्ड पाएपछि अहिले सहभागी विद्यार्थीहरु हेमन्त वली, दिला केसी र प्रकाश वुढाथोकी निकै खुसी छन् । उनीहरुलाई थप नयाँ काम गर्ने हौसला बढेको छ । प्रदर्शनीमा उनीहरुले बाँस रोप्ने र सिन्का वनाउने मेसिनको नमुनासँगै बाँसबाट वनेका पुल, घर, चम्चा, ब्रस राख्ने भाडो लगायतका विभिन्न सामग्री वनाएको शिक्षिका सितल थापाले जानकारी दिइन् ।

समाजमा प्लाष्टिका भाडाको प्रयोग कम गर्नका लागि पनि यो परियोजनाको निर्माण गरिएको पनि थापाले बताइन् । उनले यही परियोजनालाई कारखानाले राष्ट्रियस्तरमा आयोजना गर्ने कार्यक्रममा पनि लैजाने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार