मघैका महिलाहरुद्वारा १५ बिगाह क्षेत्रफलमा लसुन र प्याज खेती


– बिमल योगी
४ चैत्र, दाङ / दाङको घोराही उप महानगरपालिका वडा नम्वर १६ मघैका महिलाहरुले सामुहिक लसुन तथा प्याज खेती थालेका छन । घोराही उपमहानगरपालिकाको वडा नम्वर १६,१७ र ६ का बिभिन्न स्थानमा १५ बिगाह जग्गा भाडामा लिई लसुन तथा प्याज खेती गरिएको हो । स्थानीय स्तरमा हुने लसुन तथा प्याजको मागलाई ध्यानमा राखी यति ठुलो मात्रामा लसुन तथा प्याज खेती गरिएको कोपिला कृषक समुह मघैका अध्यक्ष कैलाशी चौधरीले बताउनुभयो ।

समुहको ९ लाख ९७ हजार ९९ सय रुपैया र साना तथा मझौला कृषक आयस्तरबृद्धि परियोजना (रिझम)को ११ लाख ५५ हजार पाँच सय ६० रुपैया गरी जम्मा २१ लख ५२ हजार सात सय ४९ रुपैयाको लागतमा लसुन तथा प्याज खेती गरिएको हो । टोलका २२ जना महिलाहरु आवद्ध रहेको समुहले लसुन तथा प्याज खेतीलाई व्यावसायीकरण गर्न २ वटा टेक्टर, १ वटा पम्पसेट, डिजिटल काटा १ वटा, १० वटा स्प्रे ट्याङ्की लगायतका सामाग्री समेत खरिद गरेका छन् । यसअघि गरिएको च्याउ खेतीबाट राम्रो आम्दानी भएपछि लसुन खेतीमा लागेको समुहका कोषाध्यक्ष जानकी चौधरीले बताउनुभयो । एक्ला एक्लै काम गर्दा व्यावसाियक रुपमा जान समस्या हुने, रकम तथा समय समेत बढि खर्च हुने भएकाले सामुहिक रुपमा यो व्यावसायमा लागेको उहाँको भनाई छ । समुहमा लागेपछि आफ्नो दैनिकी चलाउन समेत निकै सजिलो भएको उपाध्यक्ष आशा चौधरीले बताउनुभयो ।
बिगतका दिनमा दुईचार सय चाहिएपनि साहुमहाजनका हात थाप्नुपर्ने बाध्यता थियो तर अहिले समुहमा जम्मा गरिएको पैसाले घरव्यवहार चलाउन निकै सजिलो भएको उहाँको भनाई छ । समुहमा लागेर च्याउ,लसुन तथा प्याज खेती मात्र नभएर सामुहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामुहिक रुपमा गर्दै आएको उनिहरुले बताएका छन । जसबाट आएको रकम समुहमा जम्मा गर्ने र आवश्यक परेको सयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्दै आएको समुहका कोषाध्यक्ष जानकी चौधरीले बताउनुभयो । यसैविच कोपिला कृषक समुहको आयोजना तथा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहयोमा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष कैलाशी चौधरीको अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नम्वर १६ का कार्यवाहक अध्यक्ष जगत प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै रिझमका कार्यक्रम संयोजक हरिप्रसाद शर्माले आयोजनाले हाल च्याउ,लसुन,मसुरो,माछा लगायतका क्षेत्रमा ३३ करोडको लगानी गरेको र धेरै उप आयोजना सम्पन्न हुने चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार आयोजनाले समुहलाई ८० देखी ९० प्रतिशत सम्म,सहकारीलाई अधिकतम ६५ प्रतिशत र व्यक्क्तीलाई ५० देखी ६५ प्रतिशत सम्म अनुदान दिने गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा समुहका सचिव सिता चौधरीले लसुन तथा प्याज खेती योजनामा हाल सम्म भएको आम्दानी र खर्च बिवरण प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सहसचिव सुविता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सदस्य निशा पछल्डङ्ग्याले गर्नुभएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस