‘कात्तिक २० गते नेकपा अध्यक्ष प्रचण्ड दाङ आउने’

कार्तिक १७, २०७६  |  २०१ पटक पढिएको  |   साक्षी खबर

१७ कात्तिक, दाङ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” कार्तिक २० गते दाङ आउने भएका छन् । नेकपा दाङले तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आउने नेकपा दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिए ।

प्रचण्डसँगै पार्टी महासचिव विष्णु पौडेल पनि आउने उनले जानकारी दिए । नेकपाले पार्टी एकता पछि अध्यक्षको सहभागीतामा पहिलो पटक दाङमा बृहत् कार्यकर्ता प्रशिक्षण आयोजना गर्दैछ । प्रशिक्षण पार्टी एकता, पार्टीको नीति विचार, आसन्न उपनिर्वाचन लगायतका विषयमा केन्द्रित हुने गौतमले जानकारी दिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि यही कात्तिक २० गते राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउँदै छन् । आगामी मंसीर १४ गते हुने निर्वाचनका लागि राप्रपा दाङले कात्तिक २० गते तुलसीपुरमा चुनावी घोषणा कार्यक्रम राखेको छ । घोषणा सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष थापा दाङ आउन लागेको राप्रपा जिल्ला उपाध्यक्ष भुपाल रावतले जानकारी दिएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष थापा, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, राप्रपा केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्रपा ५ नं. प्रदेशका अध्यक्ष एवं युवानेता प्रदिपकुमार उदयलगायतका नेताहरु दाङ आउन लागेको जानकारी राप्रपा केन्द्रीय सदस्य ऋषिराज देवकोटाले दिएका छन् ।

दाङ जिल्ला क्षेत्र नं. ३ ख मा प्रदेश सभा र घोराही उपमहानगर पालिका वडा नं. १६मा वडाअध्यक्षको लागि निर्वाचन हुँदैछ । राप्रपाले प्रदेशसभा सदस्यको लागि भुपाल रावतलाई र घोराही उपमहानगरपालिका वडा नं. १६ को वडाअध्यक्षको लागि प्रकाश केसीलाई उम्मेदवारिको लागि प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा सिफारिस गरि पठाएको जानकारी विल्ला सदस्य वंशिकुमार शर्माले दिएका छन् ।

चुनावी घोषणा सभामा देशको समसामायिक विषयमा राप्रपा पार्टीका अध्यक्ष तथा वरिष्ठ नेताहरुका विचार सुन्नको लागि पार्टीका नेता तथा कार्यकर्ता र दङ्गाली जनताहरुलाई उपस्थितिको लागि राप्रपा जिल्ला कार्यसमिति दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार