२०७९ माघ २६, बिहीबार

चामल बोकेर विद्यार्थीहरु राउटे बस्तीमा

चैत्र ०३, २०७५  | १५७६ पटक पढिएको

३ चैत्र, तुलसीपुर / तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको अभावमा भौकै रहन बाध्य राउटे समुदायलाई सहयोग गर्नका लागि उनीहरु दाङदेखि चामल बोकेर सुर्खेतको विकट गाउँसम्म पुगेका हुन् ।

विद्यार्थीहरुले लगेको चामल टेम्पोबाट झार्ने बित्तिकै राउटेहरुले आफ्नै लागि चामल ल्याएको भन्ने वुझिहाले । मध्यान्हको समयमा टेन्ट मुनि वसिरहेका उनीहरुले घेरा हाले । चामलको अभावमा धेरै दिन देखि आधा पेट खान वाध्य उनीहरुले चामल लिएर आएका विद्यार्थीहरुलाई मिठो मुस्कान सहित स्वागत पनि गरे । साना बालबालिकाहरुले आफ्नै भाषामा हात जोडिरहेका थिए । “केही नपाएर भोकै बसेका थियौ, बल्ल खान पाइने भो” राउटे सुर्यनारायण शाहीले खुसी व्यक्त गरे । उनले दुइ दिन अगाडी मात्रै वस्ती सारेकाले खानको अभाव भएको वताए । “तपाईहरुले चामल ल्याएर हामीलाई वालवच्चा खुसी हुने भए” उनले भने ।

तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले उनीहरुलाई सहयोग बोकेर उनीहरुकै ठाउँमा गएका थिए । “राउँटेहरुले खान नपाएको समाचार थाहा पाएर सहयोग ल्याएका हौँ” विद्यार्थी साया महर्जनले बताइन् । उनले राउँटेहरुको जीवनशैलीका बारेमा पनि थाहा पाउनका लागि त्यहाँ पुगेको जानकारी दिइन् । विद्यार्थीहरु लेकवेसी नगरपालिका वडा नम्वर १ जहरे सुर्खेतमा राउँटेहरु बसकै ठाउँमा पुगेर सहयोग गरेका हुन् । उनीहरुले पैसा उठाएर सामुहिक रुपमा १० क्विन्टल चामल सहयोग गरेको विद्यार्थी प्रवेश बस्नेतले बताए । “समाजप्रतिको हाम्रो दायित्व पुरा गर्नका लागि हामीले सहयोग गरेका छौ” बस्नेतले भने । खान नपाएकाहरुलाई केही भएपनि राहत दिन पाउँदा हर्षको महसुस भएको वन्दना वलीले बताइन् ।

समाजशास्त्र विषय अन्तर्गत कलेजले विद्यार्थीहरुलाई हरेक सेमेस्टरमा सामाजिक कामहरुमा अग्रसर गराउने कलेजका मानविकी संकाय संयोजक शरद गौतमले वताए । कितावका कुरा मात्रै भन्दा पनि विद्यार्थीहरुलाई फिल्ड मै गएर अध्ययन गराउनका लागि कलेजले नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताए । “विद्यार्थीहरुले कितावमा पढेर मात्रै समाजका वारेमा बुझ्न सक्दैनन त्यसका लागि ठाउँमै पनि पुग्नुपर्दछ” गौतमले भने ।

राउँटे बस्तिमा पुगेर विद्यार्थीहरुले सामाजिक सचेतना कार्यक्रम समेत गरेका थिए । उनीहरुले कसरी सफा रहने र शिक्षाको महत्व के छ भन्ने वारेमा जानकारी समेत दिएका थिए । शिक्षक बसन्त आचार्यले राउँटेको साँंस्कृतिक पक्षका बारेमा चर्चा गरेका थिए । “राउँटे फरक सँस्कृति बोकेको समुदाय हो यसलाई आवश्यक सुधार गरेर जोगाइ राख्नुपर्दछ” आचार्यले भने । राउटेहरुले विद्यार्थीहरुलाई सहयोगप्रति धन्यवाद दिएका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस