लन्डन भ्रमण: द्वितीयोच्छ्वास

कार्तिक ०२, २०७६  |  १५० पटक पढिएको  |   साक्षी खबर

लन्डन भ्रमणमा अधिकतर मेरो बसाइँ सेन्ट्रल जोनमा रहेको थियो । विम्बेन्डल पार्क नजिकै सुलिभान दम्पतीको घर नै मेरो आश्रयस्थल थियो । लन्डनमा जाडोमा अत्यधिक हिउँ पर्ने रहेछ । छानाबाट हिउँ छिटै बगाउनका लागि सबैले दुईतीन पाखे घर बनाउने रहेछन् । सहरी व्यवस्थापनलाई असाध्य ख्याल गरेर भवनका संरचना बनाइँदो रहेछ । ‘मेरा जग्गा मेरो मर्जी’ नेपाली पारा हो तर त्यहाँ राज्यको नियम बलवती रहेछ । बिल्डर्स कम्पनीले सरकारलाई भवनका सङ्ख्या, मोडेल र लागतसहितको प्रस्ताव पेस गर्दो रहेछ । त्यस आधारमा कुनै क्षेत्रमा एकैनासे संरचना तयार पारी व्यक्तिलाई बिक्री गर्दो रहेछ ।

बाहिर र भित्रका आकारप्रकार सबैका समान भएपछि को धनी को गरिबको विभेद पनि स्वतः मेटिँदो रहेछ । त्यहाँका हरेक घरका प्रवेश गेट हामी नेपालीका जस्ता ठूला नभई साना हुँदा रहेछन् । गाडीका लागि ग्यारेजका आवश्यकता नै नपर्ने रहेछ । गाडी खुल्ला आँगन वा बाटामा नै राखिने रहेछ । सबै घरका पछाडिको भागमा साना बगैँचा वा खुल्ला भाग राख्नै पर्ने गजबको नियम रहेछ । त्यो बगैँचामा केटाकेटी खेल्ने, र टहल्ने रहेछन् । घरका मूल ढोका पनि सबैका एउटै हुने र भित्ताहरूमा चिसो नछिर्ने हिसाबले काठ लगाइएको तर बाहिरबाट हेर्दा सिमेन्टेड जस्तो आभास हुने रहेछ ।

सिमेन्टको प्रयोग स्वास्थ्य र वातावरण मैत्री नहुने हुँदा त्यसलाई दुरुत्साहित गरेको मैले पाएँ । नेपालमा भवन आचारसंहिता छ तर लागू पटक्कै हुँदैन । प्रयोग गरिने सामानको गुणस्तर टिठलाग्दो छ । कामदारहरूमा अनुशासन छँदै छैन । त्यहाँका कुनै पनि संरचनामा ख्यालठट्टा गरिएको पाइएन । हजार/पन्ध्र सय वर्ष पुराना घरका इँटाहरू बज्रजस्ता कठोर छन् । कुनै इँटा सडे गलेका छैनन् । झ्याल ढोकाका फ्रेमहरू बलिया प्लास्टिकका हुने रहेछन् । मूल ढोकाबाट भित्र प्रवेश गरेसँगै सम्पूर्ण भाग सुन्दर कार्पेटले छोपिएको हुनुपर्ने रहेछ । ढोकाबाट प्रवेश गर्दासाथ भर्याङ पनि देखिइहाल्छ । कोठाका भित्ताभित्तामा काठका सुन्दर दराजहरू फिट गरिएका हुन्छन् र बडेमानका ऐनाहरू राखिएका हुनेरहेछन् ।

हाम्रा सुलिभान दम्पतीको घर चिटिक्कको थियो । घाम लाग्ने ठाउँमा भान्सा घर, बीचमा शौचालय र प्रवेश गर्दाबित्तिकै कोठा भुइँ तलामा । माथिल्लो तलामा तीनवटा कोठा । त्यहाँ पनि शौचालय । शौचालयको ढोका खोल्दासाथ बत्ती बल्ने र एकप्रकारको मद्धिम आवाज आउने । बाथ टबमा नुहाउने त्यहाँको सामान्य सुविधा । धाराबाट तातोचिसो सबै खाले पानी झर्ने । प्रत्येक प्रयोगमा शौच प्यानलाई फ्लस गर्नैपर्ने । पानीको कति छेलोखेलो रहेछ । शौचालयको पानी पनि घटघटी पिउन सकिने । शौचालयभित्रको वार्डरोबमा असङ्ख्य ठूला र मिनी टबेलहरू राखिएको हुनुपर्ने । एउटा कुरा भने हामी नेपालीलाई अल्लि असहज लाग्ने रहेछ । त्यहाँका मानिस दिशा धुँदैनन् र त्यस्तो व्यवस्था छैन भन्दा पनि हुन्छ । ट्वाइलेट पेपरले दिशा पुछाइ गर्ने भएकाले हामी नेपालीलाई अल्लि अपाच्य लाग्ने रहेछ । कसैले त भनेको थियो– ‘युरोपियनहरूले रूपियाँले दिशा पुछ्छन्’ । यो विश्वास लागेको थिएन । प्रकारान्तरले सही रहेछ । किनभने हरेकका घरमा टिस्यु पेपरका बन्डल राखिएका हुने रहेछन् । ती बजारबाट किनेर ल्याइन्छन् । सम्पूर्ण सेवा र सुविधा सरकारले व्यवस्थापन गरेको हुँदा वल्लो घर र पल्लो घरका बीचमा कुनै सम्पर्क नहुने रहेछ ।

हाम्रो नेपालमा खाना खाइस् ? वा चिया खायौं ? जस्ता प्रश्न त्यहाँ बेकारका गन्थन लाग्ने रहेछन् । बाटामा मान्छे हिँडेको नै देखिँदैन । मान्छे जति कि कारमा छन् कि बसमा छन् कि रेलमा छन् । हरेकका घर अगाडि पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहर राख्नका लागि ठूला प्लास्टिकका सुन्दर बिन राखिएका छन् । सम्बन्धित निकाय आफै आएर घरको फोहर उठाएर लगिदिने रहेछ । हाम्रा प्रधानमन्त्रीले भनेझैँ ग्यास पाइपबाट फिटिङ भएर चुलो बल्दो रहेछ । ग्यास चुलोमा एकैपटक चार आइटम पकाउन सकिने रहेछ । तर बेलायतीहरूले चुलो कम प्रयोग गर्दा रहेछन् ।

चुलोको उपयोग त दालभात तरकारी पकाउनलाई पो हो त । त्यहाँ त सात बाक्सी खाने चलन छ । बजारबाट हप्ता दिनका लागि खाद्यवस्तु ल्याई फ्रिजमा राख्ने र आवश्यकता अनुसार ओभनमा तताउँदै खाइने रहेछ । खानेकुरा पनि के हुन् के हुन् । हामी नेपालीलाई कत्ति सन्तुष्टि नहुने । यसो भन्दै गर्दा ती बेकामे होइनन् बरू सन्तुलित र पोषणयुक्त छन् । सुलिभान दम्पतीले सधैँ बिहान ब्रेड, जाम, बटर, पोरिज, ओखरका घाँजी, देशी काजु र विभिन्न थरीका फलफूल खाने रहेछन् । साँझमा के खान्थे देख्न पाइएन किनकि हरेक साँझ मलाई कुनै न कुनै विदेशीले थाई, भारतीय र बङ्गाली रेस्टुरेन्टमा लिएर खुवाउँथे । ८० वर्षका सुलिभान आफ्ना घरको काम आफै गर्ने रहेछन् ।

दराजका नटबोल्ट कस्नु, भ्याकुम लगाउनु, बाथरूमको सरसफाई गर्नु, वासिङमेसिनमा कपडा हाल्नु र मेसिनमै सुकाउन, ओभनमा खाना तताउनु , आँगनमा झरेका पात टिपेर राख्नु उनका दिनचर्या हुन् । यसरी सुलिभानलाई प्रतिनिधि पात्रका रूपमा हेर्ने हो भने त्यहाँका सबैको दैनिकी यस्तै हो । त्यहाँ कमारो राखिँदैन, आफ्नो काम आफै गरिन्छ, टोलटोलमा गलफत्ती गरेर समय बिताइन्न, सरसफाइलाई ख्याल राखिन्छ । कि काममा रमाइन्छ कि घरमै । तिनका छोराछोरी त्यतै नजिकै बस्ने भए पनि खास अवसरमा मात्रै पूर्व अनुमति र समय लिएर मात्रै आउने रहेछन् । हाम्रो जस्तो सम्बन्धको मोह छैन । यसरी नेपाली संस्कति र मूल्यका आधारमा पृथक् स्वभाव, खानपिन रहनसहन भए पनि मानवीय मूल्यमा भने अत्यधिक सम्पन्न नै भएको पाइयो ।

सदैव उत्साहित देखिने यिनीहरूमा जीवनप्रति कुनै गुनासो नरहेको र कसैको आलोचनामा समय खेरा नफालेको देखियो । वास्तवमा बेलायत कानुनी राज्यको आधारमा चलेको रहेछ, न चोरी छ न गुन्डागर्दी जसको पुस्ट्याइँ बाटामा खसेको सामान कसैले नटिप्ने बानी र घरअगाडि खुल्ला गाडीमोटर राखेकोले नै प्रमाणित गर्दछ ।

Photos;

प्रतिक्रिया दिनुहोस