देवीका वाहन सिंह कसरी भए ?

असोज १६, २०७६  |  १२७ पटक पढिएको  |   साक्षी खबर

वास गर्नु पनि हुन्छ विन्धगिरीमा काली भनी नाम् धरी ।
जो गर्छन् बलिदान् मनुष्यहरुले शास्त्रै विधान्ले गरी ।।
ॐ काल्यै नमः गौर्य नमः ।
कुनै समयमा शिवपार्वती विहार गर्न विन्द्याचल पर्वतमा जानुभएको थियो । विन्द्याचल पर्वत अत्यन्त रमणीय हुन्छ भने देख्दामा झनै आनन्द अनुभव हुनु स्वभाविकै हौ । त्यस पर्वतमा रहँदा शिव पार्वतीको अनेकानेक लिला हुँदै गए । एकदिन शिवजीले पार्वतीलाई काली भनेर बोलाउनुभयो । पार्वतीलाई काली शब्दले अत्यन्त पीडा बनायो । मनमा पीडा सहन नसकी अब म ब्रहमाजीको तपस्या गरेर शिवजीलाई गोरी भएको देखाउँछु भनी आफ्नो वासस्थानबाट हिड्न थाल्नुभयो । यो देखेर शिवजीले के गरेको पार्वती मैले कहिले तिमीलाई नराम्रो बोली, नराम्रो ब्यवहार गरेको छैन, आज एकाएक कालीशब्द आयो, क्षमा गर भन्नुभयो । पार्वतीले नारी हट गरेर म ब्रह्नाको तपस्या गरेर गोरो वर्ण भएको देखाउँछु । जहिले पनि नारीलाई अवहेलना गरेको म सहन्न भन्नुभयो ।

शिवजीले भन्नुहुन्छ, ब्रह्नालाई वर दिने म हुँ । तिमीलाई वर ब्रह्नाले कसरी देलान् । पार्वती मनमनै सोच्नुभयो । अब जे होला, ब्रह्नाले कति कतिलाई वर दिएका हुन भनि शिवलाई परिक्रमा गरेर हिमालयमा माता पिताको दर्शन गरी आशिर्वाद लिएर विन्द्याचलपुर्वतको गुफामा गई आभूषणादि उतारेर जटामुकुट धारण गर्नुभयो । त्रिसंध्यामा स्नान गरी वन्यफलपुष्पद्वारा ब्रह्नमूर्ति भगवान शिवको लिंग स्थापना गरेर पतिकै चरण कमलमा ध्यान गर्दै अति दुष्कर तपस्या गर्न आरम्भ गर्नुभयो । यसरी तपस्या गर्दा घनघोर जङ्गलमा कीटपतङ्गहिंसक पशुहरुबाट आक्रमण हुँदा धेरै समस्या बित्दैगए । एकदिन दुष्टस्वभाव भएको महासिंह पार्वतीको नजिकमा आई मांसभक्षणका निमित्त आतुर भई सिंहनाद गर्यो । पार्वतीले आँखा खोलेर हेर्नुभयो । उहाँका तपको तेजले सिंंह निश्चल भएर पार्वतीलाई एक दृष्टिले हेरिरह्यो । सिंह जन्मजातको क्रुर स्वभावको भएता पनि पार्वतीका तेजले गर्दा सरल स्वभावमा परिणत भई अन्य हिंसक पशुदेखि पार्वतीको संरक्षण गर्दै पार्वतीकै समीपमा आई रहन थाल्यो ।

यसरी पार्वतीको तपस्या दिन प्रतिदिन बढ्दै जादा देवता दैत्यहरुको उपद्रपबाट पीडित भएर ब्रह्ना कहाँ गए । ब्रह्नाले यो उपद्रपको कारण पार्वतीको तपस्या हो भन्ने निश्चय गरेर शिव समक्ष जानुपुर्यो । पार्वतीले शिवलाई छोडेर गएको पनि यति दिन बित्यो । शिवको आस्था के छ भनि ध्यान दृष्टिबाट जानकारी लिनुभयो । पार्वती विन्द्याचल पर्वतमा कठोर तपस्यामा लिप्त भएको कारणको थाह थिएन । ब्रह्नाले जगन्माता पार्वती समीप जान लाग्दा सिंह प्रवेशद्वारमा खडा छ । जगन्माता आँखा बन्द गरेर ध्यान गरेको देख्दा आश्चर्य मान्दै शिवे ? म तिम्रो तपस्याबाट प्रसन्न हुँदै दर्शन दिन आएको छु, वर माग भन्नुभयो । माता पार्वतीले आँखा खोल्नुभयो उठेर साष्टाङ्ग डन्दवत गर्नुभयो । ब्रह्माजीलाई यथामिलितोपचारद्वारा आसनमा राज गराउनु भयो र अर्चना बन्दना गर्नुभयो । पार्वतीमातालाई ब्रह्नाजी भन्नुहुन्छ । हे जगन्माते ? तिमी केका लागि यो अनकण्टार जङ्गलमा तपस्या गर्न आएकी छौ भन्दा पार्वतीले दुवै हात जोडेर भन्नुहुन्छ । हे पिता ? मलाई शिवले काली भनेको कारण मलाई गोरोवर्णको वरदान दिई गोरी बनाई वक्सियोस् ।

ब्रह्नाले भन्नुहुन्छ । हे माते शिवले यति काली भन्दैमा तीनलोकलाई थर्काउने तपस्या गर्नुपर्छ । जगतको रक्षक हुनुहुन्छ उहाँलाई सन्तुष्ट गराउँदै म तिमीलाई गोरोवर्ण अर्थात् गोरी बनाईदिन्छु । आजदेखि तिमीलाई संसारमा देवीका नाम गौरीशैली पुत्री ब्रह्नचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कण्दमाता, कात्यापनी, दुर्गा यी नामद्वारा पुकारीने छौ । नवदुर्गादेवी भगवती भनेर संसारमा पुजनीय स्तवनीय किर्तनीय करदयिनी हुनेछौ, भन्नुभयो ।

माता पार्वतीले आफ्नो कालो छाला छोडेल गोरवर्ण धारण गर्नुभयो । छोडेको त्यो कालो छालाबाट कौशिकी नामकी देवी उत्पन्न भईन । यिनै कन्या महात्मिक शक्ति वैष्णवी योगनिद्रा एवं अष्टभुजा उत्पन्न भईन् । हातमा शंख, चक्र, त्रिशुल आदी अस्त्रधारण गरीन् । त्यसपछी पार्वतीले सनातनी शक्ति ब्रह्नाजीलाई प्रदान भयो । प्रसन्न भएका ब्रह्नाजीले पराशक्ती सिंहलाई देवी पार्वतीको वाहनको रुपमा समपर्ण गरी विन्द्याचल पर्वतमा स्थान दिनुभयो । माता गौरीले ब्रहालाई प्रणाम गर्दै भन्नुभयो । हे पिता ? मेरा सेवा गर्ने सिंहलाई देख्नुभएन । दुष्टजन्तुबाट मेरो तपो वनमा रक्षा गरेको छ । यो भन्दा मेरो अन्य रक्षक कोही छैन । अब यसलाई अगाडी लगाएर शिवजीको चरणकमलमा दर्शन गर्न चाहन्छु यसलाई गणेश्वरको पद प्रदान गर्न आज्ञा हवस् ।

देवी पार्वतीको सुमधुर युक्तिपुर्व वचन सुनेर ब्रह्नाजीले भन्नुहुन्छ । हे देवी ? पशुहरुमा सिंह अत्यन्त क्रुर हुन्छ । यिनी उपर तिम्रो अनुग्रह कस्तो हो । यसलाई अनुग्रह (दया) गरेर सर्पका मुखमा अमृत किन दिन्छ्यौ । केवल सिंह मात्र छैन, यो त कोई निशाचर हो । यसले अनेक पशु मनुष्य समेतको भक्षण गर्दछ । इच्छाअनुसार रुप बदल्छ । यसमा कसरी विश्वास दिन्छ्यौ, शास्त्रमा भनिएको छ ।

नदीमां च नखीनां च सृङ्गीगां शस्त्रप्राणीनाम्
विश्वासो नैव कर्तव्य स्त्रिषु सजकुलेषु च

अर्थात– नदीहरुको नङ भएकाको सीङ भएकाको शस्त्रधारीहरुको र नारीहरुमा र राज परिवारको विश्वास गर्नु हुँदैन ।
पार्वतीले यी वचन सुनेर भन्नुहुन्छ । हे ईश्वर हजुरले भन्नुभयो यो सत्य हो । परन्तु म यसलाई त्याग्न सक्दैन किनकि मेरा शरणमा आएर समस्त हिंसक पशुहरुबाट मलाई रक्षा गरेर ममानै आश्रित छ । अतः म यसलाई कसरी त्यागु ।

ब्रह्ना भन्नुहुन्छ, हे देवी मैले यसको भक्तिभाव जानेको थिएन् । यसकारण मैले भनेको अन्यथा नहोस् । (यथा योग्य तथा कुरु) जे ठिक छ त्यही गर । हे मरमेश्वरी ? तिमी अजन्म प्रज्ञा, बुद्धि, एवं पुराणी हौ समस्त सोककल्यानका लागि अनेक रुप लिएर मोक्ष गर्ने छौ । तिमी बिना प्राणीहरुको कार्य सिद्ध हुनेछैन्, भनि ब्रह्ना अर्नाध्यान हुनुभयो । माता पार्वती तपस्याबाट निवृत भई गोरोवर्णले चारै दिशालाई देदिप्यमान बनाउँदै माता पिताको दर्शन गरेर सिंहलाई अगाडी लगाई जहाँ जगत पिता स्वामी शिवशंकर भोलेबाबा बिराजमान हुनुहुन्थ्यो, उहाँ गई साष्टाङ्ग सहित दर्शनभेट गर्नुभयो । शिवजीले भन्नुभयो हे देवी ? तिम्रो कालो वर्ण कहाँ गयो । हे देवी ? सामान्य मनुष्य सरह एक अर्कामा अप्रिय घटना घटायौ । मैले देवताको कार्य सिद्धिको लागि लिला गरेको हुँ । तिमीले अन्यथा सोच्यौ ।

पार्वतीले सिंहलाई भेटेको रुपमा राखिदिनुभयो । हे प्रणनाथ ? यो मेरो महाभक्त सिंह बिश्वास पात्र छ । यसलाई रक्षकको चिन्ह धारण गराई दिइ बक्सेओस् । शिवले पार्वतीको मधुर शब्द सुनेर प्रसन्न हुँदै तत्क्षणमै सिंहलाई हातमा सुवर्ण अतिट वेत्रली र बिचित्रका काञ्चुकादीभूषण लगाई दिई सोमनदी नाम राखीदिनुभयो । यसरी शिव गौरी पार्वतीका रक्षक सिंह भएकाले यत्रयत्र देवी भगवतीको मन्दिर हुन्छ, तत्र तत्र स्थलहरुमा सिंहको मुर्ति स्थापना भएको देखिन्छ । हामी सबैमा यो जिज्ञासा कि ? किन देवीको मन्दिरमा राखियो हुन्छ । शिवपुरान पढ्दा यसरी सिंह देवी भगवती वाहन भएको सिद्ध भयोे । मनमा उठेका प्रश्न समाधान भए । जय देवीमाता पार्वती लोककल्याणका लागि विचित्र लिला देखाउनुभयो ।

धन्य धन्य दुर्गा भवानी माता
शरनागत दीनार्त परित्राण परायणे ।
सर्वस्यार्ति हरे देवि ? नारायणी नमोऽस्तुते ।।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार