२०७९ माघ १७, मंगलबार

“मृत्यु पश्चात् मृगौला दान गर्नुहोस्” – डा. काफ्ले

चैत्र ०१, २०७५  | १६६१ पटक पढिएको

१ चैत्र, दाङ / ‘मानिसको सबैभन्दा पहिलो मस्तिष्कको मृत्यु हुन्छ, मस्तिष्कको मृत्युपछि मृगौला , मुटु, फोक्सो, कलेजोले मस्तिष्कको मृत्युपछि बिस्तारै काम गर्न छोड्छन् । यस्तो अवस्थामा फोक्सोको काम भेन्टिलेटरद्वारा कृत्रिम रूपमा चलाइन्छ । मुटुको चाल पनि केही समयलाई चलाउन मिल्छ । यही समय कलेजो, मृगौला , मुटु, फोक्सोलगायत विभिन्न अंग दान गराएर प्रत्यारोपण गर्न मिल्छ ।’ एकजनाको मिर्गौलाले दुईजनाले नयाँ जीवन पाउछन् । त्यसैले मृर्गौला दान गर्न वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले सबैलाई अनुरोध गरे । विश्व मृगौला दिवसको अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिकाले गरेको आयोजना नसर्ने रोगसम्बन्धि अन्तक्र्रिया कार्यक्रममा उनले आफ्नो मृत्युपछि पनि आफन्तको ज्यान बचाउन सकिने भन्दै मृत्यु पछि मृगौला दान गर्ने प्रतिबद्धता जनाउन अनुरोध गरे ।

यस अघि मृत्युपश्चात् आँखा दान दिने व्यवस्था भए पनि ०६७ साउनदेखि मृगौला दानको अभियान सुरु भएको हो । अंग दानसम्बन्धी जनचेतनाको अभावले मृत्युपछि मृगौला दान गर्नेको संख्या विकसित मुलुकहरूमा जस्तै उल्लेख्य हुन नसकेको भन्दै आफ्नो मृत्यु पछि पनि मिर्गौला दान गरे परिवारका अन्य सदस्यले नयाँ जीवन पाउने कुरा बुझ्न जरुरी रहेको समेत उनको भनाई थियो । ‘मरणोपरान्त अंग दान दिने प्रक्रियाले समाज, व्यक्तिसहित देशलाई फाइदा पुग्छ,’ उनले भने ‘मृत्युपछि अंग जलाइन्छ भने किन त्यो अंगलको भलाई नगर्ने ?’

आफु नरहे पनि आफ्नो नष्ट हुने अंगले अरूको ज्यान बचाउँदा जस्तो पूण्य, भलाइ र समाज सेवा केहीबाट पनि नहुँने उनको तर्क थियो । उनका अनुसार फोक्सो, मृगौला, मुटु, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा प्रत्यारोपण हुन सक्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालेको मृगौला २४ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने समेत बताए ।

मृर्गौला दान दिन चाहनेले ‘मरेपछि मेरो मृगौला दान गछुं’ भनेर मृत्युअघि नै मञ्जुरीनामा दिएको हुनुपर्छ । सरकारले यसका लागि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र मृगौला प्रत्यारोपण युनिट वीर अस्पताललाई जिम्मेवारी दिएको छ । उनका अनुसार मस्तिष्क मृत्युपछि मृगौला दान गरेर प्रत्यारोपणका लागि आवश्यक भौतिक पूर्वाधार एचएलए ल्याब पनि नेपालमै व्यवस्था छ । नेपालको कानुनअनुुसार अहिले मृगौला काम नलाग्ने भएका व्यक्तिको नजिकको नातेदारले मात्रै अंग दान दिन पाउँछन् । अहिले नसर्ने खालका रोग वृद्घि भएकाले मृर्गाैलालगायत अंग बिग्रिनेहरूको संख्या बढिरहेको उनको भनाई थियो ।

‘हाम्रो आफ्नै बानीले बिग्रिन्छ मृगौला ’
आफ्नै आनीबानीले गर्दा नै मिर्गौला बिग्रिने गरेको उनले बताए । ‘हामीले जन्मिदा स्वस्थ मिर्गौला ल्याएर जन्मेपनि हाम्रो खानपिनले बिगार्ने गरेका छौं ।’ अहिले घरमा बनेको खानेकुरा भन्दा पनि ‘जंक फुड’ खानेबानीले हाम्रो मिर्गौलामा खराबी आउने गरेको उनले बताए ।

त्यस्तै पछिल्लो समय नहिड्ने बानीले पनि मिर्गौलालाई खराबी गरिरहेको उनको भनाई छ । दैनिक १० हजार पाईला अर्थात सात किलोमिटर हिड्नु पर्ने उनले बताए । साथै अहिले नेपालको जनसंख्या मध्ये करिब १० प्रतिसत ब्यक्ति मिर्गौला रोड पीडित भएको भन्दै उहाँले समय–समयमा मिर्गौला जाँच गराउन अनुरोध गरे । वरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डा. काफ्लेले पछिल्लो समय मिर्गौला बिग्रिसकेपछि मात्रै उपचार गर्न आउने गरेको भन्दै यही कारणले धेरैले अकालमा ज्यान गुमाउनु परेको बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस