२०७९ माघ २१, शनिबार

आशंकामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : सम्पन्न भएन रंगशाला, तोकिएन मिति

चैत्र ०१, २०७५  | १५३८ पटक पढिएको

खेमराज रिजाल
(बेलझुण्डि,१ चैत)

यहि विसं २०७५ शालभित्रै सम्पन्न हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अझै तोकिएको छैन । राष्ट्रिय खेलमा सहभागि बनाउन सातै प्रदेशमा खेलाडी छान्ने काम सकिएपनि राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिंदा खेलाडीहरुमा निराशा छाएको छ । तर मिति तोक्ने सन्दर्भमा राष्ट्रिय खेलकुद परीषद र मन्त्रालयबीच समन्वय हुन नसक्दा यो समस्या आएको हो । यस अघि फागुन अन्तिम साता सुरु हुने र चैत पहिलो साता खेल समापन हुने भनिएपनि पछि परीमार्जन भएर चैत २५ गते उद्घाटन गरी चैत ३० गते समापन गर्ने अनौपचारीक निर्णय कार्यकारी परीषदले गरेको थियो । प्रारम्भमा नेपालगन्जमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन हुने र दाङको वेलझुण्डिमा प्रतियोगिताको समापन हुने तयारी थियो ।

‘प्रदेशस्तरीय प्रतियोगितामा छनौट त भइयो, तर राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिनै नतोकिंदा अन्योलमा परेका छौं’—राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी छनौट भएका एक खेलाडीले गोरक्षलाइ भने । उनीजस्तै सयौं खेलाडीमा अहिले खेलप्रतिनै वितृष्णा पैदा हुन थालेको छ । राज्यले खेलकुद प्रतियोगितालाइ गम्भीरता पुर्वक लिन नसकेको पनि खेलाडीहरुको आरोप छ ।

दाङ जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष डिल्ली वहादुर डांगीका अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेलहरु दाङमै सम्पन्न हुने मोटामोटि सहमती भएको छ । त्यसमा महिला क्रिकेट प्रतियोगिता, महिला फुटवल प्रतियोगिता, महिला भलिवल, बास्केटवल प्रतियोगिता, करांते तथा एथ्लेटिक्स लगायत ८ वटा विधाका खेल पनि दाङमै सम्पन्न हुने भनिएको थियो । तर यसको अन्तिम निर्णय भने अझै हुन सकेको छैन । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परीषदले भने अझै निर्माणको काम सम्पन्न हुन नसकेको भन्दै खेलकुद प्रतियोगिताको मिति र स्थान छनौटमा ढिलाइ गर्दै आएको समाचार श्रोतले बताएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन दाङमा हुने भनिएको महिला भलिवल र महिला फुटवल खेल्ने स्थान वेलझुण्डि रंगशाला हो भने करांते खेलकालागी तुलसीपुरमा निर्माणाधिन कभर्ड हल तोकिएको थियो । तर निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण दुवै स्थानमा काम सम्पन्न भैसकेको छैन । समापन खेल हुन बढिमा एक महिना मात्र बांकि रहेको अवस्थामा वेलझुण्डिस्थीत निर्माणाधिन रंगशालाको निर्माण सकिने अवस्थानै छैन । निर्माण व्यवसायीलाइ पटक पटक सचेत बनाउनदा समेत विभिन्न समस्या देखाइ निर्माणको काममा ढिलाइ भैरहेको छ । तुलसीपुरमा पनि निर्माणधिन मल्टिपर्पोज कभर्डहल निर्माणको काम अझै सकिएको छैन ।  महत्वाकांक्षि रंगशाला निर्माणको काम गर्ने ठेक्का दिवा एमए प्रतिष्ठा कम्पनीले पाएको थियो ।

२४ करोड २४ लाखमा निर्माणको काम थालेको सो कम्पनीले माघभरमै निर्माणको काम सम्पन्न गर्ने ठेक्का संझौता भएको थियो । तर तोकिएको भन्दा थप एक महिनामा पनि निर्माणको काम पुरा हुन सकेको छैन । दैनिक काम भएको देखिएपनि खेलकुदको समापन खेल चैत भित्र असम्भव जस्तै देखिएको छ । भलिवल तथा फुटवल प्रतियोगिताकालागी खेलमैदानमा दुवो जागिसकेको हुनुपर्दछ । त्यसकालागी रोपिएको कम्तिमा एक महिना भन्दा बढि समय लाग्छ । तर अझैपनि खेलमैदानमा दुवो रोप्ने काम समेत सम्पन्न भएको छैन । निर्माण कम्पनीका इन्जिनियर सुरज भोजुले डिजाइन र निर्माण दुवैको काम निर्माण कम्पनीलेनै गर्नुपरेका कारण काममा ढिलाइ भएको बताएका छन् । यसमा राज्यका पक्षबाट पनि केहि ढिलाइ भएको उनले बताए । यद्धपि समापन सम्पन्न गर्न सकिनेगरी काम सक्ने उनको दावी छ । तर काम अझै धेरै बांकि रहेको छ । प्याराफिट निर्माण, दुवो रोप्ने, ट्र¥याक बनाउने, नर्मल व्लक, भिआइपि व्लक, कार्यालय भवन लगायत कुनैपनि काम सम्पन्न भएका छैनन् ।

दाङमा समापन मुस्कीलः खेलकुद परिषद

यसैबीच राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउंदो चैत २५ गते सुरु हुने र ३० गते समापन हुने दावी गरेका छन् । खेलकुद परीषदको कार्यकारी बैठकले सो निर्णय गरीसकेको उनले गोरक्षलाइ फोनमा बताएका छन् । यद्धपि खेलकुद प्रतियोगिताको अन्तिम मिति र स्थान खेलकुद मन्त्रालय र खेलकुद परिषदका पदाधिकारीहरुको बोर्डबैठकले मात्र अन्तिम टुंगो लगाउन अझै बांकि छ ।

‘निर्माणको काम सकिएन भने दाङमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रम र समापन खेलहरु मस्कील छ’—परिषदका सदस्यसचिव विष्टले भने, निर्माणको प्रगति दैनिक जसो फलोअपमा छौं ।’ उनले आफुले मंगलवारै दुवो रोप्ने काम सम्पन्न भैसकेको जानकारी पाएको पनि दावी गरे । ‘तपाइहरुले पनि निर्माण कम्पनीलाइ नागरीक दवाव दिनुस्, निर्माणको काम सम्पन्न भएको अवस्थामा केहि प्रतियोगिता सहित समापन कार्यक्रम पनि दाङमै हुने छ’—सदस्य सचिव विष्टले साक्षी अनलाइनलाइ भने, म चैत ३ गते फेरी मैदान अनुगमनकालागी आउंदै छु ।’ यद्धपि यस अघि भएका राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनकालागी हाल भएको पुर्वाधारले प्रयाप्त हुने दाङ जिल्ला खेलकुद विकाश समितिका अधिकारीहरुले बताउंदै आएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस