२०७९ माघ १३, शुक्रबार

दुधरासमा वृहत छलफल, हाइटेन्सनको दुई विकल्प

फागुन २९, २०७५  | १५०२ पटक पढिएको

विजौरी
पोल ढालिएपछि विवादित हाइटेन्सनको विद्युत तान्ने विषयमा दुधरासमा भएको सर्वपक्षीय छलफलले दुई विकल्प दिएको छ । पश्चिम दाङको हापुरेबाट ल्याइएको ३३ केभि प्रसारण लाइन फुलबारी हुंँदै डुरुवाबाट पत्रेखोला किनारै किनार दुधरास ल्याउने क्रममा दुधरासमा विद्यालय क्षेत्रमा पोल गाडिएपछि तार तान्ने काममा अवरोध भएको थियो ।

दुधरासको विद्यालय क्षेत्रमा स्थलगत अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरी, वडा नम्बर १८ का अध्यक्ष माधव वली, जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्मातथा स्थानीय अगुवा समाजसेवीहरुबीच विवाद मिलाउने सन्दर्भमा मंगलबार विहान बृहत छलफल भएको थियो ।

छलफलमा जनताका लागि आएको विद्युत सेवालाई सहजरुपमा उपलव्ध गराउनका लागि बैकल्पिक बाटो खोज्न नगरप्रमुख घनश्याम पाण्डेले सहजीकरण गरेपछि भेलामा सहभागीहरुले पत्रेखोलाबाट ल्याइएको तारलाई खोलैखोला माथि लगेर सिमेन्ट उद्योगसम्म लैजाने पहिलो विकल्प दिएका थिए । ‘धेरै प्रयासपछि उच्च क्षमताको विद्युत लाइन आएको छ, आम जनतालाई उपभोगका लागि हामीले सहज विकल्प दिनु पर्छ’, सहजीकरणका क्रममा नगरप्रमुख पाण्डेले भने । त्यसैगरी दोस्रो विकल्पका रुपमा विद्यालयको इन्जिनियरिङ कलेजसम्म आउने सडकलाई चौडा गरी सम्भावित क्षतिलाई शुन्य गरी सडकको एउटा किनाराबाट पोल गाडि तार तान्ने विषयमा पनि नापी नक्सा अध्ययन गर्ने विषयमा मौखिक सहमति भएको छ । स्थानियवासीहरुले विद्यालयका भावी संरचना निर्माणमा असर नपुग्ने तथा विद्यार्थीहरुलाई पनि हाइभोल्टेजको तारका कारण हुने सम्भावित दुर्घटनाको जोखिम शून्य गर्ने गरि मात्रै तार तान्न आग्रह गरेका थिए ।
पहिलो विकल्पका रुपमा रहेको खोलाको क्षेत्रबाट तार तान्ने क्रममा कसैले भोग चलन गरेको जग्गामा पोल गाड्नु पर्ने अवस्था भए स्थानीय अगुवाहरुले सहजीकरण गर्ने पनि मौखिक सहमति भएको छ । त्यसैगरी यदि सडक तत्काल चौडा गर्ने हो भने कसैको छाकवासमा हुने समस्यालाई ध्यान दिएर किनाराबाट पनि पोल गाडेर तार तान्ने प्रक्रिया सुरु हुन सक्ने छ । दीर्घकालीन आवश्यकतालाई समेत मध्यनजर गर्दै उपयुक्त विकल्प निकालिने तुलसीपुर उपमहानगरपालिका–१७ का अध्यक्ष थलराज पुरीले बताए । सहमति वार्तामा स्थानीयवासी तथा नेकपा दाङका नेता टिकाराम खड्का समेत सहभागी थिए ।

पञ्चकुले सवस्टेशनमा रिचार्ज गरिएको सो क्षमताको विद्युत दुधरास स्थित सोनापुर सिमेन्टको ट्रान्सफर्मरसम्म लगेपछि सो विद्युतले घोराहीदेखि पश्चिम सबै स्थानका उपभोक्ताहरुलाई लो भोल्टेजको समस्या समाधान हुने छ साथै सो विद्युतले सोनापुर सिमेन्ट उद्योगलाई पनि सेवा पुग्ने विद्युत प्राधिकरण तुलसीपुर शाखाका प्रमुख दिपकजंग चौधरीले बताए । साथै उनले सो विद्युत सेवा सोनापुर उद्योगलाई मात्र उपलव्ध गराउन लागेको भन्ने नबुझिदिन पनि स्थानीयलाई आग्रह गरेका थिए । अनुगमनका क्रममा नेपाल विद्युत प्राधिकरणको सो तार तान्ने ठेक्का लिएको निर्माण कम्पनीका प्रोप्राइटर विक्रम हमाल पनि सहभागी थिए ।

मंगलबार भएको मौखिक सहमतिअनुसार तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माको समन्वयमा दुई विकल्प मध्ये उपयुक्त विकल्प खोजिने बताइएको छ । यसअघि तार तान्ने विषयमा ठेकेदारले विद्यालय र स्थानीय जग्गाधनीको सहमति बिनै मनोमानी स्थानमा पोल गाडेपछि कम्तिमा आधा दर्जन पोलहरु ढालिएका थिए । त्यसपछि हाइटेन्सनको तार तान्ने काम अवरोध भएको थियो । जसका कारण हापुरेमा जोडिएको विद्युत पनि तुलसीपुरको पातुखोलादेखि पूर्व आउन सकेको छैन ।

करिव एक महिना अघि उर्जामन्त्री वर्षमान पुन, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलिले पञ्चकुलेमा रिचार्ज भएको १३२ केभि प्रसारण लाइन उद्घाटन गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस