पुरातत्व विभाग अव संघियताको अभ्यासमाः महानिर्देशक गौतम

साउन ०४, २०७६  |  २१५ पटक पढिएको  |   साक्षी खबर

पुरातत्व विभागले नेपालमा विधिवत रुपमा काम थालेको करीव ६३ बर्ष भएको छ । काठमाण्डौमा विसं २००९ शालमा संस्था स्थापना भएपनि विधिवत रुपमा विसं २०१३ शालमा ऐन जारी भएपछि क्रियाशिल पुरातन्तव विभाग अहिले महाभुकम्प २०७२ मा भत्किएका संरचनाहरुको जिर्णोद्धार तथा मुलुकका अन्य स्थानमा रहेका पुरातात्विक महत्वका संरचनाहरुको पहिचान गरी ती संरचनाहरुको मौलिकता प्रदान गर्न अभ्यस्त छ । पुरातन्व विभागको स्थापनाको पृष्ठभुमि, यसले हालशाल गर्दै आएका गतिविधिहरु तथा विभागका भावि कार्यक्रम तथा योजनाका विषयमा केन्द्रित रहेर दाङ जिल्लाको घोराही उपमहानगरपालिका रझेनाका स्थानियबासी तथा निरन्तर २० बर्षदेखि पुरातत्व विभागमा कार्यरत महानिर्देशक दामोदर गौतमसंग खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

पुरातत्व विभागको स्थापनाको पृष्ठभुमिबारे संक्षिप्त जानकारी दिनुस् न?
पुरातत्व विभाग नेपालका प्राचिन, धार्मिक, सांस्कृतिक, पर्यापर्यटकिय, ऐतिहासीक पहिचानलाइ निरन्तरता दिंदै ती ऐतिहासीक संस्कार र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले विसं २००९ शालमा स्थापना भएको संस्था हो । सन १९७२ शालमा नेपालले युनेस्को अभिसन्धीमा हस्ताक्षर गरेसंगै यो संस्था थप क्रियाशिल हुन थालेको हो । नेपालले युनेस्को अभिसन्धमा हस्ताक्षर गरेसंगै नेपालको काठमाण्डौ उपत्यकाका हनुमानढोका दरवार स्क्वायर, चांगुनारायण, पशुपतिनाथ मन्दीर लगायत लुम्विनीमा विभिन्न बौद्धस्तुपहरु पनि विश्वसम्पदा सुचिमा परेका छन् । अहिले मुलुकका विभिन्न स्थानमा रहेका यस्ता मौलिक संरचनाहरु, जातिय एवं सांस्कृतिक पहिचानका विभिन्न संस्कृति, पर्यटकिय क्षेत्र, मठमन्दीर, गुफाहरु, प्राकृतिक तालतलैयाहरु, झरनाहरु तथा ऐतिहासीक दरवारहरुको समेत यो विभाग अन्तर्गत अध्ययन अनुसन्धान भैरहेको छ । केहि स्थानमा यस्ता मौलिक संस्कृतिहरुको पनि पहिचान गरी भगनावसेसका विषयमा पनि अध्ययन भैरहेको छ । अहिले हामी त्यसकै दौरानमा छौं ।

मुलुकभरीनै विश्वसम्पदा सुचिमा राख्न मिल्ने विभिन्न धार्मिक, ऐतिहासीक, र सांस्कृतिक संरचनाहरु छन् भन्दै हुनुहुन्छ, पुरातत्व विभागले दाङमा पनि त्यस्तो संभावना देखेको छ?
हो दाङ जिल्ला पनि एउटा पुरातात्विक महत्व बोकेको जिल्ला मध्येको एक हो । त्यहां वहुभाषिक संस्कृति छ, धार्मिक विविधता छ, प्राकृतिक पर्यटकिय क्षेत्रहरु प्रसस्त छन् । धार्मिक पहिचान बोकेका धेरै संरचनाहरु छन् । इतिहासलाइ व्युझाउने खालका दरवारहरु पनि छन् । विभिन्न देवस्थलहरु छन् । झरनाहरु छन् । गुफाहरु छन् । थारु समुदाय, मगर समुदाय, गुरुङ समुदाय, नेवार समुदायका अआफ्नै संस्कृतिहरु दाङमा छन् । ती सवै संस्कृति एवं संरचनाहरुको अआफ्नै मौलिकता पनि रहेको छ । यी सवैको पहिचान गरी आवस्यक भगनावसेस, जिर्णोद्धार र संरक्षणकालागी पुरातत्व विभाग लागीसकेको छ । भर्खरै यो बर्ष घोराहीको अम्विकेश्वरी मन्दीरको पुनः मर्मत पुरातत्व विभागकै निगरानी र समन्वयमा भैरहेको छ । नारायणपुरको मण्ठोर्या मन्दीरको पनि पुर्ननिर्माणको काम भैरहेको छ । सकेसम्म पुरानो मौलिक स्वरुपलाइ नविगार्ने गरी मौलिक पहिचान सहितका संरचनाहरु आधुनिक आर्किटेक्ट प्रविधिबाट भैरहेको छ । मलाइ लाग्छ दाङ जिल्लामा रहेको छिल्लीकोट दरवार, सुकौरास्थीत दंगिशरण राजाको दरवार तथा देउखुरीका पनि यस्ता ऐतिहासीक दरवारहरु छन् भन्ने सुनेको छु । वाह्रकुने दहदेखि धारपानीको पाण्डवेश्वर मन्दीर पनि पुरातान्विक महत्वकै धरोहरहरु हुन् । हामी क्रमश त्यस्ता संरचनाहरुको अध्ययन अनुसन्धान गरी मौलिक स्वरुपमा जिर्णोद्धार गर्ने अभियानमा छौं । त्यसमा सवै दाङबासीहरुको साथ सहयोग र सहकार्यको हामी अपेक्षा गर्दछौं ।

अचेल के काममा व्यस्त हुनुहुन्छ?
हामी अचेल महाभुकम्प २०७२ मा क्षति भएका पुरातात्विक महत्वका संरचनाहरुको पुर्ननिर्माण र जिर्णेद्धारमा व्यस्त छौं । त्यसवेला मुलुकमा कम्तिमा ८ सय ५३ वटा ऐतिहासीक एवं पुरातात्विक संपदाहरु भत्किएका थिए । ती मध्ये हाल सम्म करीव ३ सय संरचनाको पुर्ननिर्माण कार्य सम्पन्न भैसकेको छ । बांकि अन्य संरचनाहरु पनि संभवतः एक बर्षभित्रमा निर्माण सम्पन्न गरीसक्ने गरी काम भैरहेको छ । त्यसमा नेपाल सरकार लगायत विभिन्न दात्रि निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु ऋार्थिक एवं प्राविधिक सहयोग समेत रहेको छ । पुर्ननिर्माणकालागी बजेट अपुग भएको अवस्था छैन । सायद मलाइ लाग्छ, यो ऐतिहासीक काम हामीले आउंदो आर्थिक बर्षमा करीवकरीव सम्पन्न गर्ने लक्षकासाथ अघि बढिरहेका छौं । यो काम लगायत मुलुकभरीका अन्य स्थानमा रहेका पुरातात्विक महत्वका स्मारक तथा संरचनाहरुको पनि स्थलगत अध्ययन र अनुसन्धानको काममा हाम्रो टिम लागेको छ ।
मुलुक राज्य पुर्नसंरचनामा प्रवेश गरीसकेको छ । संघ, प्रदेश र स्थानिय सरकार अआफ्नै तवरले मुलुकको समृद्धिमा क्रियाशिल भैसकेका छन् । हरेक क्षेत्र संघिय संरचनामा विभक्त भैसकेको अवस्थामा पुरातन्व विभाग काठमाण्डौमा मात्रै सिमित रहंदा मुलुभरीका पुरातात्विक संरचनाहरुको संरक्षण संभव होला?
हो मुलुक राज्य पुर्नसंरचनामा प्रवेश गरीसकेको छ । अव मुलुकभरीका सवै पुरातान्विक महत्वका धरोहरहरु पहिचान गरी सवै संरचना तथा धरोहरहरुलाइ मौलिक रुपमा फर्काउन काठमाण्डौमा मात्र सिमित हुनु हुंदैन भन्ने हाम्रो मान्यता हो । हामीले पनि पुरातत्व विभागका कार्यालयहरुलाइ संघिय संरचनामा लैजान सरकारलाइ प्रस्ताव पनि गरीसकेका छौं । अहिले हामी पुराजत्व विभागमा जम्मा ६७ जना कर्मचारीहरु छौं । त्यसमा पनि दक्ष जनशक्ति भनेको ४० जना मात्रै हो । यो मुलुकभरी क्रियाशिल हुनकालागी अपुग जनशक्ति हो । अर्को कुरा तपाइलाइ स्मरण गराउन चाहन्छु, मुलुकमा संघियता आएसंगै अहिले पहिचानको मुद्धाले पनि हामीलाइ टेवा पुराइरहेको छ । कुनैपनि जातजातिहरुको जातिय पहिचान, सांस्कृतिक पहिचान, धार्मिक पहिचानले पनि पुरातात्विक महत्व राख्छन् । त्यसैले पनि संभवतः अव पुरातत्व विभागको पनि पुर्नसंरचना हुन जरुरी छ । हामीले पुरातत्व विभागलाइ संघिय मात्र नभएर प्रादेशिक तथा स्थानिय तहसम्म पनि लैजान चाहेका छौं । संभवतः राज्य सरकारले हाम्रो प्रस्तावलाइ स्वीकार्ने छ भन्नेमा हामी आशावादी छौं ।

नेपालले युनेस्को अभिसन्धमा हस्ताक्षर गरीसकेको अवस्थामा पुरातत्व विभाग भने बर्षौदेखि खुम्चिएर बसेको अवस्था छ । तपाइको विचारमा राज्यले पुरातत्व विभागलाइ हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ?
हो नेपालले युनेस्को अभिसन्धीमा हस्ताक्षर गरेसंगै कम्तिमा आधादर्जन भन्दा बढि स्थलहरु विश्व सम्पदा सुचिमा दर्ता भैसकेका छन् । जसले नेपाललाइ विश्वसामु चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । साथै यसले बैदेशिक पर्यटकहरुलाइ पनि नेपालमा आकर्शण बढाएको छ । आन्तरीक पर्यटनमा पनि बृद्धि भएको छ । पर्यटनबाट हुने आयश्रोतमा पनि बृद्धि भएको छ । तर राज्यले यसमा अझै प्रयाप्त मात्रामा बजेट र जनशक्तिको व्यवस्थापन गर्न नसकेको यथार्थ हो । हाम्रो इतिहासलाइ अध्ययन गर्ने हो भनेपनि नेपालमा विश्व सम्पदा सुचिमा पर्न सक्ने धेरै पुरातात्विक महत्वका स्थलहरु छन्, स्मारकहरु छन्, मठमन्दीरहरु छन्, हिमश्रृंखलाहरु छन् । यसकालागी राज्यले पुरातत्व विभागको कार्यक्षेत्रलाइ बृहत्तर बनाउन आवस्यक छ । यसो भएमा दाङ जिल्लाका पनि केहि स्थलहरु विश्व सम्पदा सुचिमा पर्न सक्छन् । विश्वसंपदा सुचिमा पर्न सके त्यसले त्यहांको स्थानिय स्तरको समग्र समृद्धिमा निकै सकारात्मक प्रभाव पर्नेमा कुनै विमती छैन । किनकि दाङमा ऐतिहासीक गोरक्ष रत्ननाथ मन्दीर छ, सतिदेवीको अंग पतन भएको छिल्लीकोट पर्यपर्यटकिय क्षेत्र छ । देउखुरीको बाघनाथ धाम र रिहार बाबा धाम होस वा वाह्रकुनेको प्राकृतिक दह जस्ता पुरातात्विक महत्व राख्ने स्थल तथा प्राचिन दंगिशरण राजाको दरवार पनि विश्व सम्पदा सुचिमा पर्न सक्ने स्थलहरु ह्ुन् । यसकालागी स्थानिय तह तथा त्यहांका राजनेताहरुले पनि आवस्यक पहल गर्न सके केन्द्रले पुरातन्व विभागलाइ हेर्ने दृष्किोणमा पनि परीवर्तन आउन सक्छ ।

अन्तमा यस अनलाइन मार्फत आम पाठकहरुलाइ केहि भन्न चाहनुहुन्छ?
सवैभन्दा पहिले अनलाइन परिवारलाइ धन्यवाद दिन चाहन्छु । मलाइ पुरातत्व विभागका विषयमा केहि कुरा राख्ने मौका दिनुभएकोमा । अर्को कुरा मुलुकमा हरेक जातजाती र समुदायहरुले अआफ्नो पहिचान खोजिरहको अवस्थामा उनीहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न अव एकल प्रयासले मात्र सम्भव छैन । जातिय संहिष्णुता कायम गर्नकालागी पनि हरेक जातजातिको संस्कृतिलाइ समान रुपले सम्मान गर्न आवस्यक छ । त्यसकालागी सवैको साथ र सहयोग आवस्यक हुन्छ । सांस्कृतिक पहिचान एउटा गहना पनि हो । यसले हरेक समुदायलाइ मौलिकता दिन सक्छ । त्यसकारण पनि पुरातत्व विभागको यो अभियानमा आम नागरीकहरुको साथ सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार