२०७९ माघ १७, मंगलबार

गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

असार ०४, २०७६  | ७१६ पटक पढिएको

४ जेठ, काठमाडौँ / उपत्यकाका गुठियारहरुले सरकारले मङ्गलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् ।

आज माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग गरेका हुन् ।

सभामा सहभागी हुन शहरका विभिन्न स्थानका गुठियार मौलिकता झल्काउने बाजागाजा एवं सांस्कृतिक पहिचानसहित आएको देखिन्थे ।

कार्यक्रममा सम्पदा अभियानकर्मी डा महेशमान श्रेष्ठ, वरिष्ठ अधिकारकर्मी नेवाः देय् दबुका संरक्षक मल्ल के। सुन्दर, सम्पदा अभियानकर्मी शैलेश शाक्य बरेजु, सुदय सिलाकार, हलि नेवाः गुठीका संयोजक शान्तप्रकाश श्रेष्ठ, सेभ नेपाः भ्यालीका सुरज महर्जन, खोकना द्रुतमार्ग पीडित सङ्घर्ष समितिका असोज महर्जन, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बराम, उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिका संयोजक सुमन सायमी, गुठी संस्थानको औचित्यबारे उच्चस्तरीय अध्ययन समितिका संयोजक पवित्र बज्राचार्य, सडक विस्तार पीडित आन्दोलनका अग्रज वरिष्ठ अधिवक्ता शङ्कर लिम्बू, जनकवि दुर्गालाल श्रेष्ठ, नेवाःदेय् दबुका अध्यक्ष नरेश ताम्राकार, बौद्ध बिहार सङ्घ गुठी विधेयक विरुद्ध संयुक्त सङ्घर्ष समितिका अध्यक्ष नानीभाइ शाक्यलगायतले सरोकार भएका निकायसँग छलफल नगरी ल्याइएको विधेयक खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ष्ट्रियसभामा गुठी विधेयक दर्ता भएपछि उपत्यकाका विभिन्न स्थानका साथै प्रमुख शहरमा पनि यसको विरोध भएको थियो । गुठी अभियानकर्मीले गरिएको वृहत् प्रदर्शन एवं सभामा उपत्यकाका तीनै शहरका गुठियार बाजागासहित उपस्थित भएका थिए । प्रदर्शनका कारण कोटेश्वरबाट रत्नपार्क आउने सवारी घण्टौँ बन्द भएको थियो । माइतीघरबाट नयाँबानेश्वर सडकको बीचमा रहेको बगैँचामुनि बस्ने अभियानकर्मी पनि उल्लेख्य थिए । केही प्रदर्शनकारीले चर्को नारा समेत लगाएका थिए । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस