२०७९ माघ १३, शुक्रबार

‘पाठकविहिन सुनसान केन्द्रिय पुस्तकालय’

असार ०४, २०७६  | १०७० पटक पढिएको

– साक्षी खबर

बेलझुण्डी / उसो त नेपाल संस्कृत विश्वविद्यालय विद्यार्थीभन्दा कर्मचारी प्राध्यापक बढी भएको भन्दै आलोचना खेप्दै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयको पुस्तकालयको अवस्था उस्तै अवस्थाको छ । संस्कृत विश्वविद्यालय स्थापनाको क्रममा तत्कालीन डीन कार्यालयका पुस्तकहरु राखेर रत्न पुस्तकालयकारुपमा स्थापना गरिएको थियो । हिजोआज पुस्तकालयका लागि पाठक सोमबारे औंसी जस्तै छ । केन्द्रीय पुस्तकालयका प्रमुख जीवलाल विश्वकर्माकाअनुसार बैशाख र जेठ महिनामा पुस्तकालयमा एक जना पनि पाठक आएका छैनन् ।

पुस्तकालयमा संस्कृत विषयका साथै, अर्थशास्त्र, आयुर्वेद, नेपाली विषयका १३ हजार ६ सय सैतिस पुस्तकहरु रहेका छन् । पुस्तकालयमा कहिलेकाही अनुसन्धान गर्ने अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी आउने गरेको प्रमुख जीवलाल विश्वकर्माले जानकारी दिए ।
पुस्तकालयमा पढ्न आउने पाठकलाई निशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था छ ।

यता पुस्तकालयलाई ई–लाइबेरीका रुपमा विकास गर्नका लागि प्राध्यापक प्रेमकुमार आचार्यको संयोजकत्वमा प्रस्तावना लेखन समिति गठन गरिएको छ । समितिले पुस्तकालयलाई अत्याधुनिक बनाउनका लागि एक करोड पचास लाखको प्रस्तावना विश्वविद्यालय प्रशासन समक्ष बुझाएको थियो । प्रस्तावनामा पुस्तकलाई व्यवस्थितरुपमा राख्नका लागि भौतिक सामग्री खरिद, कम्प्युटर नेट सहितको व्यवस्थाका साथै प्रत्येक पुस्तकलाई ई–लाइबेरिकारुपमा विकास गर्ने रहेको समितिका संयोजक प्रेमकुमार आचार्यले जानकारी दिए । त्यसका साथै पाठकलाई पढ्नका लागि एकान्त कक्षको समेत व्यवस्था गर्ने प्रस्तावनामा उल्लेख गरिएको छ । प्रस्तावना विश्वविद्यालय ७० सात लाख माग गर्दै अनुदान आयोगमा पठाएको छ ।

नासुको भरमा पुस्तकालय
नेपाल संस्कृत विश्वविद्यालय ६ वर्ष अघिदेखि नायब सुब्बाकै भरमा रहेको छ । पुस्तकालयमा अधिकृत सरहका गोविन्द आचार्यको अवकाश पछि भएपछि नायक सुब्बाको भरमा रहेको हो ।

विश्वविद्यालयमा पुस्तकालयमा अधिकृत सरहको व्यक्ति प्रमुख हुने व्यवस्था भए पनि कार्यान्वयन भएको छैन । सहायक लाइबेरियन दुर्गाप्रसाद न्यौपाने भएपनि विश्वविद्यालय प्रशासनले आयुर्वेद केन्द्रीय विद्यापीठ पुस्तकालयमा पठाएको छ । पुस्तकालयका प्रमुख जीवलाल विश्वकर्माले आफूले पुस्तकालयका बारेमा कु्नै जानकारी नभएको र विश्वविद्यालय प्रशासनले इच्छा विपरित पठाएको बताए ।

यता विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेश ढकालले विश्वविद्यालयमा जनशक्ति अभावका कारण सुब्बाकै भरमा पुस्तकालय सञ्चालन गर्नुपरेको जानकारी दिएका छन् । पुस्तकालयलाई थप व्यवस्थित बनाउनका लागि आफूहरु अग्रसर भएको बताए । पुस्तकालका लागि दक्ष जनशक्तिको व्यवस्था गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस