२०७९ माघ २४, मंगलबार

तुलसीपुरमा विकास प्राधिकरणको तयारी

असार ०४, २०७६  | ५५६ पटक पढिएको

– साक्षी खबर
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर विकास पुर्वाधार प्राधिकरणको अन्तिम तयारी गर्दैछ । प्राधिकरण गठन भएसंगै तुलसीपुर उपमहानगरका सबै वडाका सडक निर्माणका काम सोहि प्राधिकरणमार्फत गरिने तयारी उपमहानगरपालिकाले गरेको छ । सम्भवतः केही दिनभित्रै उपमहानगरपालिकाको बजेट अधिवेशनले प्राधिकरणको अन्तिम स्वरुप सार्वजनिक गर्नेछ ।

नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक बर्ष २०७६/२०७७ सालको नीति तथा कार्यक्रममा प्राधिकरणको अवधारणा प्रस्तुत गरेका थिए । त्यसलाई नगर कार्यपालिकाको बैठकले अनुमोदन समेत गरेको छ । नीति र कार्यक्रमको भौतिक पूर्वाधार विकास अन्तर्गतको १ नम्वर बुंदामा यस सम्बन्धी खाका प्रस्तुत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको सडक गुरुयोजनालाई कार्यान्वयन गर्न र उक्त गुरुयोजना कार्यान्वयनका लागि सडक तथा पूर्वाधार विकास प्राधिकरण स्थापना गरिन लागेको हो । सडक निर्माणको काममा गुणस्तरियता, चुस्तता तथा छिटो छरीतो बनाउनका लागि प्राधिकरण स्थापनाको अवधारणा ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताएका छन् ।

प्राधिकरण सञ्चालनका लागि आवश्यक पर्ने यान्त्रिक साधन र श्रोतको व्यवस्था उपमहानगरपालिकाको बजेटबाटै गरिने छ । यसका लागि आवश्यक टिप्पर, डोजर, स्काभेटर, रोलर लगायतका सम्पूर्ण सामाग्रीहरु नगरपालिकाले खरिद गर्ने तयारी गरेको छ । साथै पक्की सडक निर्माणका लागि आवश्यक ग्राभेल र व्ल्याकटप गर्न आवश्यक सामाग्री निर्माणका लागि क्रसिङ मेसिन पनि प्राधिकरण मार्फत सञ्चालन गरिने बताइएको छ । यस संस्थालाई स्वायत्त संस्थाका रुपमा विकास गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्ने तयारी भईरहेको उपमहानगरपालिकाले जनाएको छ । प्राधिकरणमा एक जना सिइओ नियुक्त गरिने छ । साथै केही इन्जिनियरहरु तथा अन्य कर्मचारीहरु समेत राखिने छ । श्रमिकको आपूर्ति प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगारहरुबाट समेत हुने बताइएको छ ।

आगामी आर्थिक वर्ष प्राधिकरण मार्फत एउटा वडामा कम्तिमा ३ किलोमिटर सडक कालोपत्रे गरिने छ । पहिलो आर्थिक बर्ष उपमहानगरपालिकाभित्र कम्तिमा ६० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति गरिने दावी उपमहानगरले गरेको छ । प्राधिकरण सञ्चालनका लागि आगामी आर्थिक बर्षका लागि कम्तिमा १८ करोड बजेट विनियोजन गरिने तयारी भईरहेको बताइन्छ । यो बजेट व्यवस्थापन गर्दा सडक पुर्वाधार निर्माण तर्फ वडालाई दिइने बजेट सबै कटौति हुने छ । नगर प्रमुखको तजविजमा प्राधिकरण सञ्चालन हुने तयारी भएको एक वडाध्यक्षले बताएका छन् । यद्यपि उपमहानगरपालिकाले भने वडा अन्तर्गतका सडक कालोपत्रे गर्दा सम्बन्धित वडाध्यक्षको सिफारीसमा मात्र गरिने छ ।

उपमहानगरपालिकाले तयार पारेको सडक गुरुयोजनाअनुसार उपमहानगरपालिकाभित्र कम्तिमा ९ सय किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ । अहिलेको कामका आधारमा त्यो ५० बर्षमा मात्रै सम्भव छ । गुरुयोजनामा सडकलाई ४ वर्गमा वर्गीकरण गरिएको छ । नगर सडकका चौडाइ कम्तिमा ८ मिटरदेखि १२ मिटर सम्म हुने छन् । यस अघिनै टिप्पर लगायतका भारी मेसिन औजार खरिद गर्न थालेको उपमहानगरपालिकाले प्राधिकरणका नाममा क्रसर उद्योग समेत आफैले सञ्चालनको तयारी गरेपछि यस विषयमा व्यापक वहश समेत सुरु भएको छ । प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ती देखि कर्मचारी भर्नाका सम्बन्धमा पनि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । केहि वडाध्यक्षहरुले यसलाइ अब उपमहानगरपालिका कम्पनीमा जानथालेको अभिव्यक्ति समेत दिएका छन् । ‘यसले वडाको अधिकार कटौति गर्न खोजिएको छ, सबै काम उपमहानगरपालिकाले गर्नेहो भने वडाध्यक्षले आफ्ना वडावासीका माग सम्बोधन गर्न असहज हुने छ’–एक जना वडाध्यक्षले भने, सिंहदरबारको शक्ति फेरी सिंहतिरै फर्कन थालेको छ ।

प्राप्त जानकारीअनुसार अघिल्लो आर्थिक बर्ष १ करोड भन्दा धेरै बजेट पाएका वडाहरुले अब ५० लाख रुपैया भन्दा पनि कम पाउने छन् । साथै प्राधिकरणलाई पनि ठेकेदारको जिम्मा लगाउने मनसाय पनि हुन सक्ने बताइन्छ । स्थानीय सरकारमा दक्ष प्राविधिक जनशक्ति नै नभएको अवस्थामा प्राधिकरण सञ्चालन पनि ठुलो चुनौति हुन सक्ने पनि नगरबासीहरुले बताएका छन् । साथै आफैले गरेको काम आफैले अनुगमन गर्ने अवस्थाले विकास निर्माणको गुणस्तरमा पनि डुक्क हुन नसकिने पनि बताइन्छ । यद्यपि प्राधिकरण गठन प्रक्रियाले अझै अन्तिम रुप लिएको छैन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस