२०७९ माघ २४, मंगलबार

प्रदेश ५ सरकारद्वारा ३६ अर्ब ४१ करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित !)

असार ०१, २०७६  | ६८८ पटक पढिएको

१ असार, बुटवल / प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा बैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको बजेट थियो ।

चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख – अर्थात् ३६.९४ प्रतिशत र पूँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदानतर्फ एक अर्ब ३८ करोड ९८ लाख छ । वित्तीय समानीकरण अनुदानतर्फ ५० करोड, समपूरक अनुदानतर्फ एक अर्ब ५० करोड र विशेष अनुदानतर्फ एक अर्ब गरी कूल ४ अर्ब ३८ करोड ९८ लाख रुपैयाँ छुट्टाइएको छ ।

बजेटकोस्रोतमध्ये आन्तरिक राजस्व ४ अर्ब ५९ करोड ४० लाख उठाउने लक्ष्य लिइउको छ । राजस्व बाँडफाँटवाट ९ अर्व ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड, वित्तीय समानीकरण अनुदानवाट ७ अर्व ५४ करोड १ लाख, सशर्त अनुदानवाट ७ अर्व ७७ करोड ४ लाख, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानवाट ५० करोड रहने बजेटमा अनुमान गरिएको छ । चालू आर्थिक वर्षको वचत रकमवाट रु. ५ अर्ब रहनेछ ।

प्राथमिकतामा परेका सशर्त अनुदानतर्फका आयोजनाहरु कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालू आर्थिक वर्षमा झै नेपाल सरकारसँग अपुग श्रोतको माग गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ । गत वर्ष ५० लाख रुपैयाँका सडक योजना दिइएको थियो ।

बजेटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लागि ६१ करोड २७ लाख ६९ हजार, प्रदेश सभाका लागि ३३ करोड १७ लाख ७४ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि १५ करोड ९६ लाख २ हजार, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ८८ करोड ८१ लाख ११ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि ४ अर्ब ४६ करोड ६३ लाख ८९ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ८० करोड ८० लाख ६६ हजार,भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १५ अर्ब ८४ करोड १९ लाख ९ हजार रुपैयाँ बजेट छुट्टाइएको छ ।

भौतिक मन्त्रालयको बजेट कूल बजेटको ४३ प्रतिशत रहेको छ । सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब ३९ करोड २२ लाख २६ हजार बजेट छुट्टाइएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयलाई २ करोड २५ लाख २७ हजार, अर्थ विविध शिर्षकमा ३ अर्ब २७ करोड ३० लाख २७ हजार र स्थानीय तहका लागि ३ अर्ब ६२ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

दाङको विभिन्न क्षेत्रमा बजेट

दाङको दामोदर मार्गलाई वैकल्पिक राजमार्ग बनाइने
प्रदेश पाँचले दाङको दामोदर मार्गलाई वैकल्पिक राजमार्ग निर्माणका लागि बजेट बिनियोजन गरेको छ । दाङ उपत्यकाको मध्यभागमा रहेको दामोदर मार्गलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने नीति अनुरुप बजेटको व्यवस्था मिलाएको प्रदेशका मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले बताए ।

उनले विकासका दृष्टिले पछि परेको मर्चवार क्षेत्रमा चालू वर्षमा निर्माणाधिन सडकलाई प्राथमिकता दिदै रु १० करोड विनियोजन गरेको बताए ।

यस्तै निर्माणाधिन विजौरी हाडिमे छिल्लिकोट सडक, बनगाई–मोतिपुर–भलुवाड सडकलाई निरन्तरता दिएको उनले बताए ।

त्यस्तै प्रदेशभित्र हाल सञ्‍चालनमा रहेका विभिन्‍न ९६ वटा प्रदेशस्तरीय सडकहरुको निर्माण र स्तरोन्‍नति गरिनेछ । सोका लागि ४८ करोड छुट्‍याएको उनले बताए ।

स्थानीय तहका केन्द्रहरुलाई प्रदेशका मुख्य सडक सञ्‍जालहरुसँग जोड्ने गरी स्थानीय तह र प्रदेश सरकारको बीचमा प्रभावकारी सम्पर्क स्थापना गर्न विभिन्‍न २९ वटा स्थानीय तह पहुँचमार्गहरुको निर्माण तथा स्तरोन्नतिका लागि रु. ७५ करोड विनियोजन गरेको बताए ।

नेपाल भारत सीमादेखि प्रमुख राजमार्गसम्म जोड्ने सीमाक्षेत्रका सडकहरुलाई प्राथमिकतामा राखिएको छ । यस्ता १४ वटा सीमाक्षेत्रका सडकहरुको कार्यान्वयनका लागि २५ करोड ५० लाख विनियोजन गरिएको छ ।

राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालमा रुपान्तरण गरिने
दाङको राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालका रुपमा रुपान्तरण गरिने भएको छ ।

प्रदेश नं. ५ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालमा रुपान्तरण गर्नका लागि बजेट बिनियोजना गरेको बताए ।

जटिल रोगको उपचार प्रदेशभित्रै उपलब्ध गराउन पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि बजेट विनियोजन गरेको उनको भनाई थियो ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालमा एनआईसियु सेवा सहितको पेडियाट्रिक विशिष्टिकृत सेवा बिस्तार गरिने छ, भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सि.टि.स्क्यान मेशिन सहितको न्यूरो तथा अर्थोसम्बन्धी विशिष्टिकृत सेवा प्रदान गर्नका लागि २५ करोड ६३ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

त्यस्तै प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर सहितको एम्वुलेन्स सेवा प्रदान गरिनेछ । एम्बुलेन्स सेवाको सहज उपलब्धताका लागि संचालनमा आएका एम्बुलेन्सको ट्रयाकिङ् गरिनेछ ।

जोखिममा रहेका गर्भवती, सुत्केरी आमाहरु र दुर्घटनाका घाइतेलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न स्थानीय तहसँग सहकार्य गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक एम्बुलेन्सको व्यवस्था मिलाईनेछ ।

घोराही र राप्तीमा रंगशाला निर्माण गरिने
दाङको राप्ती गाउँपालिकामा अन्तराष्ट्रिय स्तरको रंंगशाला निर्माण हुने भएको छ ।

प्रदेश नं. ५ को आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले राप्तीमा रंगशाला निर्माण गर्न डिपिआर निर्माण र जग्गा संरक्षणका लागि बजेट विनियोजन गरेको बताए ।

साथै घोराहीमा नेत्रलाल अभागी रंगशाला निर्माणका लागि पनि बजेट बिनियोजन गरिएको छ ।

 ।

(पूर्णपाठ)

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस