२०७९ माघ १७, मंगलबार

दङ्गीशरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन, १ सय ९१ जनाले पाए रोजगारी

असार ०१, २०७६  | ८०७ पटक पढिएको

– दिप्तीशीखा चौधरी
१ असार, दंगीशरण / दङ्गीशरण गाउँपालिकाले आइतबार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेको छ । गाउँपालिकाले ७ वटै वडाबाट सिफारिस भई आएका आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान खर्च गर्नेगरी आयोजना छनौट गरेको छ । यस आर्थिक वर्षमा गाउँपालिकाले एक सय ९१ जनालाई रोजगारी दिन लागेको दङ्गीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा काममा जाने श्रमिकहरुका लागि हेल्मेट, पञ्जा, मास्क, टिसर्ट लगायतका पोशाकहरु समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भागीराम चौधरीले अब हरेक जनताको घरमा रोजगारको लागि अवसर आउने बताए । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा रोजगारीको लागि प्राथमिकताका आधारमा अवर दिइने बताउँदै उनले भनेको बेला काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचीबाट हटाइने बताए । जनताको प्रत्यक्ष सहभागितामा हुन लागेको कार्यक्रम गुणस्तरीय हुनुपर्ने धारणा राख्दै अध्यक्ष चौधरीले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य भएको भन्दै महिलाले कमाएको रकम परिवारकै हितमा खर्च हुने बताइन् । महिलाहरु व्यवहारिक एवं काममा प्रतिबद्ध हुने भन्दै उपाध्यक्ष खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्नमा मद्दत पुग्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए, भने कार्यक्रमको सहजीकरण रोजगार संयोजक सन्तोष गिरीले गरेका थिए । रोजगार संयोजक सन्तोष गिरीका अनुसार दङ्गीशरण गाउँपालिकाका ७ वटा वडाबाट तीन हजार आठ सय ६२ जनाले बेरोजगारको फाराम भरेका थिए । गाउँपालिकाले सडक, सार्वजनिक भवन निर्माण तथा मर्मत, योग साधना भवन निर्माण, पार्क निर्माण लगायतका योजना छनौट गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि यस आर्थिक वर्षमा दङ्गीशरण गाउँपालिकामा १८ लाख रुपैँया विनियोजन गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस