२०७९ माघ २१, शनिबार

‘किसानको उन्नति बिना देशको विकास हुन नसक्ने’

जेठ ३२, २०७६  | ४९७ पटक पढिएको

३२ जेठ, स्याङजा / भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताएकी छिन् ।

वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताइन् ।

माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन पनि किसानहरुलाई उनले आग्रह गरिन् । नगरपालिकाका दुई वडाका ढिकिडाँडा, तमादि र अमलडाँडामा एक हजार रोपनी जमीनमा सामूहिक रुपमा गर्न लागिएको कागती खेतीलाई एउटा नमूना मोडलका रुपमा देशभर विस्तार गर्न सकिने मन्त्री अर्यालको भनाइ छ ।

कागती खेती अभियानको नेतृत्व गरिरहेका भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले पहाडबाट बसाइ सरेर तराइका साथै बजार क्षेत्र र रोजगारीका लागि विदेश जानेको सङ्ख्या बढेकाले खेती गर्ने जनशक्तिको अभावमा जमीन बाँझो हुँदै जाने क्रम बढेकाले सो अभियान सञ्चालन गरेको बताए ।

तीन वर्षसम्म अन्तरबालीका रुपमा कागती खेतीभित्र तरकारी खेतीसमेत लागाइने छ । वडा नं १४ का वडा सदस्य एवं स्थानीय गोमप्रसाद लुइँटेलले बिरुवा रोप्नका लागि रुख काट्नुका साथै जमीन मिलाउने काम भइरहेको बताए । लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस