२०७९ माघ २६, बिहीबार

२५ घरधुरीलाई टिनका पाता वितरण

जेठ ३१, २०७६  | १०३३ पटक पढिएको

– साक्षी खबर
३१ जेठ, दाङ / गरिव तथा विपन्न परिवारका लागि वर्षेनी टिनका पाता वितरण गर्दै आईरहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले विगतका वर्षहरु झैँ यो वर्षपनि टिनका पातहरु वितरण गरेको छ ।

शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को प्राङ्गणमा एक कार्यक्रम गरि उक्त टिनका पाताहरु वितरण गरिएको हो । साविकका वडाहरु १, ३, ४, ५ र ७ का करिव २५ जना खरका छाना भएका विपन्न वर्गहरुलाई तुलसीपुर उपमहानगरपालिकाकि उप–मेयर एवम् कार्यक्रमकि प्रमुख अतिथि माया आचार्यको हातबाट उक्त टिनका पाताहरु वितरण गरिएको थियो । खरका छाना मुक्त नगर बनाउने लक्ष्यले तुलसीपुर उपमहानगरपालिकाले थालेको यो अभियानबाट अहिलेसम्म करिव ८० प्रतिशत खरका छाना भएका घरहरुमा टिन वितरण गरिएको र चाडैँ नै सय प्रतिशत पुर्याउने प्रतिबद्धता जनाउदै प्रमुख अतिथि आचार्यले गरिवि उन्मुलन गर्दै समुन्नत समाज बनाउनका लागी उपमहानगरपालिकाले विभिन्न अवधारणा ल्याएको बताइन् ।

कार्यक्रमका सभापति एवम् वडा अध्यक्ष माधव वलीले स्थानीय सरकारले जनताको हितका लागी विभिन्न आयमुलक कामहरु मात्रै होईन उनिहरुको अवस्थालाई मधेयनजर गरि हरेक घरका टिनका छाना बनाउनका लागी प्रत्येक वर्ष टिन वितरण गरिरहेको र आउने वर्षमा एकमुस्ट जति खरका छाना छन् ति सबैलाई टिन वितरण गरि खरको छानो मुक्त पहिलो वडा बनाउन आफुले गृहकार्य गरिरहेको बताए । सोहि कार्यक्रममा बोल्दै वडा सदस्य धन बहादुर बस्नेतले पहिलो वर्ष वितरण गरिएका टिनहरु अहिलेसम्म कोहिले नलगाएको पाईएकाले उक्त टिन फिर्ता ल्याई अरु व्यक्तिलाई वितरण गरिएको कुरा अवगत गराउदै यहीँ असारको १५ गतेसम्म टिन नलगाएको अनुगमन समितिले फेला पार्यो भने टिन फिर्ता ल्याई अरु घरका छाना भएका व्यक्तिलाई वितरण गरिने भन्दै सबैलाई असार १५ गतेसम्म टिन लगाईसक्न अनुरोध गरे ।

कार्यक्रममा समाजसेवि शिव कुमार थापा, वडा सदस्य शितल प्रसाद बुढा मगर लगायतले आफ्ना धारणा राखेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वलीको सभापतित्व एवम् युवा नेता मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम वडा सदस्य रमादेवी नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको थियो, भने कार्यक्रमको सञ्चालन वडा नं. १८ का कम्प्युटर अपरेटर कपिल लामिछानेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस