२०७९ माघ १३, शुक्रबार

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोराही र तुलसीपुरमा सुरु’

जेठ ३१, २०७६  | १२१९ पटक पढिएको

सरसफाई, वृक्षारोपण र सडक निर्माणलाई प्राथमिकता

– सुमन के.सी.
३१ जेठ, दाङ / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ की अञ्जली नेपाली १८ वर्षकी भइन् । १२ कक्षाको परीक्षा दिएर बसेकी उनले सरकारले रोजगार दिन्छ भनेर वडामा गएर फाराम भरिन् । हातमा झाडु अनि टाउकोमा हेल्मेटु समातेर उनी सडक सफा गर्ने तरखर गर्दै थिइन् । ‘जस्तो पनि कामै त हो नि, के को लाज हुनु ?’ उनले भनिन् । वडा नम्वर १४ का रामबहादुर रोका (५५ वर्ष) पनि काममा लागि निकै उत्सुक देखिन्थे । उनले सरकारले जनतालाई काम दिएकोमा निकै खुसी व्यक्त गरे ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका १८ मनिकापुरकी खिमा वली अहिले खुसी छिन् । उनका घरमा ४ जनाको परिवार छन् । उनको श्रीमानले घर पेन्टिङ काम गर्छन् । एकजनाको कमाइले परिवार पाल्न पनि धौ धौ हुन्छ । सरकारले रोजगार दिएको भन्दै उनी पनि काममा लागेकी छिन् । ‘घरमा बसेर मात्रै के हुन्छ र ? वाहिर पनि त काम गर्नुपर्यो’ उनले भनिन् ।

बेरोजगारहरुलाई रोजगार दिने उद्देश्यका साथमा सरकारले घोषणा गरेको रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले यो वर्ष ६ सय जनालाई रोजगार दिने योजना गरिरहेको छ । तुलसीपुरका विभिन्न योजनाहरुमा उनीहरुलाई प्रयोग गरिने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

रोजगारका लागि ११ हजारले फाराम भरेको भएपनि पहिलो चरणमा ६ सय जनालाई रोजगार प्रदान गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका रोजगार संयोजक भागवत घिमिरेले जानकारी दिए । उनका अनुसार उनीहरुलाई प्रत्येक वडाका विभिन्न खाले काममा खटाइने छ । उपमहानगरपालिकाले अहिलेका लागि छिल्लीकोट मन्दिर प्रवेशद्वारमा सिडि निर्माण, चमेरे गुफा प्रवेश सिडी निर्माण, राप्ती शान्ति उद्यानमा वृक्षारोपण, तुलसीपुर बहुप्राविधिक शिक्षालय परिसरमा जैविक वार निर्माण, बजार क्षेत्र सरसफाई तथा वृक्षारोपण, गौलौरा सिँचाई कुलो निर्माण, तुलसीपुर अटो भिलेज तटबन्ध निर्माण, बजार व्यवस्थापन, बजार क्षेत्रलाई प्लाष्टिक क्षेत्र मुक्त अभियान लगायतका काममा सहभागी गराइने भएको छ ।

कामदारहरुले दैनिक ८ घण्टा काम गरेवापत ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने छन् । रोजगार कार्यक्रम सञ्चालनका लागि तुलसीपुरमा एक करोड बजेट विनियोजन भएको थियो । उपमहानगरपालिकाले १९ वटै वडाका २३ वटा योजना छनोट गरेको छ । साथै बिहीबार एक कार्यक्रम गरि कामदारहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई एक महिनाका लागि रोजगार प्रदान गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले श्रम र प्रविधिको प्रयोगबाट विकास सम्भव हुने बताए । उनले पूँजि निर्माणका लागि श्रमको आवश्यकता हुने कुरामा जोड दिए । काम सानो ठूलो नहुने भएकाले जस्तोसुकै काम गर्न पनि अग्रसर हुनुपर्ने उनको भनाई थियो । ‘जहाज चलाउने पनि श्रम हो सरसफाई गर्ने पनि श्रम हो हामीले यसमा विशेष ध्यान दिनुपर्दछ’ नगर प्रमु्ख पाण्डेको भनाई थियो । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले श्रमलाई सम्मान गरे मात्रै मानिसको जीवन समृद्ध हुने बताए । सरकारले जनतालाई रोजगार सृजना गर्नका लागि कार्यक्रम अगाडि सारेको भन्दै यसलाई सदुपयोग गर्न समेत उनले आग्रह गरे ।

नेपाली काँग्रेसका सुरेन्द्र बहादुर खड्काले पारदर्शी ढँगले कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा होसियार वनाए । कार्यक्रममा उपप्रमुख माया शर्मा, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खिमराज वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत लगायतले वोलेको थिए ।

घोराहीमा पनि सुरु

घोराही उप–महानगरपािलका वडा नं.१४ बाट कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रमको नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सिता न्यौपाने, अध्यक्ष शक्तिराम डाँगीले संयुक्त रुपमा सुभारम्भ गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले श्रमको सम्मान सबैले गरे संमृद्ध नेपाल निर्माणको महाअभियानमा जुट्न आग्रह गरे ।

कार्यक्रममा रोजगार संयोजक शरद पाण्डेले घोराही उपमहानगरले ४ सय ७५ जनालाई रोजगार दिने जानकारी गराए । दैनिक ७ घण्टा काम गर्नुपर्ने र उपमहानगरले त्यसका लागि ३६ वटा बिभिन्न योजनाहरु छनोट गरेको छ । ४० हजार देखी ५० लाख सम्मका योजनाहरुमा ति कामदारहरु जोडिने छ भने दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउने छन् ।

उक्त बजेटको ७० लाख कामदारको ज्याला, २५ लाख रुपैयाँ औजारहरु खरिद, ४ लाख आयोजना सुपरभाईजर तथा व्यवस्थापनमा खर्च हुनेछ । यसैविच वडा नम्बर २ पनि आजै प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस