२०७९ माघ १७, मंगलबार

जिर्ण सिद्धबाबा गोरखनाथको मन्दिर पुनःनिर्माण गरिदैँ

जेठ ३०, २०७६  | १११३ पटक पढिएको

– दिप्तीशीखा चौधरी
३० जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका वडा नं.७ श्रीगाउँमा जीर्ण अवस्थामा रहेको एक पूरानो मन्दिरको पुनःनिर्माण कार्य हुँदैछ । वि.सं. १८४७ मा निर्माण भएको सिद्धबाबा गोरखनाथको मन्दिर जिर्ण अवस्थामा पुगेपछि पुनः निर्माण कार्यलाई तिव्रता दिईएको हो । पुराना कलाकृति खोपिएको यो मन्दिर भित्र शिवलिंग, शिव भगवानको मुर्ति देख्न सकिन्छ ।

पश्चिम दिशामा भुवनेश्वरनाथको मन्दिर र शिद्ध भवन्तनाथको मन्दिर अवस्थित छ भने उत्तर तर्फ सानो बालभैरवको मन्दिर अवस्थित छ । पहिले यो मन्दिरमा योगी थरका पुजारीहरु बस्ने गरेको स्थानीयको भनाई छ । द्वन्द्वकालमा उनीहरु सबै जना मन्दिर छोडेर गएपछि मन्दिरको अवस्था जिर्ण बन्दै गएको हो ।

 केहि वर्ष अगाडि हरेक चाडपर्वमा पूजा गर्ने तिर्थालुहरुको यहाँ घुईचो लाग्ने गर्दथ्यो । यस ठाउँमा मन्दिरको नाममा यहि एउटा मन्दिर रहेको स्थानीयहरु बताउँछन् । चार कट्ठा क्षेत्रफलमा अवस्थित यो मन्दिरमा ऐतिहासीक इनार छ जुन इनारबाट वडा न.७ का रजपल, बोकटि गरी चार वटा गाउँका स्थानीयले पानी खाने गर्दथे । अहिले संरक्षणको अभावमा इनारको पानी दुषित र इनार जिर्ण अवस्थामा देख्न सकिन्छ । जिर्ण अवस्थामा रहेको यो मन्दिर अहिले पूरातत्व विभागको १५ लाखको लागतमा पुरानै शैलीमा निर्माण तथा मर्मत कार्य गरिदैँछ ।

यस्तै मन्दिरको ब्यवस्थापनका लागि वडाबाट ८ कोठे ब्रह्मकुमारी विश्व बिद्यालयको भवन निर्माणाधिन अवस्थामा छ भने मन्दिर छेउमा वडाको बजेट दुई लाख पचास हजारबाट सिद्धबाबा मन्दिर परिसरमा प्रतीक्षालय बन्ने प्रक्रियामा रहेको वडा अध्यक्ष एंव गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीले जानकारी दिए । अध्यक्ष वलीका अनुसार गत बर्ष वडाको दुई लाख पचास हजार बजेटबाट मन्दिर संरक्षणका लागि मन्दिर वरीपरी तार जाली लगाईएको थियो ।

मन्दिरको पुनःनिर्माण कार्य ९० प्रतिशत पूरा भएको र पुनःनिर्माण पश्चात यस स्थानलाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकसित गर्दै लैजाने अध्यक्ष वलीले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस