२०७९ माघ २१, शनिबार

आयुर्वेद औषधालयमा औषधीको अभाव

जेठ ३०, २०७६  | ७९५ पटक पढिएको

– सुमन केसी
३० जेठ, तुलसीपुर (दाङ) / तुलसीपुर ९ दोघरेमा रहेको राप्ती आयुर्वेद अस्पताल केही समय पहिले स्तरोन्नती भई चिकित्सालय भयो । तर अस्पातलको बढुवा भएपनि प्राप्त औषधी र अपकरण नहुँदा बिरामीहरुले अस्पतालमा डाक्टरलाई चेक गराउने औषधी तथा ल्यावका लागि बाहिर जानु पर्ने बाध्यता छ । न अस्पतालमा बिरामीहरु भर्ना गर्नको लागि बेड छ, न प्राप्त मात्रामा औषधी पाईन्छ । अस्पतालका लागि विभागले पठाएको ८ कार्टुन औषधी गाडी भाडा तिर्न नसक्दा बुटवलमा थन्कीएको छ । करिब २ महिनादेखि विभागले पठाएको ८ कार्टुन बुटवल मै थन्किए पछि औषधीको समस्या भएको छ । नामका लागि मात्रै अस्पतालको परिचय वदलिएको छ । काम भने उस्तै रहेको छ ।

शान्तिनगर गाउँपालिका ५ रगैजाका ठाकुरप्रसाद रावत उपचारको लागि राप्ती आयुर्वेद चिकित्सालय आए, डाक्टर धर्मोद ठाकुरलाई आफ्नो समस्याको बारेमा जानकारी गराए । रावतको समस्याको बारेमा बुझेपछि डा. ठाकुरले रावतलाई ५ किसिमको औषधी पर्चामा लेखिदिए । रावतले औषधीको लागि औषधी पाईने ठाउँमा गए । उनले ५ किसिममध्ये ३ किसिमका मात्र औषधी पाए । बाँकी २ किसिमको औषधी बाहिर किन्नु पर्नेभयो । चिकित्सालयमा औषधीको अभावका कारण आयुर्वेद औषधी खरिद गर्न बिरामीहरुलाई समस्या भएको हो ।

त्यस्तै तुलसीपुर ९ की कमला सापकोटा पनि चिकित्सालयमा चेकजाँच गराउन गईन् । उनीलाई पनि ४ प्रकारको औषधी पर्चामा लेखियो । तर ३ थरिको औषधी पाइनन् । दैनिक १ सयभन्दा बढि बिरामीहरु आउने चिकित्सालयले निःशुल्क औषधी वितरण पनि गर्ने गर्छ । तर औषधी अभावका कारण बिरामीहरु मर्कामा परेका छन् । करिब २ महिनादेखि विभागले पठाएको ८ कार्टुन औषधी गाडिको भाडा तिर्न नसक्दा बुटवल मै थन्किएको उक्त चिकित्सालयका बैद्य मन्जीतकुमार यादवले बताइन् ।

‘भाडाको सहयोगका लागि तुलसीपुर उपमहानगरपालिकासँग गुहार मागेको तर सुनुवाई अझै हुन सकेको छैन’ यादवले भने । गत बर्षको मंसिरदेखि चिकित्सालयमा ल्याव सेवा सुरु गरिएको भएपनि केमिकल र भौतिक संरचनाको अभावमा समस्या भएको ल्याब असिष्टेन महेश वलीले बताए । उक्त चिकित्सालयमा ३५ वटा विभिन्न रोगको ल्याब टेष्ट गर्न सकिन्छ । चिकित्सक धर्मोद कुमार ठाकुरले भने पछिल्ला दिनमा सेवामा सुधार हँुदै गएको बताए । आर्थिक र जनशक्तिको अभावका कारण समस्या भने थपिदै गएको उनको भनाई छ । डाक्टर ठाकुरका अनुसार केही दिन पहिले तुलसीपुर उपमहानगरपालिकाले करिब १ हप्ता सम्मलाई पुग्ने औषधी उपलब्ध गराएको भएता पनि बिरामीहरुको संख्या बढ्दै गएमा त्यो पनि चाडै सकिने बताए । २००६ सालमा आयुर्बेद केन्द्रको रुपमा स्थापना भएको हालको चिकित्सालयमा चिकित्सक करारमा १ कविराज, १ बैद्य, १ लेखापाल, १ ल्याब टेक्नीसियन कार्यरत छन् ।

स्थानीय तह मातहतमा रहेको चिकित्साललाई तुलसीपुर उपमहानगरपालिकाले बजेटको आश्वसान भने दिदै आएको छ । तर पूरा भएको छैन निमित्त कार्यालय प्रमुख डाक्टर आश्मा केसीले बताए । अस्पताल नगरपालिकाको मातहतमा गएपछि हरेक कुराको लागि नगरपालिकामा जानु पर्ने भएकाले समस्या भएको केसीको भनाई छ । यता तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख गोकर्ण दाहालले उक्त अस्पतालको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताए । तर अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले त्यहाँ प्रदेश सरकारले नै औषधी पुर्याउनु पर्ने उनको भनाई छ । त्यस्तै अस्पातलमा औषधी अभाव हुनुमा कममात्रमा बजेट आउनुको कारण भएको उनले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस