२०७९ माघ २६, बिहीबार

सिर्जना बालबाटिकाको रजत महोत्सव

फागुन १५, २०७५  | १४९४ पटक पढिएको

शिक्षालाई उत्पादन प्रणालीसंग जोड्नुपर्छ – सांसद डांँगी

उदिराम चौधरी

तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको सिर्जना बालबाटिका ईंग्लिस बोर्डिङ स्कुलले २५ वर्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सवको दियो बाली महोत्सवको उद्घाटन गरेको छ । २०५० सालमा ग्रामिण स्थानमा स्थापना भएको विद्यालयले आयोजना गरेको रजत महोत्सवको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि डाँगीले शुभकामना मन्तव्य व्यक्त गर्दै हरेक विद्यालयमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न विद्यालयले विशेष भूमिका खेल्नुपर्ने सुझाव दिए ।
महोत्सवमा उद्घाटन मन्तव्य दिंदै डाँगीले अहिले सरकारले संघीय शिक्षा नीति, प्रदेश शिक्षा नीति तथा स्थानीय तह शिक्षा नीति ल्याउने अभ्यासमा रहेको भन्दै नयाँ शिक्षा नीतिले निजी विद्यालयहरुलाई पनि सम्बोधन गर्ने बताए । ‘अहिले मुलुकमा तीन पाङ्ग्रे अर्थतन्त्र चलिरहेको छ त्यसमा बैदेशिक सहयोग, नेपाल सरकारको लगानी तथा निजी क्षेत्रको लगानी अपरीहार्य छ’–सांसद डाँगीले भने । रजत महोत्सव मनाउनु भनेको शिक्षाको एउटा तह पार गरेको भन्दै प्रमुख अतिथि डाँगीले अब संस्कारयुक्त र विद्यार्थीलाई विवेकवान बनाउने शिक्षाको आवश्यकता रहेको बताए । साथै सम्बोधनका क्रममा उनले वर्तमान राष्ट्रिय शिक्षा नीतिमा कुनै नयाँ सोंच नभएको भन्दै शिक्षालाई उत्पादनसँग जोड्नु पर्ने सुझाव दिए । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले अध्यात्मिकताभित्र पनि वैज्ञानिकता भएको भन्दै त्यस्तो शिक्षाको पनि अनुशरण गर्न सुझाव दिए साथै उनले सामुदायिक विद्यालय र संस्थागत विद्यालय बीचको दूरीलाई कम गर्नका लागि श्रमलाई सम्मान गर्ने प्राविधिक शिक्षा प्रदान गर्न तर्फ लाग्न आग्रह गरे ।

रजत महोत्सवका विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका सदस्य श्रीधर पोखरेलले यस बोर्डिङले स्थापना कालदेखि दक्ष र सुसंस्कृत विद्यार्थी उत्पादन गरेको र आगामी दिनहरुमा मेरो आवश्यकता परे सहयोग गर्ने कुरा व्यक्त गरे । त्यसैगरी जनता विद्यापीठ बिजौरीमा प्राचार्य माधव अधिकारीले यस विद्यालयमा अध्ययन गरेको आफ्नो छोरीले जिल्लामा दोस्रो स्थान ल्याएकोमा आफु भावुक बनेको र अझ प्रगति गर्ने र सम्पूर्ण विद्यार्थीहरुको प्रोफाइल तयार गर्न सुझाव दिए । प्याव्सनका केन्द्रीय सदस्य लम्बोदर लामिछानेले सरकारले ल्याउन थालेको सरकारी र निजी विद्यालयबिच विभेदकारी नीति ल्याएको र विद्यालयलाई हेर्ने आँखा एउटै हुनु पर्ने कुरा व्यक्त गरे । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वलीले आफुले यही स्कुलमा पढेको र दण्डहिनता त्यागी मायालु वातावरणमा शिक्षा प्रदान गरेको साथै दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकोमा विद्यालय परिवारलाई शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा विद्यार्थीहरुले शिक्षिका पद्मा पौडेलद्वारा लिखित वृद्धाश्रम नाटक प्रस्तुत गरेर अभिभावकहरु तथा अतिथिहरुलाई भावविहल बनाएका थिए । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका गीत, नृत्य, नाटक लगायतका साँस्कृतिक प्रस्तुतिहरु देखाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विषमको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अशोककुमार पोख्रेलले विद्यालयको वर्तमान अवस्था र भावि कार्ययोजनाका विषयमा जानकारी गराएका थिए । सो अवसरमा स्रोत व्यक्ति कविराज डाँगी, उद्योग वाणिज्य संघ बिजौरीका मुकेश वली, रेडक्रसका विश्वराज पोख्रेल, शिक्षक अभिभावक संघका डिल्ली के.सी., प्याव्सनका जिल्ला सदस्य विश्वमणि देवकोटा, गंगा पन्थी, प्याव्सन नगरप्रमुख गिरीराज डाँगी, न्यु स्टारका प्रिन्सिपल शरण जिएम, डम्बर बस्नेत, नदन अर्याल, अरुण अर्याल, पूर्व शिक्षक गणेश पार्धे, पूर्व विद्यार्थी खुमबहादुर डाँगी, ईश्वर चौधरी र प्रतीक अर्याल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा विद्यालयमा लगातार १५ बर्षदेखि काम गरीरहेका शिक्षक यज्ञमूर्ति गौतम, मदनकुमार आचार्य, पूर्व संस्थापक ऋषिराज शर्मा, शिव थापा, पद्मा पौडेल, मरणोपरान्त स्वर्गीय पिताम्बर आचार्य, २५ वर्ष लगातार प्रिन्सिपलका काम गरेका अशोककुमार पोख्रेललाई सम्मान गरिएको थियो भने यस वर्ष सर्वाेत्कृष्ट काम गरे वापत शिक्षक प्रमोद नेपालीलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी गणेश विषमबाट स्थापित रेवती देवी विद्या पुरस्कार २०७४ को एसइइमा नेपालीमा बढी नम्बर ल्याउने स्वीकृति शर्मा र शान्ता स्मृति पुरस्कारद्वारा सामाजिक विषयमा बढी नम्बर ल्याउने स्वीकृति शर्मालाई संस्थापक वाणगंगा न.पा. ८ का स्वार्गीय पिताम्बर आचार्य र संरक्षक पद्मा पौडेलबाट पुरस्कार प्रदान गरिएको थियो । संस्थापक प्रद्युम्न पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मदन कुमार आचार्य र शिक्षिका पद्मा पौडेलले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस