२०७९ माघ २१, शनिबार

स्मार्ट कृषिगाउँ कार्यक्रम, स्यानीगाउँमा बसन्ती….

जेठ २९, २०७६  | १३१३ पटक पढिएको

राकेश बस्नेत
घोराही उपमहानगरपालिका–१० स्यानीगाउँ स्थित दयाराम चौधरीको बारीमा बसन्ती मकै फसल दिने तयारीमा छ । अबको एकसातामा मकै पाक्ने तयारी गर्दै छ । धान जुगा फिजाइसकेका छन् मकैले बारीको सौन्दर्यता बढाएको छ । त्यहि बारीमा धानखेती हुने छ र अर्को बाली पनि र फेरी विभिन्न जातका तरकारी रोपिने छन् ।
सोहि गाउँकै घुटबहादुर चौधरीका बारीमा पनि लटरम्म भान्टा फलेका छन् । तितिकरेला र भिन्डिले पनि बारीको शोभा बढाएको छ । उनको परिवारको खर्चको जोहो त्यहिकै तरकारीवालीले चलेको छ । उनीहरु त नमुना किसान मात्रै हुन् । नारायणपुरको बुधौरा र स्यानीगाउँमा करिव एक सय परिवारले अहिले बेमौसमी तरकारी खेतिबाट गुजारा चलाउंदै आएका छन् । पहिले पनि तरकारी खेतीको पकेट जोन भनेर चिनिने सो क्षेत्रमा यसै बर्षदेखि प्रदेश सरकारको सहयोगमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि गाउँलेहरुको बेमौसमी तरकारी खेतीसंगै अन्नवालीको उत्पादन बृद्धि हुने अवस्था देखिएको छ ।

स्मार्ट कृषि कार्यक्रम अन्तर्गत प्रदेश सरकारले यो आर्थिक बर्षका लागि उपलब्ध गराएको ५० लाख रुपैयाँ र गाउँले किसानहरुको १० लाख रुपैयाँ बराबरको लागत सहभागितामा सो गाउँमा सिंचाइ सुविधाका लागि खेर गईरहेको सोताको पानीलाई ताल बनाइएको छ । तालमा पाइप लगाएर सिंचाइ सुविधा बारीसम्म पु¥याइएको छ । तरकारी संकलन केन्द्र निर्माणाधिन छ, त्यहि उत्पादित तरकारी संकलन गरी अन्यत्र विक्रि गर्ने सोंच किसानहरुले बनाएका छन् । टनेल खेतीको पनि अभ्यास सुरु भईसकेको छ । कस्टम हायरिङ सेन्टर पनि निर्माण गरिसकिएको छ । जहाँ कृषि यन्त्रहरु राखिने छन् । यो बर्ष आएको बजेटले १२ लाख रुपैयाले कृषि यन्त्र उपकरण खरीद गरिएको छ । अन्य बजेटले किसानहरुलाई निशुल्क विउ विजन, कृषि आधुनिकीकरण तालिम तथा माछा पोखरी पनि निर्माण भईसकेको छ ।
‘हामी स्यानीगाउँ र बुधौरालाई कृषिको पकेट एरीया बनाउनेमा आशावादी छौं, त्यसका लागि करिव एक सय घरपरिवारले गुजारामुखी कृषिलाई विस्तार गरी निर्यातमुखी कृषिको अभ्यास थालिसकेका छौं’–स्यानीगाउँ धवघाट क्षेत्र स्मार्ट कृषिगाउँ कार्यक्रम उपभोक्ता समितिका सचिव होमबहादुर सिजवाल भन्छन् । उनकै भनाइमा धोवघाट र स्यानीगाउँ गरी करिव एक सय विगाहा मौजामा स्मार्ट कृषि कार्यक्रम लागु गरिएको छ । यसमा करिव एक सय घर परिवार लाभान्वित हुने छन् । ‘कृषिलाई पुरै आधुनिकीकरण गर्नका लागि यान्त्रीकरणको अभ्यास सुरु गरीसकेका छौं’–उपभोक्ता समितिका सचिव सिजवाल भन्छन्, जसले उत्पादनमा बृद्धिसंगै लागत मुल्यमा पनि कमी आउने अपेक्षा गरेका छौं ।

प्रदेश सरकारले पाँच नम्वर प्रदेशका १२ वटै जिल्लाका प्रत्येक प्रदेश सदस्य संसदीय निर्वाचन क्षेत्रमा एक एक गाउँमा यो कार्यक्रम लागु गरेको छ । त्यस अन्तर्गत प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको निर्वाचन क्षेत्र अन्तर्गत स्यानीगाउँ धोवघाटमा यो कार्यक्रम लागु भएको हो । ‘कृषिलाई पुर्ण रुपमा व्यावसायिक बनाएर जनताको जिवनस्तर उकास्न यो कार्यक्रम ल्याएका हौं, आशा छ, केहि बर्षमै यहाँका किसानको आयश्रोत बृद्धि हुने छ’–प्रदेशसभा सदस्य डाँगीले भने । कृषिलाई पूर्णरुपमा यान्त्रीकरण र आधुनिकीकरण गर्नका लागि यो कार्यक्रम ल्याइएको भन्दै अर्को आर्थिक बर्षमा पनि यो कार्यक्रमका लागि बजेट थपिने उनले बताए । कार्यक्रमको पकेट क्षेत्रका किसानहरुले बर्षमा तीन बाली खेती गर्ने तयारी गरिरहेका छन् । धान, मकै र विभिन्न जातका बेमौसमी तरकारी खेती गर्ने सम्पूर्ण तयारी भएको छ । अर्को आर्थिक बर्षदेखि स्थानीय सरकारले सम्बन्धित तहमा लागु भएको यस कार्यक्रमलाई सहकार्य र सहयोग गर्ने नीति बनेको छ ।

किसानहरुको आयस्तर बढाइ कृषिबाट समृद्धि हासिल गर्ने अभियानमा हाम्रो निरन्तर सहयोग रहने छ’– घोराही उपमहानगर पालिका–१० का वडाध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)ले साक्षी खबर पत्रिकालाई बताए । घोराही उपमहानगरपालिकाको आसन्न नीति र कार्यक्रममा यस क्षेत्रको कृषिको समृद्धिका लागि आवश्यक योजना बनाएर थप बजेट माग गर्ने तयारी भएको पनि वडाध्यक्ष डाँगीले बताए । वडाले यसै आर्थिक बर्षदेखि आफ्नो वडामा आवाशीय र कृषि पकेट क्षेत्र छुट्टयाइ सकेकाले पनि यहाँको कृषिको सम्भावनालाई उपमहानगरपालिकाले सम्बोधन गर्ने पनि उनले बताए । साथै यस क्षेत्रमा कृषि पर्यटनको विकासमा पनि वडाको सहयोग रहने उनको भनाइ थियो । ‘कार्यक्रमसंगै जोडेर यस क्षेत्रमा ¥याफ्टिङ देखि थारु संस्कृतिको होम स्टे सञ्चालनको समेत सोच बनाएको उनले बताए । सो बस्तीमा कम्तिमा ९५ प्रतिशत थारु समुदाय बस्दै आएका छन् ।

त्यसो त स्यानीगाउँ र धोवघाट पहिलेदेखि नै बेमौसमी तरकारी खेतिका लागि प्रख्यात क्षेत्र हो । यहाँबाट दैनिक एक ट्रक तरकारी बाहिर जाने गरेको छ । कार्यक्रम लागु भएसंगै हरेक मौसममा सिंचाइको सुविधा उपलव्ध हुने अवस्थामा यो परम्परागत तरकारी खेती थप व्यावसायिक भएर जाने अपेक्षा गरिएको छ । स्यानीगाउँ पहिलेदेखि नै सेतो उखुको खेती र प्याज खेतीले प्रख्यात क्षेत्र हो । त्यसैगरी आलु, तितेकरेला, बोडि, भिन्डी, काँक्रा, सिमीलगायत विभिन्न प्रजातिका तरकारी खेती स्यानीगाउँमा गरिदै आएको छ । पछिल्लो पटक प्रदेश सरकारले थालेको यो कार्यक्रमले किसानहरुलाई थप उत्साहित समेत बनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस