२०७९ माघ २६, बिहीबार

पुनःस्थापना केन्द्रले परिवर्तन ल्याएको जीवन

फागुन १५, २०७५  | १७१६ पटक पढिएको

साक्षी खबर
दाङ तुलसीपुरका ४३ बर्षीय ओमलाल जैसी फर्निचर बनाउने राम्रा मिस्त्री हुन्, भने कुकमा पनि दख्खल राख्छन् । उनले कुनै समय आफुसंग भएको सीप प्रयोग गरेर मासिक ४० हजारसम्म पनि कमाउथे । तर जब उनी कुलतमा फसे त्यसपछि आफुले कमाएको सबै पैसा त्यसमै खर्च हुन थाल्यो । दिनभर कमाउने र त्यो पैसा साँझ रक्सी खाएर फाल्ने गर्थे । उनले बिगत एक बर्षदेखि त्यसरी नै पैसा फाल्न थालेपछि उनको घर व्यवहारमा असहज भयो र उनलाई तुलसीपुर १९ बिजौरी हाडिमेको नयाँ पाईला पुनःस्थापना केन्द्रमा राखियो ।

६ महिनासम्म सुधार गृहमा बसेपछि उनको जीवन पुनः परिवर्तन भएको छ । उनी पहिले जस्तै बिजौरीको एक फर्निचरमा काम गर्दै आएका छन् । अहिले उनले मासिक १५ हजार कमाउदै आएको समेत बताए । ‘मलाई चौबिसै घण्टा रक्सी पिउने बानी बसेको थियो’ उनले भने ‘म नसा छोड्न सक्ने अवस्थामा थिईन्, जब म ६ महिना सुधारगृहमा बसे त्यसपछि नसाको नाम पनि लिन चहान्न ।’

पुनःस्थापना केन्द्रले आफुलाई पुनर्जीवन दिएको समेत उनको भनाई छ । नियमित १३ बर्षको उमेरदेखि रक्सी खाँदै आएका जैसीलाई सुधार केन्द्रमा गएपछि ६ महिनामै परिवर्तनमा ल्यायो । ‘१३ बर्षदेखि नियमित रक्सी पिउने गरेको भए पनि एक बर्ष अघिदेखि मैले चौबिसै घण्टा रक्सि खाने गरेको थिए’ उनले भने ‘तर ६ महिनामा सुधार केन्द्रमा बसेपछि मेरो चेतनामा परिवर्तन भयो ।’ उनी मात्रै होईन्, सुधार केन्द्रमा केही प्रतिष्ठित ब्यक्तिको कुलत पनि छुटाएको छ । जिल्ला केही सरकारी कार्यालयमा काम गर्ने कर्मचारीदेखि शिक्षकसम्मको जीवनमा परिवर्तन ल्याएको छ, सुधार केन्द्रले । नाम नबताउने सर्तमा एक प्रतिष्ठित ब्यक्तिले भने ‘म कुलतमा फसेको थिए, केही महिना सुधार केन्द्रमा बसेपछि म पनि कुलतदेखि निकै टाढा रहेको छु ।’ बिजौरीको उक्त सुधार केन्द्रमा गएर जीवन बदलेकाहरुले अहिले अरुको जीवन सुधार गरिरहेका छन् । अहिले दाङ बिजौरीमा रहेको नयाँ पाईला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताए । ‘पहिले दुव्र्यसनीमा फसेकाहरु अहिले आफै लागु औषधका बारेमा चेतना फैलाउँदै आएका छन्’ उनले भने ‘दाङमा अलिहे जति पनि पुनःस्थापना केन्द्र सञ्चालनमा छन्, त्यसका प्रमुखहरु सबै पहिले दुव्यर्सनीमा फसेका ब्यक्तिहरु हुन् ।’ आफु पनि पाँच बर्ष अघि दुव्र्यसनीमा फसेको भए पनि सोही केन्द्रमै गएका कारण आफुले अहिले अरुलाई सचेतना प्रदान गरिरहेको उनले बताए ।

अहिलेसम्म उक्त पुनःस्थापना केन्द्रबाट ७ सय बढीलाई उपचार गरिएको र २ हजार भन्दा बढी परिवारलाई परामर्श दिएको कार्यकारी निर्देशक भुषालले बताए । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढिरहेको भन्दै बार्षिक डेढसय भन्दा बढीलाई उपचार गर्ने गरेको उनको भनाई छ । पछिल्लो समय ट्याब्लेट्स, गाँजा, रक्सी, ब्राउनसुगर प्रयोग गर्ने धेरै रहेको उनको भनाई छ । महिनामा त्यस्ता १०÷ १२ जना आउने गरेका छन् ।
प्राय ः १३ देखि २४ बर्ष उमेर समूहकाले गाँजा, ट्याब्लेट्स, ब्राउनसुगरमा फस्ने गरेको तथा २४ देखि माथिको उमेर समूहले रक्सीमा फस्ने गरेको उनले बताए । उनका अनुसार आफुहरुले अहिले ‘मल्टि ड्रग्स टेस्ट’बाट परीक्षण गरि उनीहरुको शारीरिक अवस्था अनुसार उपचार गर्ने गरेको बताए । उनले मनोरञ्जन, अध्यात्मिक, परामर्श, विभिन्न व्ययायमलगायत चेतनामुलक सन्देश प्रदान गर्ने गरेको बताए । ‘शुरुको एक महिना शारीरिक, अर्को दुई र तीन महिनामा चेतनामुलक कक्षा र चेकजाँच तथा तीन महिना पछि परामर्श हुन्छ ।’ उनले भने ।
अहिले आफुसँग डा. मोहन बेलबासे, डा .दोर्ण वलीले लागुऔषध दुव्र्यसनीमा फसेकाहरुलाई उपचार गर्ने गरेका छन्, भने बसन्त पुन र सुवेक्षा चौधरीले परामर्श दिने गरेको कार्यकारी निर्देशक शुरेस भुषालले बताए । अहिले उक्त केन्द्रमा ३८ जना रहेको छन् ।
साथै २०७१ सालदेखि अहिलेसम्म डेढसय जना जतिलाई निःशुल्क पनि सेवा प्रदान गर्ने गरेको उनको भनाई छ । आर्थिक अवस्था कमजोर भएका तथा सहारा बिहीनहरुलाई निःशूल्क सेवा प्रदान गर्ने गरेको उनको भनाई छ ।

अभिभावकले सचेत हुनुपर्छ
कार्यकारी निर्देशक भुषाले आफ्नो सन्तान दुव्र्यसनीमा फस्ने विषयमा सचेत हुनुपर्ने बताए । साथीहरुको लहैलहैमा लागेर फसिरहेको अवस्थामा पनि अभिभावकहरुले कुनै चासो नदिंदा त्यसले ठूलो रुप लिने गरेको उनको भनाई छ । अभिभावकले लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुको लक्षण के हुन्छ, भनेर जान्न जरुरी रहेको उनले बताए । अर्को तर्फ आमावुवाले लागुपदार्थ खाएको देखेमा पनि सन्तानहरु त्यसप्रति आकर्षित हुने भन्दै यस विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए । अहिले दाङमा यसरी लागुपदार्थ अबैद्य रुपमा बेचबिखन गर्नेहरुले सञ्जाल चलाएकाले उक्त सञ्जालमा फस्ने गरेको बताए । दुव्र्यसनी समाजका लागि ठूलो रोग भएको समेत बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस