२०७९ माघ १७, मंगलबार

अस्पतालको भौतिक विकासका लागि स्थानीय सरकारसँग छलफल

जेठ २६, २०७६  | १२५५ पटक पढिएको

२६ जेठ, तुलसीपुर / आँखा अस्पतालको विकासका लागि स्थानीय सरकारसँग छलफल भएको छ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताललाई दीर्घकालिन योजना मुताविक थप विशेषज्ञ सेवा सहितको आँखा उपचार सेवालाई बढाई विशिष्टिकृत आँखा अस्पतालको रुपमा विकास गर्नको लागि अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा विकासको सम्बन्धमा छलफल भएको हो ।

लमही नगरपालिका, गढवा गाउँपालिका र गाउँपालिकाका वडाहरुका प्रमुखहरुसँग आइतवार छलफल गरेको संघका सचिव सुरेन्द्रबहादुर खड्काले बताए । संघका सभापति कृष्णकुमार गिरीको नेतृत्वमा गएको टोलिले लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीसंग छलफल गरेको थियो ।

सो अवसरमा अस्पतालमा विरामीका लागि बहिरंग कक्ष (भिजिटर सेट) निर्माणको लागि बजेट छुटाउन आग्रह गरिएको थियो । अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले दिन प्रतिदिन विरामीहरु बढदै गएको र भौतिक अभावका कारण समस्या भएको बताएका थिए । उनले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले हाल सम्म दिएको सेवा र भौतिक अभावको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा नगरप्रमुख केसीले आगमी वर्षको बजेटमा अस्पतालको भौतिक विकासका सहयोग गर्ने बताएका थिए । ‘अस्पतालको विकासका लागि हामीबाट हुन सक्ने सहयोग हुनेछ जति सकिन्छ सहयोग हुनेछ’– उनले भने । त्यसैगरी छलफल कार्यक्रममा संघका सभापति कृष्णकुमार गिरीले संघद्वारा सञ्चालित आँखा अस्पतालहरुको विकाशका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए । ‘यस वर्ष हामीहरुले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया साझेदारी कार्यक्रम सञ्चालन गरेका छौं, आगमी वर्षका लागि भौतिक निर्माणलाई जोड दिएका छौं’– उनले भने । उनले वर्षौं देखि दातृ निकायहरुको सहयोगमा सञ्चालन भएका अस्पतालहरुमा अब स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

 

त्यसैगरी गढवा गाउँपालिकामा भएको छलफल कार्यक्रममा कोइलावासमा नियमित आँखा उपचार केन्द्र सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, प्रमुख प्रशासकिय अधिकृत नोखीराम वली र गढवा– ८ कोइलावासका वडाध्यक्ष सद्धाम सिद्दिकी संग भएको छलफलमा कोइलावासमा गाउँपालिकाले उपलव्ध गराएको जग्गामा भवन निर्माण गरि नियमित आँखा उपचार सेवा प्रदान गर्ने गरी भौतिक निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुले लमही आँखा अस्पतालको भौतिक विकासका लागि आगामी बजेटमा समावेश गर्ने र कोइलावासमा उपचार केन्द्र सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा वडा नंं. ४, ५ र ६ का वडाध्यक्षहरुले पनि सहयोगको प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु गुलाम मोहमद, प्रकाश भण्डारी, बालचन्द्र ठकुरी हमालले अस्पतालको भौतिक विकाशका लागि सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सदस्य शारदा चौधरीलगायतले भनाई राखेका थिए । उक्तकार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस