२०७९ माघ १३, शुक्रबार

दंगिशरण गाँउपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

जेठ २४, २०७६  | २५९९ पटक पढिएको

शिद्ध पृथ्वी जनता मा.वि. श्रीगाँउले चुम्यो रनिङ शिल्ड

– लक्ष्मण बस्नेत
२४ जेठ, हेकुली (दाङ) / दंगिशरण गाँउपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को रनिङ शिल्ड सिद्ध पृथ्वी जनता मावि श्रीगाँउले हात पारेको छ ।

दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण, ३ रजत र ३ कास्य पदकका साथ मावि श्रीगाँउले रनिङ शिल्ड चुम्न सफल भएको हो ।

मावि श्रीगाँउसँग एक स्वर्ण पदकले पछाडी परेको विरेन्द्र मावि हेकुली ८ स्वर्ण ७ रजत र ४ कास्य पदक हात पार्दै उपविजेतामा चित्त बुझाउन बाध्य हुँदा मा.वि. मधपुर ६ स्र्वण, ७ रजत र ४ कास्य पदक साथ तृतिय स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा गाँउपालिका भित्र स्थापित निजी तथा सामुदायिक गरि ६ विद्यालय विच एथ्लेटिक्स, भलिबल र कबडी खेलमा कडा प्रतिस्पर्धा भएको थियो ।

तिन दिन सम्म संचालित प्रतियोगिताको शुक्रबार समापन गरिएको हो । समारोह दंगिशरण गाँउपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा संघिय सांसद हिरा चन्द्र के.सी.को प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद केसीले भौगोलिक भू–बनोट र हावापानीका दृष्टीकोणले पूर्ण दाङ जिल्लालाई खेलकुदको गन्तव्यका रुपमा विकास गर्नु पर्ने बताएका छन् । खेलकुद मानव स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धिमा यसको महत्वपुर्ण भूमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ दाङ खेलकुदको गन्तव्य अवश्य बन्नेछ उनले भने ।

अब स्थानीय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाका कोर्दै यसको विकासमा चासो र चिन्तन गर्नु पर्ने उनको भनाई छ । साथै उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बालबालिकाको सर्वाङगीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आफु लागि पर्ने बताए । हामी गाँउपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौं, अब दंगिशरण गाँउपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ अध्यक्ष चौधरीले भने ।

साथै उनले प्रतियोगितालाई भव्य एवं सभ्य बनाउन महत्वपूर्ण सहयोग गर्ने संघ/संस्था, विद्यालय, खेलप्रेमी, प्राविधिक तथा मिडिया लगायत सबैमा धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा विजेता, उपविजेता विद्यालय, खेलाडी तथा उत्कृष्ट खेलाडी एथ्लेटिक्स छात्र तर्फ ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाँडाका अर्जुन नेपाली, छात्रा तर्फ शिद्ध पृथ्वी जनता मावि श्रीगाँउकी सुनिता डाँगी, भलिबल छात्र तर्फ बिरेन्द्र मावि हेकुलीका प्रदिप खत्री, छात्रा तर्फ सिद्ध पृथ्वी जनता माबिकी सपना डाँगी, कबडी छात्र तर्फ सिद्ध पृथ्वी माविका प्रविण चौधरी र छात्रा तर्फ विरेन्द्र मावि हेकुलीकी कैलाशपती चौधरीलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथि लगायतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन गाँउपालि कार्यालयका रेशम केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस