२०७९ माघ १७, मंगलबार

“छोरी जन्मे बैङ्क खातामा पैसा” – मेयर पाण्डे

जेठ २४, २०७६  | १४४० पटक पढिएको

२४ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले अबदेखि स्मार्ट छोरी, बिहेबारी बीस पारी कार्यक्रम सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०७६ सुरुभएदेखि जन्मिएका छोरीको खातामा प्रत्येक वर्ष बाह्रसय जम्मा उपमहानगरले गरिदिने भएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २० वर्ष पुगेपछि उपमहानगरले एकमुष्टरुपमा रकम छोरीलाई प्रदान गर्नेछ । यदि २० वर्ष अघि नै बिहे गरेपछि भने उपमहानगरकै कोषमा जम्मा हुनेछ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६मा पनि स्मार्ट छोरी कार्यक्रम अन्र्तगत संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत दुई सय पचास जना छोरीलाई वित्तीय साक्षरता, स्वास्थ्य सुरक्षा, सूचना प्रविधि सचेतना तथा आत्म सुरक्षा तालिम प्रदान गरेको थियो ।

उपमहानगरपालिकाले सुत्केरीलाई पोसिलो खानेकुरा खुवाउनका लागि यस अघि प्रदान गर्दै आइरहेको पाँच हजार यस वर्ष पनि उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । हवाई इन्धन डिपोको स्थापनाका साथै धावनमार्ग विस्तारका लागि संघीय र प्रदेश सरकारसँग सहकार्यमा काम अघि बढाउने, नगर सुरक्षाको डि पि आर तयार गरी सिसि क्यामेरा जडान गर्ने कार्यक्रम राखिएको छ । त्यसैगरी उपमहानगरपालिका भित्र विकास गर्नका लागि विकास प्राधिकरण गठन गरी यसै वर्षभित्र ६० किलोमिटर सडक कालोपत्र गरिने भएको छ ।

फोहोरलाई मोहोरमा बदल्नका लागि फोहार मैला प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । उपमहानगरपालिका भित्र प्लाष्टिकजन्य सामग्रीको निषेध गरी दुना टपरीलाई प्राथमिकता दिइने भएको छ । असी वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई नेपाल भ्रमण वर्षको अवसरमा पाँच नम्बर प्रदेशका लुम्बिनी, धारापानी, स्वर्गद्वारी जस्ता पर्यटकीय तथा धार्मिक क्षेत्रमा भ्रमण गराइने भएको छ ।

कृषकहरुका लागि ३ वर्षभित्र सबै वडाहरुमा कृषि सामग्री, मल बिऊँ, कृषि उपज सङ्कलन तथा बिक्रि केन्द्र सहकारीमार्फत गरिने भएको छ । संघीय तथा प्रदेश सरकारको समन्वय सहकार्यमा धवशाला, चिस्यान केन्द्र, मिटमार्ट सञ्चालनमा ल्याइने भएको छ । भोकमरीमुक्त खाद्य र पोषणयुक्त सुविधा सहितको उपमहानगर बनाइने भएको छ । एक वडा एक उद्यान निर्माण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको सशस्त्र ब्यारेकलाई क्रान्ति सङ्ग्राहालयकारुपमा विकास गरी बहु सांस्कृतिक केन्द्रका रुपमा स्थापित गरिने भएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस