२०७९ माघ २४, मंगलबार

तुलसीपुरले शुक्रवार नीति कार्यक्रम ल्याउँदै

जेठ २३, २०७६  | ९२३ पटक पढिएको

२३ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि शुक्रवार नीति तथा कार्यक्रम ल्याउँदैछ । नगरप्रमुख घनश्याम पाण्डेले दिउँसो २ वजे उपमहानगरपालिकाको सभाहलमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

उपमहानगरपालिकाले आगामी वर्षलाई सडक वर्षका रुपमा महत्व दिने कुरालाई नीतिमा समेटिएको बताइएको छ । नीति तथा कार्यक्रममा धेरैजसो पुराना तर लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिइएको पनि जनाइएको छ । ‘जनताले धेरै रुचाएका कार्यक्रमहरुलाई यो वर्ष पनि हामीले समावेश गरेका छौ ’ नगरप्रमुख पाण्डेले भने । उनले राम्रा कुराहरुलाई छाड्दा जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले पनि यसो गरिएको बताए ।

हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, सुखी जनता समृद्ध तुलसीपुर भन्ने मुल नाराका साथमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । २ सय ३७ बुँदे नीति तथा कार्यक्रममा जनताको विकास जनताको साथ, जनसंसद गठन, कृषिमा आत्मनिर्भरता, सडक गुरुयोजना अनुरुप सडक निर्माण, उपमेयर महिला सुरक्षा कार्यक्रम, वडाध्यक्ष वडा गौरव योजना जस्ता विभिन्न कार्यक्रम समावेश गरिएको छ । ‘पुरा गर्न सकिने खालका योजनाहरुलाई हामीले नीति तथा कार्यक्रममा समावेश गरेका छौ’ नगरप्रमुख पाण्डेले भने । उनले लोकप्रियका साथै जनतालाई धेरै प्रभाव पार्ने खालका कार्यक्रमहरुलाई समेटेको समेत जानकारी दिए ।

तुलसीपुरले दाङका १० वटै स्थानीय तहहरु मध्ये सबैभन्दा पहिलो नीति तथा कार्यक्रम ल्याउन थालेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस