२०७९ माघ २६, बिहीबार

“महिला हिंसा रोक्न सामाजिक संरचना र सोच परिवर्तन गर्नुपर्ने”

जेठ २०, २०७६  | १८८१ पटक पढिएको

२० जेठ, तुलसीपुर / महिला माथि हुने हिंसा रोक्न सामाजिक संरचना र सोच परिवर्तन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको महिला हिंसाको अवस्था र चुनौती विषयक न्यायीक समितिका पदाधिकारीसँग १ दिने कार्यशाला गोष्ठीमा बोल्ने सहभागीले यस्तो जोड दिएका हुन् । उनीहरुले भने– ‘अब व्यक्तिलाई महत्व दिएर होइन, सोच र पारिवारिक चरित्र बदल्न जरुरी छ’ ।

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिति संयोजक माया आचार्यले न्यायीक समितिले प्रक्रियामा गएर महिलाका विभिन्न खालका विवादहरु समाधान गर्दे आएको बताउनुभयो । उपमहानगरपालिकामा मेलमिलाप गर्ने छुट्टै कोठा नहुँदा काम गर्न कठिनाई भएको छ, उहाँले भन्नुभयो– तर त्यसलाई पनि मिलाएर हामीले सहज तरिकाले व्यवस्थित रुपले काम गरिरहेका छौँ ।

यस्तै कार्यक्रममा बोल्दै बबई गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिती संयोजक सावित्री विकले न्यायीक समितीमा कर्मचारी अभावका कारण कार्यविधि अनुसार सिस्टममा जान नसकेको बताइन् । उनका अनुसार गाउँपालिकामा गत वर्ष ७० मुद्धा मध्ये सबै समाधान गरिएको थियो । यस्तै यस वर्ष अहिले सम्म ५४ मुद्धा भएको र ति मुद्धाहरु प्रक्रियाको क्रममा रहेका छन । बबई गाउँपालिकामा सम्बन्ध विच्छेदका विवादहरु धेरै आउने गरेको उनको भनाई छ ।

यस्तै दगिंशरण गाउँपालिका न्यायीक समिती सदस्य हिरा चौधरीले गएको १ वर्षमा सोचे भन्दा बढी विवादहरु आएको र त्यस बिचमा न्यायीक समितिमा १ कर्मचारीको अन्तै सरुवा भएपछि विवाद मिलाउन समस्या भएको बताइन् । उनका अनुसार गाउँपालिकामा देवानी सम्बन्धी विवाद धेरै आउने गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्यले देशमा ३ तहको सरकार आए पनि महिला हिसां नरोकिएको बताइन् । उनले भनिन्– महिला मैत्री समाज बनाउने कुरा बोलिमा मात्र सिमित छन्, बोलेर मात्र हुँदैन अब व्यवहारमा पनि लागु गर्नुपर्छ । उनले महिलामैत्री सोच र चिन्तनमा आधारित सोचका साथ अघि बढ्नुपर्ने बताएकी छिन् । हिंसाको प्रमुख कारण भनेको समाजमा परम्परागत रुपमा विद्यमान धर्म, परम्परा तथा कुरीति र त्यसमा आधारित विश्वास प्रणालीको ढाँचा भएको बताइन् । उनले भनिन्– हिंसामा परेका महिलालाई सरक्षण गर्न घटना फेरी नदोहोरीयोस् भन्नका लागि पीडकबाट मात्र होइन सबै पक्षबाट संरक्षण प्रदान गर्नुपर्छ ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका न्यायीक समितिका कानुनी सल्लाहाकार यादव डाँगी, ओरेक जिल्ला संयोजक इश्वरी थापा, अधिकारकर्मी सुष्मा गिरी लगायतले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रमहरु धेरै मात्रामा गर्नुपर्ने बताए । महिला मानवअधिकार रक्षक सञ्जालकी सदस्य सितारा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीरकण सचिव पदमा चौधरीले गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस