२०७९ माघ २६, बिहीबार

तुलसीपुर उपमहानगरका एक हजार बढी योजनाहरु सम्पन्न

जेठ १४, २०७६  | ९८७ पटक पढिएको

१४ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकालाई जनपछिय काम गर्न नगरवासीहरुले सुझाव दिएका छन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सो सुझाव दिएका हुन् ।

‘‘चुनावको समयमा किसान गरिव र सुकुम्वासीका कुराहरु उठाएपनि उनीहरुको पक्षमा एउटा पनि काम नभएको छैन्’ स्थानीय संगीत बस्यालले भने । त्यस्तै भिमप्रसाद भण्डारीले तुलसीपुर बजारका पुछारका जनताहरु पनि नगरवासी भएको भन्दै उनीहरुको घर घरमा बजारमा फोहर जाने गरेका र त्यसको व्यवस्थापनमा उपमहानगरपालिका नलागेको गुनासो गरे ।

सार्वजनिक सुनाईमा नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्व ५७ करोड ४१ लाख ९१ हजार बजेट विनियोजन गरेको तर अपेक्षाकृत राजश्व संकलनका साथै केन्द्र र प्रदेशबाट रकम नआउँदा अहिलेसम्म रु एक अर्व ७ करोड ९२ लाख ९७ हजार मात्रै निकासा भएको बताए । यस वर्षमा राजश्व संकलन रु १४ करोड पुग्ने अपेक्षा गरेकोमा अहिलेसम्म ५७।७६ प्रतिशत मात्रै संकलन भएको उनको भनाई थियो ।

यो आर्थिक वर्षमा विनियोजन गरिएका १४७६ योजना मध्ये १०८२ योजना सम्पन्न भएका छन् । त्यस्तै पूर्वधार विकास तर्फ तुलसीपुरको गौरवका योजनाका रुपमा आधुनिक बस टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको नमुना तुलसीपुर अटो भिलेज निर्माण भएको र तुलसी ट्रेड टावरको डिपिआर र भवन डिजाइनको काम सम्पन्न हुने क्रममा रहेको जानकारी गराएको थियो ।

उपमहानगरपालिका भित्र १४.९ किलोमिटर कालोपत्रे भएको छ भने ग्राभेल ५१.६ किलोमिटर, कच्ची सडक ३९ किलोमिटर निर्माण भएको र दीर्घकालिन सोच सहितको गुरुयोजना, एकिकृत शहरी विकास योजना, भू उपयोग नीति तथा योजना, मापदण्ड सहितको सडक तथा यातायात गुरुयोजना, स्पोर्ट सिटी योजना,स्मार्ट सिटी योजना, पर्यटन गुरु योजना, आर्थिक तथा उद्यमविकास योजना लगायत विभिन्न क्षेत्रगत योजनाहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकाले यी सबै गुरुयोजनाहरु र तिनलाई कार्यान्वयन गर्न आवश्यक सहयोगी नीति र कानुन तर्जुमा गरी आगामी आर्थिक वर्ष देखि नै लागू गर्ने प्रमुख पाण्डेले बताए ।

त्यस्तै सामाजिक विकास तर्फ मातृ शिशु मृत्युदर न्युनीकरण गर्न हालसम्म २७ सय २६ जनालाई सुत्केरी भत्ता वितरण गरिएको छ भने यसका लागि करिव ८४ लाख वजेट उपयोग भएको, स्मार्ट छोरी कार्यक्रम मार्फत करिव ११५ किशोरीहरुलाई आत्मरक्षा लगायतको तालिम दिइएको उज्यालो तुलसीपुर अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका भित्रका ११४ जनताको मोतियाविन्दुको निःशुल्क अपरेशन गरिएको सार्वजनिक सुनाईमा जानकारी गराएको थियो ।

उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्र बनाउनका लागि मेट्रो बहुप्राविधिक शिक्षालय सञ्चालनको आशय पत्र प्राप्त भइ यसै शैक्षिक सत्रदेखि वन विज्ञानमा डिप्लोमा तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको र प्राविधिक शिक्षा सञ्चालन गर्ने ५ वटा सामुदायिक माविहरुमा डिप्लोमा तहको प्राविधिक कक्षा सञ्चालनका लागि १० लाख दरले अनुदान दिइएको छ ।

आर्थिक विकास तर्फ जनताको सुरक्षित आवासको अधिकारलाई ग्यारेण्टी गर्न खरका छाना भएका घरहरुलाई जस्ताको छानायुक्त सुरक्षित घर बनाउन प्रोत्साहन तथा अनुदानको व्यवस्था मिलाउने प्रतिवद्धता अनुसार करिव ५ सय घर धुरीलाई जस्ताको छाना वितरण गरिसकिएको प्रमुख पाण्डेले जानकारी दिए ।

त्यस्तै पशुपंक्षिपालन व्यवसायलाई प्रवद्र्धन गर्न आवश्यक पर्ने सेवाहरु जस्तै निशुल्क खोप, कृत्रिम गर्भाधान केन्द्र, रोग अन्वेषण तथा उपचारका निम्ति विशेष व्यवस्था तथा वजारीकरणको व्यवस्था मिलाइएको र किसानहरुलाई कृषि पेशामा आकर्षित गर्नका लागि बोयर बाख्रा, डिप फ्रिज तथा विभिन्न उन्नत जाँतका घाँसको विउँ वितरण गरिएको बताएको छ ।

“हाम्रो नगरलाई समुन्नत,समृद्ध र सुशासनयुक्त बनाउँदै जनताको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास हो’’ उनले भने । ––

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस