२०७९ माघ १३, शुक्रबार

अन्तिम सत्य योगाः केन्द्रिय प्रभारी मिश्र

जेठ १४, २०७६  | १२५६ पटक पढिएको

– शरद रेग्मी
१४ जेठ, तुलसीपुर / पतन्जली योग समितिका केन्दिय प्रभारी लवदेव मिश्रले जीवनको अन्तिम सत्य योगा भएको बताउंदै सवैकालागी योग अपरिहार्य रहेको बताएका छन् ।

रिपोर्टस् क्लव नेपाल दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा साक्षत्कार कार्यक्रममा केन्द्रिय प्रभारी मिश्रले योगामा सबैजातजाती, लिंग, धर्म र संस्कृति अटाउने बताए ।

‘योगामा केहि प्रणायाम विधिले हिन्दुत्वको प्रतिनिधित्व गरेको प्रतित भएपनि खासमा योगा सवै धर्मावलम्विहरुको साझा अभ्यास हो’— प्रमुख प्रभारी मिश्रले भने । योगाका प्रमुख रिसर्चर डा सर्लेश टेलेस स्वयम् इसाई धर्मावलम्वि भएको बताउँदै पतञ्जली योग समिति प्रदेश नम्बर ३ का सदस्य पनि मुस्लिम समुदायका रहेको योग गुरु मिश्रले स्पष्ट पारे ।

साक्षात्कार कार्यक्रममा बोल्दै मिश्रले योगाको मुख्य उत्पादन भनेको तनावमुक्त जीवन भएको बताउँदै योगा भनेको असत्यलाई सत्यतर्फ लैजाने माध्यम भएको बताए । ‘योगाले एउटा यस्तो आदर्श व्यक्ति जन्माउंछ, जसले असत्यलाई सत्यतर्फ लैजान्छ, अनि अध्यारोलाई उज्यालो तर्फ लैजान्छ’—साक्षात्कार कार्यक्रममा प्रमुख प्रभारी मिश्रले भने ।

साथै पतञ्जलिलाई धर्मान्धता स्वीकार्य नहुने बताउँदै ऊं शब्दको उच्चारण गर्न नमान्ने व्यक्तिलाई धार्मिक मुर्खको संज्ञा दिए । ‘ऊं शब्द व्यापक अनुसन्धान पछि आएको शब्द हो, कुनै धार्मिक ग्रन्थमा उल्लेख भएको निजि शब्द होइन’, मिश्रले भने । त्यसै अवसरमा बोल्दै मिश्रले नांगो आँखाले देख्ने वस्तु मात्र सत्य नभएको बताउंदै योगकै कारण माइक्रोस्कोपको आविस्कार भएको बताए ।

एक अर्को प्रसंगमा अब स्थानीय सरकारदेखि संसद भवन र मन्त्री मण्डल पनि योगमय बन्नुपर्ने उद्घोष गरे । त्यसमा राज्यले पनि लगानी गर्नुपर्ने अभिव्यक्ति दिए । साथै चाँडै पतञ्जलि समितिले दाङलाई योग जिल्ला घोषणा गर्ने भन्दै त्यसमा न्युनतम मापदण्ड पुरा गर्न पनि स्थानीय सरकारलाई आग्रह गरे । ‘हरेक वडामा योग केन्द्र बन्नुपर्दछ, अनि ती केन्द्रमा हरेक दिन योगाभ्यास पनि हुनु आवश्यक छ, त्यसपछि दाङलाई योग जिल्ला घोषणा गरिने छ’— प्रमुख प्रभारी मिश्रले भने ।

कार्यक्रममा पाँच नम्वर प्रदेश पतञ्जलि योग समिति प्रमुख प्रेम शाहले योगालाइ दैनिकी बनाउन सुझाव दिंदै चांडै जिल्लालाई योग जिल्ला घोषणा गरिने बताए । योग प्रशिक्षक तथा तुलसीपुर उपमहानगरपालिका—७ का वडाध्यक्ष टोप बहादुर केसीले तुलसीपुर उपमहानगरपालिकाले अब हरेक टोलविकास संस्थामा २/२ जनाका दरले योग प्रशिक्षक बनाउन उपमहानगरपालिका लाग्ने उद्घोष गरे । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणि रजौरेले स्वागत गरेकि थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए । सो अवसरमा संघ, प्रदेश, जिल्ला र स्थानीय तहका योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस