२०७९ माघ १३, शुक्रबार

दंगीशरणका २ वडा खानेपानीको समस्यामा पहल गर्दै गाउँपालिका

जेठ १३, २०७६  | ९७५ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१३ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका वडा न. ५ स्थित डाडाँचिसका बासिन्दा लामो समयदेखि खानेपानीको समस्याबाट गुज्रदै आएका छन् । वडाका डाँडाचिस, खल्वाचिस गरि जम्मा ११ टोलका बासीहरु खानेपानीको समस्यामा परेका हुन् । चैत्र महिनासम्म कुँवाको पानी खाएपनि बैशाख महिनादेखि कुँवा सुक्दा खानेपानीको अभाव हुने गरेको स्थानीयहरु बताउँछन् ।

कुवाँमा पानी भर्दै गरेकि खल्वाचिसकि जानकी चौधरीले खानेपानीका भर्नका लागि राती ३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको बताईन् । चौधरीले भनिन् — “राती दुई तीन बजे नउठेर कामै छैन । कुँवा सुकिहाल्छ, के खाने ? बिहान भरेको पानी साझँ सम्म पुर्याउँनु पर्छ ,फेरी अर्को दिन राती उठ्ने हो पानी भर्न यस्तो नगरेर कामै चल्दैन ।” ममता चौधरी कुँवाबाट धमिलो पानी निकाल्दै थिईन् । भाँडा पखाल्नका लागि भएपनि यहि पानी लग्छौँ उनले भनिन् । खानेपानीको समस्यामा गुज्रदै आएका स्थानीयहरु छिट्टै खानेपानीको समस्या टारीदिन आग्रह गरेका छन् । यता वडा नं. ५ का अध्यक्ष दिपक गौतमले गत वर्ष वडा बाटै १२ वटा कुवा खनेर खानेपानीको समस्या टरेपनि यो वर्ष लामो खडेरी परेका कारण अझ समस्या थपिएको बताए ।

यो वर्षको योजनामा वडाबाट खानेपानीलाई मुख्य प्राथमिक्तामा पारेर योजना तर्जुमा गराईने उनले बताए । यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले खानेपानीका लागि केन्द्रमा गएर पहल गर्ने बताए । उनले भने — “केन्द्र बाट एउटा ट्यांकी निर्माण प्रक्रियामा छ त्यसबाट खानेपानीको समस्यामा रहेका वडाबासीलाई खानेपानी पुग्छ नपुगेको खण्डमा खानेपानीको समस्यालाई जसरी भएपनि समाधान गर्नतीर लाग्नेछु । अबको योजनामा वडाका सात वटै वडामा बाटोघाटो, सिँचाई संगसंगै खानेपानीको व्यवस्था गर्नतर्फ लागेको छु ।”

लौबस्तामा केन्द्रबाट ३ करोड ९९ लाखको लागतमा खानेपानी तथा सरसफाई डिभीजन कार्यालय दाङले २ लाख २५ हजार लिटर पानी अटाउँन सक्ने क्षमताको ट्यांकी निर्माण गर्न लागेको खानेपानी उपभोक्ता समितीका अध्यक्ष विनोद बस्नेतले बताए । निर्माण कार्य पूरा नभएकाले अहिले एउटा मात्र डिप बोरीङ जडान गरेर प्रति सेकेन्ड ३ लीटरका दरले नजिकैका घरलाई पानी बितरण गरिरहेको उनले बताए । टयाङ्की निर्माण पछि लौवस्ता, खल्वाचिस, देवीगंज, डाडाँचिस र सलौराका बासीलाई सहज रुपमा पानी पुग्ने अध्यक्ष बस्नेतले जनाए । पानी ट्यांकी निर्माण कार्य अन्तीम चरणमा पुगेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

उता वडा न. २ मा पनि स्थानीयहरु खानेपानीको समस्यामा परेका छन् । वडा न. २ स्थित कौवाघारी र गिदरभरीयाका स्थानीयहरु खानेपानीको समस्या बाट गुज्रीएको धेरै बर्ष भईसकेको छ । मूलबाट आउँने सानो धारामा पानी भरिरहेकि मन कुमारी खत्रीले बाटो बनाउनु भन्दा खानेपानी पुर्याउँन जरुरी रहेको बताईन् ।

पराटमा पानी जम्मा गर्दै नुहाईरहेकी निमा चौधरीले खानेपानी तीन महिना सम्म पानीको हाहाकार भएको भन्दै जीविका चलाउँन हम्मेहम्मे भईसकेको बताईन् । वडा अध्यक्ष तुल्सीराम देवकोटाले वडामा खानेपानीको समस्या भएको महशुस गरेको भन्दै गत वर्ष वडामा ६ वटा ईनार निर्माण गरिएको र यो वर्ष ४ वटा ईनार निर्माण प्रक्रियामा रहेको बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस