२०७९ माघ २४, मंगलबार

प्रदेश सरकारसँग आँखा अस्पतालको विकासको माग

जेठ १३, २०७६  | १११७ पटक पढिएको

१३ जेठ, तुलसीपुर / नेपाल नेत्रज्योति संघ दाङले संघद्वारा सञ्चालन भएका आँखा अस्पतालहरुको विकासका लागि प्रदेश सरकार संग दिर्घकालिन योजना पेस गरेको छ ।

आइतवार प्रदेश सभाका सदस्यहरु, राजनीतिकदल र अस्पतालका प्रशासकहरुको टोलीले ५ नंं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग भेटगरी अस्पतालको विकासका लागि बजेट माग गरिएको हो ।

संघले सञ्चालन गरेका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द (कालेवावु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भौतिक विकाशका लागि मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीसंग भेटगरी अस्पतालको विकासका लागि तयार पारेको गुरुयोजनाको बारेमा जानकारी गराउनुका साथै दीर्घकालिन योजना पेस गरेको संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिए ।

तिन वटै अस्पतालमा भौतिक अभावका कारण सेवा प्रवाहमा कठिनाई भएको भन्दै भौतिक विकासका लागि प्रदेश सरकारलाई बजेट माग गरिएको गिरीले जानकारी दिए ।

दातृनिकायहरुको सहयोगमा सञ्चालन भएका अस्पतालहरुमा दिन प्रतिदिन विरामीहरुको संख्या बढदैगएको र भौतिक अभावका कारण सेवा प्रवाहमा कठिनाई भएका कारण प्रदेश सरकारसंग बजेट माग गरेको सचिव सुरेन्द्रबहादुर खड्काले बताए ।

सो अवसरमा पाँच नंं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा रहेका आँखा अस्पतालले जनतालाई राम्रो सेवा प्रवाह गरेको बताए । मुख्यमन्त्री पोखरेलले आँखा उपचार सेवालाई प्रभावकारी गराउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले प्रदेशमा रहेका जनतालाई सहज सेवा प्रवाह गर्न सहकार्य गर्ने पनि बताए ।

‘संघले दातृनिकायहरुसँग सहयोग जुटाएर नेपालमा आँखा उपचार सेवा प्रवाह गरेको छ, अब प्रदेश सरकारले पनि आँखा उपचार सेवालाई प्रभावकारी गराउन के सहयोग गर्न सकिन्छ त्यो हाम्रो तर्फबाट हुने छ’ मुख्यमन्त्री पोखरेलले भने । त्यस्तै सामाजिक विकास मन्त्री सुदर्शन बरालले आँखा अस्पतालको भौतिक विकासका लागि सक्दो सहयोग गर्ने बताए ।

सो अवसरमा प्रदेश सभाका सदस्यहरु रेवतीरमण शर्मा, इन्द्रजित चौधरी, सरस्वती गौतम, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्का लगायतले आँखा अस्पतालको विकाशका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनीहरुले मुख्यमन्त्रीलाई अस्पतालको विकासका लागि सक्दो बजेट उपलब्ध गराउन पनि माग गरेका थिए ।

भेटका क्रममा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले प्रदेश नंं. ५ मा ३० हजार मोतियाविन्दुका बिरामीहरु रहेको भन्दै प्रदेश सरकारको सहयोग रहयो भने सबै मिलेर त्यसलाई न्यूनिकरण गर्न सकिने बताएका थिए । नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्का, संघका सभापति कृष्णकुमार गिरी, उपसभापति रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, मानबहादुर रावत, वरिष्ठ प्रशासकिय अधिकृत समशेर थापा, प्रशासकिय अधिकृत जसराज बिकलगायतको टोलीले भेटघाट गरेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस