२०७९ माघ २१, शनिबार

विस्फोटमा परी तीनको मृत्यु, अनुसन्धान जारी

जेठ १२, २०७६  | १३४७ पटक पढिएको

१२ जेठ, काठमाडौँ / काठमाडौँमा आज साँझ भएको विस्फोटनमा परी तीन जनाको निधन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइकलमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मृतक केसी विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ ।

घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिनुभयो । विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । उता सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको भने उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।

निधन भएकाको पहिचान खुली नसकेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो । दुवै घटनास्थलमा नेपाली सेना तथा नेपाल प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् । सुकेधारा र घट्टेकुलोमा सिलिण्डर नै विस्फोट भएको पाइएको प्रहरीको भनाइ छ तर
आफैँ विस्फोट भयो कि गराइयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस