२०७९ माघ १३, शुक्रबार

वेलकम टु ‘योगा सिटि’

जेठ ११, २०७६  | १६६४ पटक पढिएको

– खेमराज रिजाल
११ जेठ, तुलसीपुर (दाङ) / ‘तपाइलाइ योगासिटि तुलसीपुरमा स्वागत छ, सबैले संयमतापुर्वक अआफ्नो स्थानमा बसिदिनुहोला’, पतन्जली योग पाँच नम्बर प्रदेशका प्रमुख प्रशिक्षक दिपक बस्यालले भनिरहँदा शनिवार विहानै तुलसीपुरको अरनिको मैदान स्वेत बस्त्रधारी योग चिन्तकहरुले भरिइसकेको थियो । सम्भवतः विहानै ४ बजे तुलसीपुरको अरनिको मैदान भरिएको यो पहिलो अवसर हो ।

हजारौं योगसाधकहरुले हातहातमा चकटि बोकेर विहानै अरनिको मैदानमा छिरीसकेका थिए । अरनिको मैदानको योग गुञ्जनले तुलसीपुर बजार विहानैदेखि गतिशिल बनेको थियो । पूर्वि भालुवाङदेखि पश्चिम हापुरे सम्मका योगसाधक साधिकाहरु स्वस्फुर्त रुपमा बस रिजर्भ गरी योगाभ्यासकालागी विहानै तुलसीपुर भित्रिइसकेका थिए । राष्ट्रिय गीतको गुञ्जनपछि सुरु भएको योगाभ्यासमा उच्च अदालतका प्रमुख न्यायधिस, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय सरकार प्रमुखदेखि सर्वसाधारण सम्मको बाक्लो उपस्थिति थियो । भव्य र सभ्य उपस्थितिको संख्या अनुमानित ४ हजार भन्दा बढि थियो । आयोजकले व्यवस्थापन गरेका कार्पेटमा अटाउन नसकेपछि साधकसाधिकाहरु कोचाकोच गरी योग अभ्यास तथा योग विज्ञान दर्शनमा सहभागि भएका थिए ।

‘योगा प्रति मलाइ पूर्ण विश्वास छ, त्यसैले विहानै घोराहीबाट बस चढेर यहाँसम्म आइपुगेको छु, म जस्तै धेरै साधक साधिकासँगै आइपुगेका छौं’— घोराहीका स्थानीयवासी डा. लोकराज पराजुली भन्छन्, योगा एउटा यस्तो अभ्यास हो, यसमा कुनैपनि व्यक्तिलाई हानी नोक्सानी छैन ।’ पराजुली जस्तै शिविरमा दश वर्षे बालबालिकादेखि ६० नाघेका पाका साधकसाधिकाहरुको पनि उपस्थिति रहेको थियो । त्यसमा पनि महिलाहरुको अत्यधिक बाहुल्यता थियो ।

‘योगा एउटा हरेक रोगको अचुक दवाइ हो, चाहे शारीरिक होस् वा मानसिक समस्या’, कार्यक्रमको सुभारम्भ गर्दै प्रमुख अतिथि तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नहकुल सुवेदीले भने, योगालाई संयुक्त राष्ट्रसंघले पनि मान्यता दिइसकेको छ । त्यसैले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाइंदै आएको छ । त्यसै अवसरमा बोल्दै प्रमुख अतिथि सुवेदीले गोग विज्ञान एउटा पुर्विय दर्शन भएको भन्दै स्वास्थ्य प्रतिको सचेतना र आनीवानीको कुशल व्यवस्थापनमा पनि योगा अपरिहार्य हुने बताए ।

आफ्नै अध्यक्षतामा भएको तुलसीपुरस्तरीय योग विज्ञान शिविरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले योगालाई तुलसीपुर उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको भन्दै अब उपमहानगरपालिकाका सबै वडामा योगाहल निर्माणको अभियान सुरु भैसकेको उद्घोष गरे । ‘पछिल्लो समयमा सरुवा रोग भन्दा पनि दिर्घरोगको समस्या व्यापक बन्दै गएका छन्, जुन रोगहरुलाई खानपानको उचित व्यवस्थापन र योग विज्ञानले न्युनिकरण गर्ने प्रमाणित तथ्या हो’, पाण्डेले भने । साथै उनले आफुलाई पनि योगा प्रति विश्वास भएको भन्दै आफु पाँचै दिनको योग विज्ञान शिविरमा नियमित सहभागी हुने उद्घोष पनि गरे । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि योगालाई वैकल्पिक उपचार पद्धतिका रुपमा लिंदै यसको विस्तारका लागि हरेक जिल्लामा कार्यक्रम लैजाने तयारी यसै वर्षदेखि थालेको पनि नगरप्रमुख पाण्डेले बताए ।

‘तपाईहरु ढुक्क हुनुस्, अब तुलसीपुर उपमहानगरपालिकाले केहि महिनापछि यो भन्दा पनि बृहत योग विज्ञान शिविरको आयोजना गर्नेछ, जसमा अझै विज्ञ योगसाधकहरुको सहभागिता हुनेछ’— पाण्डेले भने ।

शिविरको अभ्यास सहजीकरण गर्दै पतञ्जली योग केन्द्र नेपालका प्रमुख प्रभारी योग गुरु लवदेव मिश्रले शारीरिक एवं मानशिक तन्दुरुस्तीले मान मान्छे पूर्ण रुपमा गतिशिल र क्रियाशिल हुने भन्दै योग विज्ञान शिविरमा अत्यधिक सहभागिताका लागि आग्रह गरेका थिए । साथै उनले यसलाई समय संकल्प र विधिको समायोजन गरी ग्रहण गर्न पनि आग्रह गरे । ‘सायद तपाईहरु भाग्यमानी पनि हुनुहुन्छ, किनकि नेपालमा सबैभन्दा बढि योगा गरिने जिल्ला दाङ हो, केहि दिनमै दाङलाई सायद योग जिल्लाका रुपमा घोषणा गरिने छ’, नेपाल प्रभारी मिश्रले भने । उनले योग प्रशिक्षण दिइरहेका बेला नगर प्रमुख, उच्च अदालतका मुख्य न्यायधिश, सुरक्षा निकायका अधिकारीहरु लगायत प्रशासक र जनप्रतिनिधिहरु पनि योग अभ्यासमा सहभागी भएका थिए । योग गुरु मिश्रले आइतवार रोग अनुसारका योग सिकाउने जानकारी गराएका थिए ।

शिविरमा योग विज्ञानका विषयमा मन्थन, शारीरिक अभ्यास, मानसिक तनाव नियन्त्रणका लागि ध्यान, विभिन्न प्रणायाम लगायत कम्तिमा ७९ प्रकारका अभ्यासहरु गराइने बताइएको छ । यसबीचमा कलाकारहरुले योग विज्ञानका विषयमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु देखाउने छ । शनिवार पनि पश्चिम दाङका योग साधक/साथिकाहरुले एउटा नाटक प्रस्तुत गरेका थिए । रक्सि सेवनको कुलतले बिग्रिएको एउटा परिवार योग दर्शनको माध्यमबाट फेरी पूर्वअवस्थामा आएको झल्को नाटकले दिएको थियो भने विभिन्न राष्ट्रिय गीतहरु प्रस्तुत गरिएका थिए

सो अवसरमा प्रमुख योग प्रशिक्षक मिश्र लगायत प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । आयोजक समितिका संयोजक टोप बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योग प्रशिक्षक दिपक बस्यालले गरेका थिए । शिविरमा हरेक दिन फरक फरक योग प्रशिक्षकहरु सहभागी हुने बताइएको छ । हरेक दिन विहान साढे ४ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन हुने शिविर १५ गते सम्म सञ्चालन हुनेछ । आइतवार विश्व प्रख्यात योगी महेशानन्दको सहभागिता रहने छ ।

Pictures:

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस