२०७९ माघ १३, शुक्रबार

राप्ती आँखा अस्पतालले कर्णाली प्रदेशमा पनि सेवा प्रवाह गर्ने

जेठ ०९, २०७६  | ११२६ पटक पढिएको

९ जेठ, तुलसीपुर / नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेश स्तरिय प्रथम कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीका सहभागीहरुले कर्णाली प्रदेशमा पनि मोतिबिन्दु नै अन्धोपनको मुख्य कारण रहेको बताएका थिए ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेश संयोजक कृष्णकुमार गिरीको अध्यक्षता तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलको प्रमुख आतिथ्य तथा संघका केन्द्रिय अध्यक्ष प्रा.डा. तिर्थकुमार मिश्रको विशिष्ट आतिथ्यमा सुर्खेतमा भएको गोष्ठीमा सहभागीहरुले कर्णाली प्रदेशका जनताहरुले अझैपनि सहजरुपले आँखा उपचार सेवा पाउन नपाएको बताएका थिए ।

गोष्ठीमा बोल्दै मन्त्री रावलले नेपालको आँखा उपचारको क्षेत्रमा नेपाल नेत्रज्योति संघले उल्लेखनिय भूमिका खेलेको बताउदै प्रशंसा गरेका थिए । उनले कर्णाली प्रदेशमा आँखा स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले कर्णाली प्रदेशमा राप्ती आँखा अस्पतालले सेवा पुर्याएको भन्दै थप सेवा प्रवाहका आग्रह गरे । ‘राप्ती आँखा अस्पतालले कर्णालीमा सेवा विस्तार गरी कर्णालीका जनतालाई उज्यालो प्रदान गरेको छ, अब आँखा स्वास्थ्य सेवा प्रवाहका लागि तोरेकै बजेट छुटाउनेछौं’ –उनले भने ।

‘कर्णाली प्रदेशमा आँखा अस्पतालहरुको विकाश कसरी गर्ने योजना बनाउनुहोस त्यसमा प्रदेश सरकारले सहयोग गर्न तयार छ’ उनले भने । संघका केन्द्रिय अध्यक्ष प्रा.डा. तिर्थराज मिश्रले दातृनिकायको सहयोगबाट नेपालको अन्धोपन निवारर्णमा संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्य संघ संस्थाहरु जस्तो नेत्रज्योति संघ नभएको बताए । ‘हामीलाइ अनुदान होइन काम दिनुहोस, हामी जनताको आँखा उपचार गरि सरकारसंग पैसा लिन्छौं’ उनले भने । त्यस्तै केन्द्रिय महासचिव श्यामकुमार पोख्रेलले नेपाल नेत्रज्योति संघ अन्र्तगत विभिन्न अस्पतालहरु र उपचार केन्द्रहरु स्थापना गरी सेवा प्रवाह गरेको भन्दै यसमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले संघद्वारा सञ्चालन गरेका अस्पतालहरुले साविक राप्ती अञ्चलमा अन्धोपन निवारर्णमा अतुल्नीय भूमिका खेलेको भन्दै आफुहरुले स्थानीय सरकारसँग प्रदेश सरकार संगको सहकार्यमा कर्णालीमा पनि थप सेवा विस्तार गरेको बताए । उनले आफुहरुले कर्णालीका विभिन्न स्थानमा शिविरहरु सञ्चालन गरेको भन्दै अब कोही पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुनुनपर्ने बताए । गोष्ठीमा कर्णाली प्रदेशको हालको अवस्था र भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

गोष्ठीमा नेपाल नेत्र ज्योती संघका केन्द्रिय कार्यक्रम निर्देशक शैलेश कुमार मिश्रले संघको प्रगती, नेपालमा आँखा उपचारको अवस्था लगायतको विषयमा जानकारी गराएका थिए । गोष्ठीमा नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालन भएका आँखा अस्पतालहरुको भावि योजना, हाल सम्म गरेका कार्यहरु र समस्याहरुको बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले गरेका थिए । त्यसैविच गोष्ठीले कर्णाली प्रदेशको तदर्थ समिति गठन गरेकोछ । दाङ शाखाका साभापति कृष्णकुमार गिरीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको सदस्यहरुमा धनबहादुर बस्नेत, शिवराम खत्री, तिलकबहादुर मल्ल, खडान्नद पाण्डे, नरबहादुर रोकाय रहेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस