२०७९ माघ २४, मंगलबार

स्वास्थ्य सचेतना बढ्दै, टोल टोलमा योगा क्रान्ति…

जेठ ०८, २०७६  | १४१६ पटक पढिएको

साक्षी खबर
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको दैनिकी अचेल फेरिएको छ । विहान ४ बजे योगाभ्याससंगै सुरु भएको उनको दैनिकी राती ९ बजे मात्र विश्राम लिन्छ । प्रशिक्षार्थी बनेको महिनामै उनी प्रशिक्षकको भूमिकामा पनि देखिन्छन् । भन्छन्, ‘योगाले मलाई शारीरिक एवं मानसिक उर्जा थपेको छ, अल्छिपना भगाएको छ ।’ दुधरासका स्थानीयवासी लालमणि पौडेल पनि अचेल नित्य योगामै देखिन्छन् । उनी पनि योग प्रशिक्षक बनि सकेका छन् । फोर्टिनाइनकी कल्पना अर्यालको पनि अचेलको दैनिकी योगमै बित्ने गरेको छ ।

मनिकापुरदेखि वनकट्टासम्मका योगा केन्द्रमा प्रशिक्षककै भूमिकामा उनको दिनचर्या बित्दै छ ।
तनतनमा योग, मनमनमा योग अनि डाक्टरको प्रिस्किप्सनमा पनि योग । पछिल्लो समयमा दाङका दशवटै स्थानीय तहहरुमा धमाधम योग केन्द्रहरु सञ्चालन भईरहेका छन् । गत सातासम्मको तथ्याङ्कलाइ हेर्दा अहिले जिल्लाभरी कम्तिमा १ सय ५० योग केन्द्रहरु सञ्चालन भईरहेका छन् । यसमा पूर्वी भालुवाङदेखि पश्चिम बबईसम्म पनि जोडिएको छ । स्थानीय सरकारले पनि योगामा विशेष चासो दिन थालेका छन् । धेरै स्थानमा सार्वजनिक योगाहल समेत निर्माण भईसकेका छन् । केही स्कुलहरुमा सञ्चालन भईरहेका छन् भने केही खुल्ला चौरमा पनि सञ्चालन भईरहेका छन् ।

पतन्जली योग समिति दाङका अनुसार अहिले जिल्लाभरी कम्तिमा एक हजार जति योग प्रशिक्षकहरु तयार भईसकेका छन् । बीस हजारको हाराहारीमा नियमित योगा गर्ने नागरिकहरु छन् । यो क्रम अझै बढ्दो अवस्थामा छ । ‘खासमा स्वास्थ्य सम्बन्धी चेतना र आध्यात्मिक चिन्तनका कारण योगाको लहर सुरु भएको छ, यसलाई हामीले योगा क्रान्तिका रुपमा लिएका छौं’–पतन्जली योग समिति दाङका अध्यक्ष उदय डाँगी भन्छन् । त्यसैले अहिले टोल टोलमा योगा चलिरहेको छ । एउटा केन्द्रमा कम्तिमा १५ जनादेखि १ सय ५० जनासम्मले पनि योगा अभ्यास गरिरहेका छन् ।
पाँच नम्बर प्रदेश पतन्जली योग समिति प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक दिपक बस्याल भन्छन्, ‘योगा एउटा दैनिकी हो, जसले मानव शरीरलाई शारीरिक एवं मानसिक रुपमा सन्तुलित राख्न मदत गर्दछ ।’ पाँच नम्बर प्रदेशमा सबैभन्दा बढी योगा गर्नेहरुको जमात दाङमै छ । बस्यालकै भनाइमा उनी पश्चिम नवलपरासीदेखि पूर्वी रुकुमसम्म प्रशिक्षकको भूमिकामा विभिन्न केन्द्रमा देखिंदै आएका छन् । बस्यालकै भनाइमा सायद केहि महिनापछि दाङलाई मुलुकमै पहिलो पटक योग जिल्लाका रुपमा घोषणा गरिंदै छ ।

प्रणायाम, ध्यान, बैठक तथा व्यायम गरी कम्तिमा ७९ वटा विधि योगाभ्यासका क्रममा सिकाइंदै आएको अर्का योग प्रशिक्षक डा. अरुणकुमार श्रेष्ठले बताए तर हरेक व्यक्तिले योगामा प्रवेश गरिसकेपछि समय, साधना र संकल्पलाई संगै जोडेर लैजानु पर्ने उनको तर्क रहेको छ । योगाले शारीरिक तन्तुरुस्ती मात्र होइन मानव शरीरलाई मानसिक रुपमा पनि उत्तिकै उर्जा दिन्छ ।

त्यसैगरी चिकित्सकहरुले पनि पछिल्लो समयमा योगालाई एउटा वैकल्पिक उपचार विधिका रुपमा समेत लिएका छन् । पतन्जली ऋषिसंगै जोडिएको योगा खासमा रामदेव स्वामीले मुख्य प्रचलनमा ल्याएका हुन् । योग गुरु रामदेव जिव विज्ञानका अध्येता समेत हुन् । आधुनिक विज्ञानलाई पनि उनले योगामा जोड्न सफल भए । हजारौं बर्ष अघि ऋषिमुनिहरुले गरेको तपस्या विधिलाई पनि योगामा जोडिएको छ । आयुर्वेदको यो उपचार पद्धति पनि हो । जसलाई पश्चिमा मुलुकहरुले समेत अनुशरण गर्दै आएका छन् । ‘योगा आफैमा उत्कृष्ट हो, तैपनि कहिकतै रोग अनुसारका योगा अभ्यास हुन्छन्, त्यसरीनै बिरामीहरुलाई योगा गर्ने सल्लाह दिइरहेको छु’– प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक रामकामेश्वर ठाकुर भन्छन्, योगाले खासमा कुनै पनि व्यक्तिलाई हानी गर्दैन । उनको भनाइमा उच्च रक्तचाप, पाइल्स, फिस्टुला, फिसर, सुगर, थाइराइड, युरिक एसीड, तथा क्यान्सरमा समेत योगा अत्यन्तै उपयुक्त वैकल्पिक उपचार पद्धति पनि हो, जुन प्रमाणित पनि भईसकेको छ । विशेषगरी हरेक प्रकृतिका दीर्घरोगीहरुका लागि योगा एउटा वैकल्पिक उपचार पद्धति पनि हो ।

तुलसीपुरमा बृहत योग शिविर हुदै
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले यही जेठ ११ गतेदेखि तुलसीपुरको अरनिको मैदानमा बृहत योग शिविरको आयोजना गर्दै छ । नगरबासीको आनीबानीमा परिवर्तन ल्याउंदै स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने तथा योगालाई वैकल्पिक स्वास्थ्य उपचार पद्धतिसंग जोडेर योग शिविर आयोजना गर्न लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताएका छन् । नगरपालिकाको कार्यपालिका बैठकलेनै योग शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । बृहत योग शिविरको आर्थिक व्यवस्थापन उपमहानगरपालिकाले गर्ने बताइएको छ ।

अरनिको मैदानमा दैनिक ५ हजार नागरिकहरुलाई योगाभ्यासमा सहभागी बनाइने योग शिविर आयोजक मुल समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए । शिविरमा पतन्जली योग समितिका नेपाल प्रभारी लवदेव मिश्र लगायतले प्रशिक्षण दिने पनि उनले बताए । भव्य मञ्च सहितको योग शिविर स्थल निर्माणको काम धमाधम सुरु भईसकेको छ । यसका लागि अतिथि सत्कार, मञ्च व्यवस्थापन, धार्मिक एवं सांस्कृतिक व्यवस्थापन लगायत विभिन्न उपसमितिहरु गठन भईसकेका छन् ।

पाँच दिनसम्म चल्ने शिविरमा सहभागिताका लागि उपमहानगरपालिकाले आम दाङबासीलाई आग्रह गरेको छ । शिविर हरेक दिन विहान साढे ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस