२०७९ माघ २६, बिहीबार

तुलसीपुरको नीति तथा कार्यक्रम जेठ २४ मा ल्याइने

जेठ ०७, २०७६  | ८४७ पटक पढिएको

८ जेठ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम जेठ २४ गते प्रस्तुत गर्ने भएको छ । उपमहानगरपालिका कार्यपालिकको ५८ औं बैठकले यस्तो निर्णय गरेको हो ।

समयमै बजेट ल्याउनका लागि नीति तथा कार्यक्रम छिटै ल्याउन लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । ‘अब प्रदेशको नीति तथा कार्यक्रम हेरेर सोही अनुसार डुप्लिकेसन नहुने गरी ल्याइनेछ’ । नीति तथा कार्यक्रममा कस्तो विषयलाई समावेश गर्ने भन्ने बारेमा वडाध्यक्षहरुलाई जेठ १५ गतेभित्र जानकारी गराउन समेत बैठकले निर्णय गरेको छ । नगरप्रवक्ता सुर्यबहादुर डाँगीका अनुसार उपमहानगरपालिकाले असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछ ।

यसैगरी कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको उपमहानगरपालिकाले गरेका कामका बारेमा जेठ ११ गते समिक्षा समेत गर्ने निर्णय गरेको प्रवक्ता डाँगीले जानकारी दिए । उनका अनुसार यस वर्ष सञ्चालन भएका कार्यक्रम र योजनाका बारेमा विभिन्न सरोकारवालाहरुका विचमा समिक्षा गरिने भएको हो ।

यसैगरी बैठकले निर्माणको अन्तिम चरणमा रहेको तुलसीपुर बसपार्कलाई टेण्डर प्रक्रियामा लैजानका लागि समिति समेत बनाएको छ । उपप्रमुख माया आचार्यको संयोजकत्वमा आर्थिक समिति संयोजक माधव वली, लेखा समिति संयोजक राजु आचार्य, ५ नम्वरका वडाध्यक्ष विरेन्द्र शाह, विज्ञ विरेन्द्र महरा, यातायात व्यवसायीका तर्फबाट सुरेश हमाल र बामदेव खनाल, इञ्जिनियर पवन योगीलाई सदस्य समेत तोकेको छ ।

समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृतले तोक्ने निर्णय समेत बैठकले गरेको छ । समितिले १ साता भित्र प्रतिवेदन बुझाउन समेत समयसीमा तोकिएको छ । बसपार्कलाई व्यावसायिक भवन, यात्रुप्रतिक्षालय भवन, विभिन्न अडियो भिडियो विज्ञापन, सवारी साधन प्रवेश र पेट्रोल पम्प लगायतका छुट्टाछुट्टै रुपमा टेण्डर गरिने भएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस