२०७९ माघ १३, शुक्रबार

बाटो खन्ने क्रममा लडेर मजदुरको मृत्यु

जेठ ०७, २०७६  | ८८६ पटक पढिएको

७ जेठ, बलेवा / कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा पहराबाट ३० मिटर तल सडकमा खसेका थिए । घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो । अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणपछि धवलागिरि अञ्चल अस्पतालमा राखिएको छ ।

नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो । अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस