२०७९ माघ २६, बिहीबार

जीवन उपयोगी बन्न सफल रह्यो निःशुल्क एकाउन्टिङ प्याकेज

जेठ ०६, २०७६  | ९६१ पटक पढिएको

– साक्षी खबर
६ जेठ, तुलसीपुर / प्राध्यापक विरेन्द्र कुमार महराले राप्ती बबई क्याम्पस तुलसीपुरमा निःशुल्क अध्यापन गराउँदै आएको, विद्यार्थीहरुका लागि एकाउण्टिङ प्राक्टिकल प्याकेज सोमबार क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच उनले विगत ६ वर्षदेखि निशुल्क रुपमा हरेक वर्ष तीन महिना विद्यार्थीलाई सिकाउँदै आएको एकाउन्टिङ कोर्षका सामाग्रीहरु क्याम्पसलाई हस्तान्तरण गरेका थिए । निःशुल्क रुपमा प्रदान गरेको प्याकेजले विद्यार्थीलाई जागिरका क्रममा धेरै सहज बनाएको अनुभव यसअघिका विद्यार्र्थीहरुले कार्यक्रममा राखेका थिए ।

एकाउन्टिङ, अडिटिङ र ट्याक्शेसनका विषयमा दिइंदै आएको प्याकेजले सहकारीकर्मी, बैंकका जागिरे, लोकसेवा पास गर्नेहरुको तयारी लगायत धेरै पक्षमा एउटा आधार बनेको थियो ।

महराले विगत ६ वर्षदेखि विद्यार्थीहरुलाई दिइदैं आएको तीन महिने निःशुल्क प्याकेज त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुरुपको होइन, जुन व्यवहारिकताका लागि अतिरिक्त पढाई थियो । जसलाइ महराले ६ महिना लगाएर डिजाइन गरेका थिए ।

यसकै कारण राप्ती बबई क्याम्पस नेपाल सरकार अनुदान आयोगको मुल्यांकनमा नेपालकै दोस्रो उत्कृष्ठ सामुदायिक क्याम्पस बन्न पनि सफल भएको थियो ।

सो निःशुल्क प्याकेज सोमबार क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार देवकोटालाइ सो प्याकेजको फाइल महराले हस्तान्तरण गर्दै भनेका छन्– ‘यो तीन महिने अतिरिक्त प्याकेजको गुणस्तरका विषयमा न्यायिक परीक्षण गर्न पनि आग्रह गर्दछु ।’

विद्यार्थीहरु जुनबेला कामका क्रममा फिल्डमा जान्छन्, त्यतिबेला मात्रै प्याकेजको महत्व बुझ्ने गरेका छन् । ‘व्यवस्थापन बुझी सक्नुको विषय होइन, एकाउण्ट र अडित युनिभर्शल हुन्छ, तर टेक्सेशन भने मुलुकैपिच्छे फरक हुन सक्छ, अतिरिक्त ज्ञानले मात्र यसलाई सम्भव तुल्याउने छ’, महराले विद्यार्थीलाई भनेका छन्– यो प्याकेजको स्वामित्व मैले क्याम्पसलाई हस्तान्तरण गरेपनि मेरो संलग्नता भने अझै निरन्तर रहने छ ।

कार्यक्रममा प्रमुख बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विरेन्द्र महराले राप्ती बबई क्याम्पसमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै भावि दिनमा पनि यस्ता प्राज्ञिक व्यक्तित्वको साथ र सहयोगको अपेक्षा गरे । साथै उनले राप्ती बबई क्याम्पसलाई अव्वल क्याम्पस बनाउन उपमहानगरपालिकाले आवश्यक परेको अवस्थामा सबै सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख लिलाप्रसाद शर्माले मुलुकको समृद्धि करसँग जोडिएको भन्दै पारदर्शिताका विषयमा गम्भीर बन्न विद्यार्थिहरुलाई सुझाव दिए । ‘मान्छे सबथोकबाट भाग्न सक्छ, तर मृत्यु र करबाट भाग्न सक्दैन’ कर प्रमुख शर्माले भने । साथै स्थानीय सामुदायिक क्याम्पस भएकाले आफुले लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा विविएस प्रथम एमुना घर्ति, बिएड प्रथम वर्षका आशिष नेपालीलाई सम्मान गरिएको थियो । साथै निःशुल्क प्रयोगात्मक एकाउण्ट प्याकेज लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा राप्ती बबई क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति अनिल कार्मि, तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चिरञ्जिवि रिजाल, सहकारीकर्मी लुमा भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख सुर्य प्रसाद शर्माले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस