२०७९ माघ २१, शनिबार

विकट गाउँ तोप्पापानीमा एम्बुलेन्स र वर्थिङ्ग सेन्टर

जेठ ०३, २०७६  | ११४७ पटक पढिएको

३ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाको विकट ठाउँ मानिने वडा नम्वर १९ तोप्पापानीमा एम्वुलेन्स सेवा र वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका हरेक नागरिकलाई स्वास्थ्यको सहजै पहुँचमा पुर्याउनका लागि सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनले विकट वडालाई लक्षित गरेर ३ वटा एम्वुलेन्स आएको जानकारी दिदै अन्य वडामा पनि वितरण गरिने जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार एम्वुलेन्स सेवामा ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गलाई ५० प्रतिशत छुट दिइने छ ।

वर्थिङ्ग सेन्टर स्थापना हुनुभन्दा अगाडि सुत्केरी हुनका लागि तुलसीपुरमा रहेको प्रादेशिक अस्पताल मै जानुपर्ने बाध्यता रहेको थियो । समयमै सुत्केरीलाई अस्पताल पुर्याउन नसक्दा केयौको ज्यान समेत जाने गरेको थियो । यसभन्दा अगाडि उपमहानगरपालिकाले फुलवारी, डुरुवा, उरहरी, मानपुर, पवननगर लगायतका ठाउँमा वर्थिङ्ग सेन्टर स्थापना गरिसकेको स्वास्थ्य शाखा उप संयोजक विष्णु गिरीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले जनताको स्वस्थ रहने अधिकारको रक्षा गर्नका लागि उपमहानगर प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले जनताको स्वास्थ्य राम्रो भए मात्रै विकास र समृद्धि सम्भव हुने वताए । उनले स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि उपमहानगरपालिकाले व्यवस्था गर्ने पनि बताएका थिए । ‘अब बच्चा जन्माउन नसकेर यस क्षेत्रमा कुनै पनि महिलाको मृत्यु हुने छैन’ नगर प्रमुख पाण्डेले भने ।

उनले बच्चा जन्माउन सक्ने सामान्य अवस्था भए वर्थिङ्ग सेन्टरमै र जटिल भए एम्वुलेन्सले अस्पतालसम्म लैजान सहज हुने बताए । गाउँगाउँमा स्वास्थ्य केन्द्र स्थापनाका लािग आफुले गरेको चुनावी प्रतिबद्धता पुरा गर्दै गएको भन्दै नगरप्रमुख पाण्डेले जनताको आधारभुत आवश्यकता पुरा गर्नका लागि आफु कटिबद्ध रहेको बताए । तुलसीपुरलाई नमुना शहरका रुपमा विकास गर्नका लागि सबै जनताले नमुना काम गर्नुपर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख माया आचार्यले बर्थिङ्ग सेन्टरलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको वताए । वडा नम्वर २ का वडाध्यक्ष एवम् स्वास्थ्य समिति संयोजक राजु आचार्यले उपमहानगरपालिका भरि नै स्वास्थ्य संस्थाहरुको सेवा सुधारमा ध्यान दिने बताए । सबैको सहयोगले मात्रै स्वास्थ्य सेवामा केही नमुना काम गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा प्रदेश कमिटीका सदस्य टोपेन्द्र खत्रीले विकट वडाका जनताका समस्या समाधान गर्नमा उपमहानगरपालिकाले पहिलो प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए । नेपाली कांग्रेसका नेता हिमबहादुर डाँगीले स्वास्थ्य चौकीमा नयाँ सेवा सञ्चालन गर्नुका साथै यसलाई निरन्तरता दिनु चुनौति रहेको बताए । वडाध्यक्ष राम वहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य स्वयम् सेविका रेखा रोका, कुटिचौर माविका प्रअ गोपाल खड्का, उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस