२०७९ माघ २१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

बैशाख ३१, २०७६  | ३०१८ पटक पढिएको

३१ वैशाख, नोम पेन्ह /

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गर्नुभएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ आइपुग्नुभएका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताउनुभयो ।

उहाँले दुवै नेताले दुई देशका संसद्बीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने सहमति भएको पनि बताउनुभयो । प्रधानमन्त्री ओली भियतनामको पाँच दिने औपचारिक भ्रमणपछि सोमबार आइपुग्नुभएको हो ।
कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले कम्बोडिया अधिराज्य र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगलाई प्रबद्र्धन गर्ने अपेक्षा गरेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो ।

प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएको छ । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ । यहाँ एङ्करवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।

यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।
यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् ।

यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि हुनुहुन्थ्यो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस