२०७९ माघ १३, शुक्रबार

“उपभोक्ता समितिलाई निगरानी गरौ”

बैशाख ३०, २०७६  | ७२१ पटक पढिएको

३० वैशाख, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ हेमन्तपुरका शिव थापाले उपभोक्ता समितिले लागत बजेट भन्दा धेरैमा योजना सम्पन्न गर्ने गरेको गुनासो गरे । ‘एउटै काम ठेकेदारले गर्दा आधा कममा हुन्छ भने उपभोक्ता समितिले कसरी दुई गुणा बढि लगाउछ ?’ उनले प्रश्न गरेका थिए ।

यस्तै खालको गुनासो थियो सोही ठाउँ निवासी चन्द्रलाल खड्काको पनि । उनले उपभोक्ता समितिले गरेका काममा विशेष निगरानी राख्नुपर्ने आवश्यकता रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा आयोजना गरिएको आर्थिक वर्ष २०७५/७६ को योजना तथा कार्यक्रम बारेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिहरुले मन खोलेर गुनासो गरेका थिए । कतिपयले वडाले निकै राम्रो काम गरेको भन्दै थप राम्रो कामका लागि प्रोत्साहन समेत दिएका थिए । बिजौरीका विदुर गौतमले फोहोर व्यवस्थापनका लागि वडाले ध्यान दिनुपर्ने कुरामा जोड दिए । उदाउँदो शहरका रुपमा रहेको बिजौरीमा पार्किङ्गको समस्या रहेको भन्दै उनले तत्काल नयाँ ढँगले सोच्नुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा विजुला परियारले महिलाहरुका लागि छुट्याएको वजेट महिलाहरुकै लागि उपयोग गर्नुपर्ने औल्याइन् । अर्की सरिता विकले विभिन्न ठाउँमा बाटो चौडा बनाउँदै लगेपनि पोल व्यवस्थापन हुन नसकेको बताइन् ।

कार्यक्रममा जनताको गुनासो र सुझाव सुनिसकेपछि वडाध्यक्ष माधव वलीले विकासमा आफु प्रतिबद्ध रहेको भन्दै सानो बजेटमा धेरै काम गर्न समय लाग्ने बताए । भौतिक विकासमा धेरै रकम विनियोजन गरेको बताउँदै उनले सामाजिक विकासमा पनि ध्यान दिने बताए । ‘काम गर्दा कहिलेकाही केही समस्या अवश्य पनि आउँछ तर हामीले हरेक कुराको समाधान गर्दै गएका छौ’ उनले भने । वैज्ञानिक ढँगले बजेट विनियोजनमा ध्यान दिएको बताउँदै अध्यक्ष वलीले समृद्ध वडा बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका लेखा अधिकृत वासुदेव अधिकारी, वडा सचिव निर्मल रेग्मी लगायतले विभिन्न प्रशासनिक र आर्थिक सवालहरुको जवाफ दिएका थिए भने कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

बाटोको स्पष्ट मापदण्ड भएन
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ मा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले बाटोको स्पष्ट मापदण्ड हुनुपर्ने कुरामा जोड दिएका छन् । उनीहरुले सडक निर्माण गर्ने बेला स्पष्ट मापदण्ड निर्धारण नगर्दा सडक सानो ठूलो हुने गरेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै नारायणप्रसाद पौडेलले बाटोको मापदण्ड निर्धारण गरेर निर्माण अगाडि बढाउन आग्रह गरे । चुलेसेका संगित वस्यालले सम्पन्न नभएका योजना सम्पन्न गरेको भनेर उल्लेख गरेको प्रति आपत्ति प्रकट गरे ।

सार्वजनिक सुनुवाईमा निश्चित व्यक्तिलाई मात्रै बोलाइएको प्रति उनको गुनासो थियो । नयाँबस्तीका केशव वलीले वडामा हुने कार्यक्रममा उपस्थितहरुलाई हस्ताक्षर गराएर पैसा नदिएको गुनासो गरे । ‘केही दिन अगाडि एउटा संस्थाले सहभागिलाई हस्ताक्षर गराएर पैसा दिएन, यस्तो अनियमित काम हेर्नु पर्दैन ?’ उनले प्रश्न गरेका थिए । तालिमको आयोजना गर्दा वडाका सबैलाई खवर नगरेर निश्चित व्यक्तिलाई मात्रै सहभागि वनाईएको प्रति पनि उनले गुनासो गरे । अर्का सहभागि मुक्ती भट्टराईले योजनामा पैसा कटिने गरेको भन्दै गुनासो गरे ।

सहभागिहरुका कुरा सुनिसकेपछि वडाध्यक्ष घनश्याम ढकालले उपमहानगरपालिकामा सबैभन्दा राम्रो काम आफ्नो वडामा भएको भन्दै थप नयाँ काम गर्ने प्रेरणा मिलेको बताए । जनताको सक्रिय सहभागिताले आफुलाई थप काम गर्न हौस्याएको भन्दै उनले केन्द्र र प्रदेशका योजना समेत गरेर करोडौको योजना वडामा सम्पन्न भएको जानकारी दिएका थिए । कार्यक्रममा प्रशासन शाखा अधिकृत टंक गौतम, सहकारी शाखा अधिकृत गिरीराज मिश्र लगायतले विभिन्न प्रशासनिक विषयमा जानकारी गराएका थिए भने कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस