२०७९ माघ १७, मंगलबार

रुकुम पूर्वमा आँखा उपचार केन्द्र स्थापना

बैशाख २९, २०७६  | २२५५ पटक पढिएको

२९ वैशाख, तुलसीपुर / हिमाली जिल्लाको रुकुम पूर्वको सिस्ने गाउँपाललिका रुकुमकोटमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । त्यहाँका जनतालाई सहजरुपमा आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो ।

सो आँखा उपचार केन्द्रको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर वलीको प्रमुख आतिथ्य एवं सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आँखा उपचार केन्द्र सञ्चालनसँगै अब यहाँका जनतालाई सहज हुने बताएका थिए ।

उपचार केन्द्रको उद्घाटन गदै जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर वलीले रुकुम पूर्वमा आँखा उपचार केन्द्र स्थापना भए संगै अव यहाँका जनताले सहज उपचार सेवा पाउने बताए । उनले यस अघि सामान्य उपचारका लागि पनि जिल्ला वाहिर वा रुकुम पश्चिममा जानुपर्ने बाध्यता अन्य भएको बताए । ‘हाम्रो जिल्लामा आँखा उपचार केन्द्र सञ्चालन भएकोछ, यसको विकाश र विस्तारमा हाम्रो पूर्णरुपले सहयोग हुनेछ उनले भने ।’


त्यसैगरी गाउँपालिकाका अध्यक्ष कुमारी वरालले पहिले देखिनै आफुहरुले रुकुम पूर्वमा आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाएको र सो योजना आज पुरा भएको बताइन् । उनले आँखा उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिका र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि उपचार केन्द्रको विकाशमा लाग्ने बताइन् । ‘हाम्रो जिल्लामा अब आँखा उपचार केन्द्रपनि स्थापना भएकोछ, यसलाई कसरी राम्रो बनाउन सकिन्छ र थप सेवा प्रवाह गर्न सकिन्छ त्यसको लागि हामीहरु लाग्नेछौं उनले भनिन् ।’ उनले आँखा उपचार केन्द्र जिल्लामै स्थापना भएपछि अव यहाँका नागरिकहरुलाई सहज भएको बताइन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले आँखा उपचार केन्द्र स्थापनाका लागि आफुले समन्वयकारी भुमिका खेलेको भन्दै यसको विकाशमा आफुले थप समन्वयको भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य समेत रहेका कृष्णकुमार गिरीले संघले नेपालमा नेत्ररोगीहरुको कल्याणको लागि नेपाल सरकारको नीति र राष्ट्रिय कार्यक्रममा सघाउ पर्याउने गरी स्वदेशमै बिभिन्न प्रकारका आँखा उपचारको सुविधा सुलभ गराउदै आएको बताए ।

संघ अन्तर्गत १८ वटा आँखा अस्पतालहरु र ८० वटा आँखा उपचार केन्द्रहरु संचालन रहेको र वार्षिक १२ लाख भन्दा बढी नेत्ररोगीहरुलाई बहिरंग सेवा र करिव २ लाख भन्दा बढीको मोतियाविन्दुको शल्यक्रियागरी उपचार सेवा पुर्याउदै आईरहेको बताए । गिरीले रुकुम पूर्वका जनताहरुलाई सहज आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले उपचार केन्द्र स्थापना गरेको र यसको सहयोग र विकासका लागि स्थानीय सरकार लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले संघले यस अघि पनि राप्तीका विभिन्न जिल्लामा आँखा उपचार सेवा प्रदान गरी लाखौलाई आँखा उपचार सेवा दिएको भन्दै त्यहाँका जनतालाई सहजरुपमा आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए ।

त्यस्तै अस्पतलका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले २०४३ मा राप्ती आँखा अस्पतालको स्थापना भई दुईवटा आँखा अस्पतालहरु चारवटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरेको बताए । थापाले प्रदेश नं. ५ अन्तर्गतको जिल्लाहरु कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रुकुम पूर्व र प्रदेश नं. ६ अन्तर्गतको जिल्लाहरु सल्यान, रुकुम पश्चिम मा आँखा उपचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय आँखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम सेवाहरु सञ्चालन गर्दै आएको बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव भिमबहादुर खड्का, नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्री, नेपाल नेत्रज्योति संघका कानुनि सल्लाहकार प्रवीण लम्साल, राप्ती आँखा अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेललगायतले बोलेका थिए । उद्घाटनको अवसरमा ५० जना बढीको निःशुल्क उपचारका साथै औषधी उपलव्ध गराएको उपचार केन्द्रका विष्णु खनालले जानकारी दिए । त्यसैविच सिस्ने गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालनका लागि वार्षिक दशलाख बजेट उपलव्ध गराउने सम्झौता समेत भएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस