२०७९ माघ १३, शुक्रबार

पूर्वविद्यार्थीले बालकक्षा सुधारे

बैशाख २८, २०७६  | ९७१ पटक पढिएको

२८ वैशाख, बागलुङ / फराकिलो कोठा । ‘कार्पेट’ ओछ्याएको भुइँ । सुकिला चकटी । नानाथरी खेलौना अनि तख्तामा खेल्दै सिक्ने सामग्री । झट्ट हेर्दा देखिने यो दृश्य हो विद्यामन्दिर मावि, बालकक्षाको ।

बागलुङ नगरपालिका–३ स्थित विद्यालयको बालकक्षा यत्तिमा समेटिन्न । स्वच्छ वातावरण, सफा पिउनेपानी, मीठो खाजा, दक्ष शिक्षक र स्तरीय सिकाइ पद्धतिले बालकक्षाको अरु अवस्था दर्शाउँछ । यो यत्तिकै भएको भने होइन ।

गत वर्षसम्म बालबालिका भुइँमा बसेर पढ्थे । भोकभोकै हुन्थे । सिकाइमैत्री वातावरण थिएन भने बालकक्षा अव्यवस्थित थियो । तर, अहिले बालकक्षाको अवस्था फेरिएको छ ।

कलिला बालबालिकाले पढ्ने, सिक्ने ठाउँको दयनीय अवस्था देखेपछि विद्यालयका पूर्वविद्यार्थीको मन कुँडियो । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्नुपर्छ भन्ने सोच जन्मियो । बालकक्षा सुधारमा पूर्वविद्यार्थीले अगुवाइ गरे ।

वर्ष दिनको अवधिमा बालकक्षामा उल्लेख्य सुधार आएको छ । बालबच्चा ल्याउन अभिभावकले तछाडमछाड गनुपर्ने अवस्थाको सिर्जना भएको छ । शिशु र बालविकासका रुपमा दुई तहका कक्षामा बालबालिका पढ्छन् । दुवैमा गरी अहिले ४० बालबालिका छन् ।

बालकक्षाको व्यवस्थापकीय सुधारसँगै गुणस्तर बढाउन लगानी गरिएको पूर्वविद्यार्थी मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । भौतिक सुधार, निःशुल्क खाजा, पोशाक र शिक्षक व्यवस्थापनमा रु छ लाखभन्दा बढी खर्च भइसकेको उहाँको भनाइ थियो । “पूर्वविद्यार्थीको सहयोगमा व्यवस्थापन अघि बढेको छ”, राजभण्डारीले भन्नुभयो, “यो वर्ष झण्डै रु १० लाख खर्च हुने अनुमान छ ।” पूर्वविद्यार्थीकै सहयोगमा बालकक्षामा एक सहजकर्ता थपिएको छ । विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ ।

खाजामा मात्र मासिक रु ३० हजार खर्च हुने गरेको छ । खाजासँगै बालबालिकालाई दूध पनि खुवाइन्छ । शिशुकक्षामा निःशुल्क खाजा गत वर्ष पूर्वप्रधानन्यायाधीश एवं विद्यालयका पूर्वविद्यार्थी कल्याणकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो । शिशुपछिका बालबालिकालाई निःशुल्क खाजा गत मङ्गलबार विद्यालयका पूर्वविद्यार्थी एवं नागरिक सञ्चार प्रालिका अध्यक्ष पुष्पमान श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो । बालमैत्री वातावरणमा सिकाइको गुणस्तर बढाउन दिवाखाजाले टेवा पु¥याउने उहाँको विश्वास छ ।

बालकक्षा व्यवस्थापनमा पूर्वविद्यार्थीको सहयोग आउने क्रम जारी छ । हालसम्म निर्देश राजभण्डारीबाट रु २५ हजार, सुवास राजभण्डारीबाट रु ३० हजार, पूर्वप्रधान्यायाधीश कल्याणकुमार श्रेष्ठबाट रु २४ हजार प्राप्त भएको छ । यस्तै पूर्वविद्यार्थी राजेन्द आचार्यले रु १२ हजार ५००, ओमबहादुर जिसीले रु एक लाख एक हजार १११ र पुष्पमान श्रेष्ठले रु ३० हजार प्रदान गर्नुभएको छ । बालकक्षाको फर्निचर व्यवस्थापनका लागि सुनिल प्रधानबाट रु दुई लाख र विनय शाक्यबाट रु २० हजार सहयोगको प्रतिबद्धता आएको छ ।

बालकक्षामा आकर्षण बढाउन र बालबालिका टिकाउन दिवाखाजाले सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनुभयो । बालकक्षामा अधिकांश विपन्न वर्गका बालबच्चाले पढ्ने हुँदा सबै क्षेत्रको सहयोगको खाँचो रहेको उहाँको भनाइ थियो । “बालकक्षा सुधारमा पूर्वविद्यार्थीले देखाएको तदारुकता अनुकरणीय छ”, उहाँले भन्नुभयो ।

सहकारी संस्था एकीकरण

काठेखोला गाउँपालिका–२ भिमापोखराका तीन सहकारी एकापसमा गाभिएका छन् । गुहेँली सञ्चार, सूर्यमुखी कृषि तथा पशु व्यवसायी र सक्षम बचत तथा ऋण सहकारी संस्था एकीकरणपछि एक भएका हुन् ।

एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । बचत, कोष, शेयर पूँजी, लगानीजस्ता सबै दायित्व गुहेँलीले बहन गर्ने गरी एकीकरणको सम्झौता भएको थियो ।

सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि–२०७० अनुसार सहकारी एकीकरण गरिएको गुहेँली सञ्चार सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष खिमबहादुर कार्कीले बताउनुभयो । “तीनै सहकारीले विशेष साधारणसभामार्फत एकीकरणको निर्णय गरेका हुन्” उहाँले भन्नुभयो । एकीकरणपछि भूमिश्वर उपाध्यायको अध्यक्षतमा नयाँ सञ्चालक समिति बनेको छ ।

साधारणसभाले सहकारीको कार्यक्षेत्र विस्तार गर्ने निर्णयसमेत गरेको छ । हाल काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाको वडा नं ६ र ७ मा मात्र सहकारीको कार्यक्षेत्र छ । एकीकरणपछि सहकारीको कूल पूँजी रु ८९ लाख ९८ हजार ९२६ पुगेको छ । यस्तै शेयर सदस्य सङ्ख्या बढेर ३०० पुगेको छ ।

सहकारीलाई पूँजी, भौतिक तथा मानवीय संशाधानद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखासमितिलगायत अन्य समिति र पदाधीकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ ।

यस्तै शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि २०७० ले गरेको छ ।

हालसम्म जिल्लामा १० भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् । जिल्लामा पहिलोपटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको थियो । गुँहेली सञ्चार सहकारी संस्था लिमिटेडले ‘जननिगरानी’ साप्ताहिक र ‘खबर वे’ अनलाइन पत्रिका सञ्चालन गर्दै आएको छ । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस