२०७९ माघ १७, मंगलबार

३१ जना ज्येष्ठ नागरिकलाई उज्यालो प्रदान

बैशाख २४, २०७६  | १२७९ पटक पढिएको

२४ वैशाख, तुलसीपुर / शान्तिनगर गाउँपालिकाले गाउँपालिकाका ३१ जना ज्येष्ठ नागरिकहरुलाई उज्यालो प्रदान गरेकोछ ।गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा उनीहरुको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको हो ।

गाउँपालिका र नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल बिच मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया साझेदारी कार्यक्रम अन्तर्गत शल्यक्रिया गरी उज्यालो प्रदान गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । उनले यस आर्थिक वर्षमा गाउँपालिकाका ५० जनालाई उज्यालो प्रदान गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३१ जनाको शल्यक्रिया गरीएको र अन्यको केही दिनमानै गरिने बताए । स्थानीय सरकारले आफुहरुको आँखामा देखिएको मोतियाबिन्दुको निःशुल्क सल्यक्रिया गरी उज्यालो प्रदान गरेको भन्दै स्थानीयहरु खुसी भएका थिए । त्यसैबिच निःशुल्क शल्यक्रिया गरिएका विरामीहरुलाई मंगलवार निःशुल्क चश्मा तथा औषधी समेत वितरण गरिएकोछ ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शल्यक्रिया गरिएका बिरामीहरुलाई निःशुल्क औषधी तथा चश्मा वितरण गरीएको थियो ।

कार्यक्रममा बोल्दै संघका सभापति कृष्णकुमार गिरीले दाङका १० वटै स्थानीय निकायमा उपचारबाट हटाउन सकिने अन्धोपन न्यूनिकरणका लागि आफुहरुले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । उनले पैसाको अभावको कारण कोही कसैले पनि अन्धोपनबाट घरमानै बस्नुपर्ने अवस्था यसले अत्य गर्ने बताए । कार्यक्रममा अस्पतालका चिफमेडिकल डाइरेक्टर नेत्ररोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवालले साझेदारी कार्यक्रमले धेरै ज्येष्ठ नागरिकलाई उज्यालो प्रदान गर्ने भन्दै शल्यक्रिया गरिएका सबै विरामीहरुले पहिले जस्तै देख्न सक्ने भएको बताइन् ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्का, नेत्ररोग विशेषज्ञ डा. कौशल पोख्रेल, राप्ती आँखा अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेल, दृष्टि विशेषज्ञ ओम यादव, नेत्र अधिकृत शालिकराम गौतम लगायतले चश्मा तथा औषधी वितरण गरेका थिए । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस