२०७९ माघ १३, शुक्रबार

बागलुङमा दुई पुरुष व्यक्तिको शव फेला

बैशाख २४, २०७६  | १०६९ पटक पढिएको

२४ वैशाख, बलेवा / बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो ।

सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिए ।

घर्ती चार महीनाअघिदेखि बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजी गरिरहेको भए पनि सोमबार मात्रै उनको शव जङ्गलमा फेला परेको हो । उनको शव परीक्षणका लागि प्रहरीले धवलागिरि अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरि अञ्चल अस्पताल ल्याइएको छ ।

यस्तै जिल्ला सदरमुकाम बागलुङ बजारको श्रीनगरटोलमा सोमबार दिउँसो हिँड्दाहिँड्दै एक व्यक्तिको ज्यान गएको छ ।

नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ घर भई हाल बागलुङ बजारमा ज्याला मजदुरी काम गर्दै आएका अन्दाजी ३८ वर्षीय खुमानन्द पौडेलको हिँड्दाहिँड्दै निधन भएको हो ।

बाटोको छेउमा रगत बान्ता गरी पल्टिएपछि उपचारका लागि धवलागिरि अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका सदस्य बागलुङ आइनपुगेकाले उनको शव अञ्चल अस्पतालमा राखिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस