२०७९ माघ २६, बिहीबार

“पहिले विश्वशान्ति, अब शिक्षाको चेतना फैलाउंदै गोरखा ग्रुप”

बैशाख २०, २०७६  | १२६४ पटक पढिएको

२० वैशाख, दाङ / त्यसताका विश्वशान्तिको अभियानमा लागेका वीर गोरखालीहरु अहिले राष्ट्र निर्माणमा जुटेका छन् । गोरखा ग्रुपका नाममा संगठित उनीहरु दाङमा भेला भएर शिक्षा र स्वास्थ्यको नयाँ भिजन सहित अघि बढ्ने अठोट सार्वजनिक गरेका छन् ।

स्थापनाको कम्तिमा दुईदशक पछि दाङमा जुटेका उनीहरु ‘शेलेवल एजुकेशन’को अभियानमा छन् । गोरखा ग्रुपको पहिलो बृहत भेलाको उद्घाटन कार्यक्रममा उनीहरुले यस्तो अभियानको खाका प्रस्तुत गरे । ‘विश्व शान्तिको अभियानमा करिव डेढ दशक वितायौं, अब हाम्रा पाइला राष्ट्र निर्माणमा अघि बढ्ने छन्’, बृहतसभामा बोल्दै ग्रुपका अध्यक्ष मान बहादुर बुढाले भने । साथै उनले त्यसकालागी पहिलो लगानी शिक्षा र स्वास्थ्यमा केन्द्रित गरेको बताए । ‘हामीलाई थाहा छ, यो अभियान हामी एक्लैबाट सम्भव हुने छैन, त्यसमा सम्पूर्ण दंगालिहरुको साथ र सहयोगको अपेक्षा गर्दछौं’, अध्यक्ष बुढाले भने ।

बृहतसभामा आफ्ना भावि कार्यक्रम प्रस्तुत गर्दै गोरखा ग्रुपका सिइओ नोवल जिएमले सिकाई प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने अठोट व्यक्त गरे । ‘बृहत सभाले सायद हामीलाई म्याण्डेड दिनेछ, अबको करिव एक र्पाछ वर्ष हामीले थप विद्यालय खोल्ने छैनौं, स्कुलको साइज पनि बढाउने छैनौं र कक्षामा सेक्सन पनि थप गर्ने छैनौं, किनकि हामीहरुका विद्यालयमा अहिलेनै हामीलाई आवश्यक ७ हजार विद्यार्थीहरु छन्’, कार्यकारी प्रमुख जिएम भन्छन्, अबका पाइला गुणस्तरको विकासमा केन्द्रित हुने छन् । अब गोरखा ग्रुपको फोकस मुख्य गरी वल्र्ड क्लास एजुकेशनमा केन्द्रित हुने पनि उनले बताए ।

बृहत सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. केशरजंघ बरालले नेपाल सरकारको शिक्षा नीति र विश्व शिक्षाको प्याटर्न हेर्दा अव संस्थागत विद्यालय पनि विश्वविद्यालयको कन्सेप्टमा जानसक्ने भएकाले त्यसको तयारी गर्न गोरखाग्रुपलाई आग्रह गरे । ‘यदि २० वर्षपछि तपाई विश्वविद्यालय खोल्दै हुनुहुन्छ भने जग्गा व्यवस्थाकालागी अहिले देखि नै तयारी गर्नुस्, किनकि त्यो बेला जग्गा व्यवस्थापनमा समस्या नहोस्’—प्रमुख अतिथि बरालले भने, अब संस्थागत विश्वविद्यालयको लहर आउने छ ।

साथै उनले एक्सटेन्शन प्रोग्राम र आउटरिच प्रोग्रामलाइ पनि एकसाथ अघि बढाउन सञ्चालकहरुलाइ सुझाव दिए । ‘यहाँ लोकसंस्कृति र लोक संगीतको उच्च शिक्षा थाल्नुस्, यसले पर्यटनको विकाशसंगै मुलुकको अर्थतन्त्रलाइनै टेवा दिन सक्ने छ’— प्रमुख अतिथि बरालको सुझाव थियो ।

कार्यक्रममा गोरखा ग्रुपका सल्लाहकार तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पैसाको महत्व नबुझेका गोरखालिहरुमा पछिल्लो दशकमा धेरै शैक्षिक चेतनाको विकास भएको भन्दै अब अंग्रेजको दाश बन्ने होइन, राष्ट्रसंघको मालिक बन्ने अभियानमा जुट्न पनि आग्रह गरे । ‘तपाइहरुले यस्तो क्षेत्रमा लगानी गर्नुस् कि तपाइका सन्ततिहरुले कहिल्यै नेपाललाई भुल्न सक्ने छैनन्’— विशिष्ट अतिथि शर्माले भने । कार्यक्रममा आइन्सटाइन कलेजका प्राचार्य कुल प्रसाद गुरुङले सिकाई जहिले पनि आफुमा मात्र सिमित नरहने भन्दै नयाँ नयाँ विषयको शिक्षामा ध्यान दिन सुझाव दिए । ‘मैले अन्तरिक्षमा टेकेको पहिलो पाइला मेरो होइन, यो त पृथ्वीका सम्पूर्ण मानव जातिको हो’, वैज्ञानिक निलआर्मस्ट्रङले अन्तरिक्षमा पहिलो पाइला टेक्दा भनेका थिए, शिक्षा पनि त्यस्तै अनुकरणिय बन्न आवश्यक छ ।

कार्यक्रममा ग्रुपका सेयर सदस्य हरिबुढा मगर, घोराही उप महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, पुर्व विद्यार्थी समाजका जिल्ला अध्यक्ष विकास शर्मा लगायतकाले भनाइ राखेका थिए ।

सञ्चालक समितीका सदस्य दुर्गाबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गोरखा स्कुल घोराहीका प्रधानाध्यापक मानसिंह घर्तिमगरले गरेका थिए । बृहतसभाका अवसरमा गोरखा ग्रुपमा नयाँ शेयर सदस्यहरुलाई स्वागत गरिएको थियो भने केहि पुराना शेयर सदस्यहरुलाई बिदाई पनि गरिएको थियो ।

त्यस अवसरमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पूर्व विद्यार्थी ओमकुमारी बुढामगर, शिक्षक बामदेव पोख्रेल, ग्रुपका सि ओ नबोलसिंह घर्ति मगर, नारायणप्रसाद शर्मा लगायतकालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । २१ वर्ष पहिले स्थापना भएको गोरखा ग्रुपले जिल्लामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस