२०७८ असोज ११, सोमवार

अझै अलमलमा चारलेन : न काम भो, न त कारबाही नै

साक्षी खबर  |  भदौ १६, २०७८  | ३५१ पटक पढिएको

१६ भदौ, बिजौरी । करिव डेढ वर्षदेखि निर्माणको काम रोकिएको जिल्लाकै गौरवको योजना घोराही–तुलसीपुर चारलेन सडक अझै अलमलमा छ ।

निर्माण कम्पनीले पटक पटक थप मागेको समय समेत सकिन पन्ध्र महिना मात्र बाँकी रहँदा कामको प्रगति साढे ६ प्रतिशतमा मात्र सीमित छ । निर्माण कम्पनीले मागेको भाखामा पनि काम सुरु हुन नसक्दा यातायात सेवा भने निकै जोखिमपूर्ण रहेको छ ।

निर्माणको काममा जतिसुकै ढिलासुस्ती भए पनि यसलाई कार्यान्वयन गर्ने निकाय यातायात व्यवस्था मन्त्रालयको सडक विभाग माताहतको चारलेन सडक परियोजना भने गुमनाम जस्तै छ । परियोजनाका प्रमुख डिइ पारस हमालले विगत एक वर्षदेखि काम दुई साताभित्रै सुरु हुने अभिव्यक्ति दिइरहेका छन् । निर्माण कम्पनीले कहिले कोरोनाको कारण देखाउँदै आएको छ त अहिले आएर मनसुनलाई कारण बनाएको छ ।

तोकिएको समयमा तोकिएको लक्ष्यअनुसार प्रगति गर्न नसकेका कारण यो सडक स्तरोन्नतिको काममा खटिएका तथ्य इञ्जिनियरिङ नेपालका प्रतिनिधि अनुप पाण्डे बाहिरिएर नयाँ प्रतिनिधि खटाइएको निर्माणको जिम्मा पाएको भारतको मुम्बैस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले यसै साता नयाँ व्यवस्थापनका साथ काम थाल्ने बताएको थियो ।

यद्यपि अनुप पाण्डे स्थानीय प्रतिनिधिबाट बाहिरिएको विषयमा परियोजना कार्यालयलाई भने कुनै जानकारी छैन । नयाँ प्रतिनिधि भनिएका दोर्ण दुलालको टिम पनि आफुलाई आधिकारिक प्रतिनिधिकारुपमा अझै प्रस्तुत गर्न सकेको छैन । दुलाल पक्षले अहिलेसम्म भएका कामहरुको पुरै फेहरीस्त र स्वामित्व हस्तान्तरणको काम अझै नसकिएको बताएको छ । यद्यपि काम भने आफ्नै टिमले सुरु गर्ने दुलालले पत्रकारहरुमाझ बताइसकेका छन् ।

‘कम्पनीका प्रबन्ध निर्देशक प्रविण पाण्डे स्वयम्ले जुम मिटिङमा यसै सातादेखि काम सुरु गर्ने भनिसक्नु भएको छ, मलाई लाग्छ, अहिले सामानहरु व्यवस्थापनको काम सुरु भैसकेको छ’ परियोजनाका डिइ पारस हमालले साक्षी खबरलाई भने ।

उनले अहिले कुइरेपानी साइटतर्फ फिलिङको काम तथा अन्य क्षेत्रका लागि आवश्यक क्रसर उत्पादनको काम भैरहेको पनि हमालले बताएका छन् । हमालले पत्रकारहरुसँग निर्माण कम्पनी सबै कारणले कारबाही गर्न लायक छ, तर कोभिडका कारण रोकियो भन्दै आएका थिए ।

हामी काममा आइसक्यौंः निर्माण कम्पनी स्थानीय प्रतिनिधि

यसैबिच तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर प्रोजेक्ट प्रालिका नेपाल प्रतिनिधि दोर्ण दुलालले आफुहरु सडक स्तरोन्नतिको काममा खटिइसकेको बताएका छन् ।

अहिले सडक कालोपत्रेका लागि आवश्यक ग्रावेल, क्रसिङ मेटरीयल, विटुमिन लगायतका श्रोतसाधन व्यवस्थापनमा लागीरहेको बताउँदै दुलालले दशै अगाडिसम्म केही भाग क्लियर गरिसक्ने दुलालले बताए । ‘क्रसिङको काम सुरु भैसकेको छ, वर्षातका कारण सडकमा विच्छाउने काममा केही ढिलाइ भएको हो, पानी रोकिना साथ गिट्टि विच्छाएर क्रमश कालोपत्रेको काम सुरु हुने छ’–स्थानीय प्रतिनिधि दुलालले बताए ।

दुलालले सडक स्तरोन्नतिकै कामका लागि आफु भारतको पटना जान थालेको बताउँदै दुई दिनमै फर्केपछि साइटमै देखिने गरी काम हुने पनि दावी गरेका छन् ।

करीव एक करोड ३३ लाख अमेरिकी डलर बजेटको सो परीयोजना अन्तर्गत घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्म विभिन्न स्थानमा गरी २८ किमि सडक स्तरोन्नतिको काम सुरु हुन थालेको थियो ।

अधिकांश क्षेत्रमा सडक कटिङ र वाल लगाउने काम भए पनि फिलिङको काम भने अझै सुरु भएको छैन । अलपत्र छाडिएको कामले सडक साँघुरो मात्र भएको छैन, सिंचाइकुला वाइपासका लागि हिमपाइप विच्छाइएका क्षेत्रहरुमा पनि यातायात जोखिमपूर्ण रहेको छ । जोखिमपूर्ण यातायातका कारण यस सडकमा दैनिक जसो दुर्घटनाहरु भैरहेका छन् ।

दुर्घटनाकै कारण केहीले ज्यान समेत गुमाइसकेका छन् । सडक किनाराभरी पानीको आहाल बनेको छ । दुईतर्फी यातायातका लागि चालकहरुलाई निकै सास्ती हुने गरेको छ ।

भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा स्तरोन्नति हुन थालेको सडकको चौडाइ मध्ये कम्तिमा १४ किमि चौडाइ कालोपत्रे हेनेछ । केन्द्र विन्दुबाट दुवैतर्फ ७/७ मिटर चौडाइ कालोपत्रे हुने छ । बीचमा ग्रिनवेल्ट रहने छ भने छेउछाउमा फुटपाथ रहने परियोजनाको सम्झौतामा उल्लेख गरिएको छ ।

कुइरेपानीदेखि हात्तिखौवा सम्म सडकको स्तरोन्नतिको काम हुने बताइए पनि यसबीचमा रहेका पुलहरु भने यही परियोजना अन्तर्गत विस्तार हुने छैनन् । सडक खण्डकै केही क्षेत्रमा भने स्तरोन्नतिको काम हुने छैन ।

चारलेन सडक परियोजना अन्तर्गत स्तरवृद्धि हुने सडक खण्डहरुमा कुइरेपानीदेखि कटुवाखोला सम्म, घोराहीको डिकेपम्पदेखि सर्राचोकसम्म, नारायणपुरको झारवैरा चोकदेखि खैरासम्म, तथा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको तुलसीपुरदेखि हात्तिखौवासम्म मात्रै सडक यो परियोजना अन्तर्गत स्तरोन्नति हुने बताइएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस